धरहराको टुप्पोबाट खसेर पनि बाँच्न सफल एक जोडिको रमाइलो कथा

Feb Tue 2020 05:40:19

432 views

धरहराको टुप्पोबाट खसेर पनि बाँच्न सफल एक जोडिको रमाइलो कथा

बा मान्छेहरू सबै वामपुड्का छन्। टाउका मात्र देखिन्छन्। हात–गोडा छन् तर छुट्टिन्नन्। झुलुक्क देखापर्छन्, मिलिक्कै बिलाइहाल्छन्। टाउकाहरू बढी गतिशील हुँदा रैछन्। बाक्लो कपालको बीचमा जुम्रा जस्तो खुर्रर दौडिन्छन्। कोही उपियाँझैं फुत्तफुत्त उफ्रन्छन्। कोही जुकासरी यहाँबाट उहाँ फड्किन्छन्। केही स्थिर टाउका पनि छन्, मैदानमा थुपारिएका फुटबलजस्ता। अनेकथरी टाउकाको यो झुन्डसँगै कमिलाहरू ताँती लागेर कुदिरहेका छन्। त्यो गाडीको लश्कर हो।‘आम्मामामा! तिरिमिरी हुँदो रैछ,’ रमिला कहालिइन्।

धरहराको माथिल्लो गोलो झ्यालबाट पुलुक्क बाहिर नियालेकी रमिलाले हत्तपत्त नजर हटाइन्। मन थर्थराएर होला, आँखा चिम्म गरेकी थिइन्। ‘मैले कहाली लाग्छ भनेको हैन,’ धरहराको साँघुरो भर्याङमा असिनपसिन हुँदै उक्लिरहेका सञ्जीवले भने। तलैदेखि छ–सात खुट्किला पछि परेका सञ्जीवले यहाँ बल्लतल्ल उनलाई भेट्टाएका थिए। रमिलाले सुस्तरी आँखा उघारिन्। उनको निधारबाट पसिना चुहिरहेको थियो। गाला रातो भएको थियो। घाँटीको छालामा पसिनाको धाराले एक धर्सो डोब खनेको थियो। नबाटेको लामो कपाल पसिनाले भिजेर चिल्लो देखिएको थियो। उनी लामो–लामो सास तानिरहेकी थिइन्।

माथिबाट एक हुल केटा–केटी हाँस्दै तल झरे। भर्याङ साँघुरो थियो। रमिला र सञ्जीवले भित्तामा अडेसिएर बाटो खोलिदिए।‘जाऊँ जाऊँ माथि,’ सञ्जीव अघि बढ्न खोजे।‘म त हेर्छु के!’ व्यग्र रमिला थामिइनन्। फेरि उही गोलो झ्यालतिर टाउको घुसारिन्। बाहिर घाम मलिन छ। बेस्कन स्याँठ चल्दैछ। आकाशमा काला बादलका छिटा पर्न थालिसके। आज बिहानैदेखि काठमाडौं उघ्ररेको छैन। दिन चढ्दै जाँदा धुम्म मौसमले सहर अझ ढाकिँदैछ। ‘अग्ला घरहरू पनि यहाँबाट हेर्दा त कति फुच्चे देखिँदा रैछन् हगि,’ रमिलाले फेरि मुन्टो भित्र लगिन्। ‘हो हो, ल माथि जाऊँ अब,’ सञ्जीव हतारिए। ‘पख न कस्तो मान्छे होला!’ रमिलाले झर्किंदै भनिन्, ‘भर्याङ चढ्न मात्र धरहरा आ’को हो र! एकछिन हेर्न देऊ न। ‘सञ्जीव चुप लागे। रमिलाले फेरि बाहिर नियालिन्।

पर घन्टाघरमा ११ बजेर ५० मिनेट गएको छ। वरिपरि झुरुप्प घरैघरको उकुसमुकुसमा निस्सासिएझैं लाग्छ सहर। धन्न बीचमा टुँडिखेल छ, तैबिसेक सास फेर्न पाइएको छ। त्यही टुँडिखेल किनारमा झ्याम्म–झ्याम्म रुखहरू छन्। त्यसैमा फुलेका नीला फूलले सहरलाई नै शीतल दिइरहेझैं लाग्छ। ‘आहा कति राम्रो शिरीष फुलेको!’ ‘शिरीष हैन त्यो,’ सञ्जीवले भने। ‘हैन!’ रमिला छक्क परिन्, ‘अनि के त?’ ‘पहिला मलाई पनि शिरीषजस्तै लाग्थ्यो,’ सञ्जीवले जवाफ दिए, ‘ज्याकरान्डा भन्छन् रे त्यसलाई।’ ‘होला, जे पायो त्यही, शिरीष नै हो,’ रमिलाले जिद्दी गरिन्। ‘ल ल, शिरीष नै हो, अब जाऊँ माथि,’ सञ्जीवले रमिलासँग बहस गर्न चाहेनन्। यसपालि चाहिँ रमिला राजी भइन्। सञ्जीव अघि बढे। रमिला उनलाई पछ्याउन थालिन्। ‘शिरीष पनि चिन्दिनँ भन्ठानेको,’ उनी अझै बर्बराइरहेकी थिइन्।

केही खुट्किला मात्र बाँकी रहेछन् माथि पुग्न। उनीहरूलाई पाँच मिनेट पनि लागेन। दुवैले लामो सुस्केरा हाले। पसिनाले लुछुप्पै भिजेको ज्यान चिसो स्याँठले एकछिनमै ओभानो बनाइदियो। एकाध मिनेट थकाइ मारेपछि जसै रमिलाका आँखा फैलिए, उनी चिच्याउन मात्र सकिनन्। मौसम नउघ्रेए पनि काठमाडौंको त्यो दृश्य रमिलाको उत्तेजना बढाउन काफी थियो। यति ठूलो सहरलाई पहिलोचोटि यति फराकिलो आँखाले हेरिरहेकी थिइन् उनी। उनले धरहरा चढ्ने लालसा पालेको पनि कम्ती भएको थियो र! मुनि हेरिन्। वामपुड्का मान्छेहरू देखेर हाँसो उठ्यो। कमिलाझैं गाडीको लस्कर देखेर त खित्कै छुट्यो। चारैतिर आँखा डुलाइन्।

आकाशमा काला बादल बाक्लो हुँदै गएझैं लाग्यो। स्याँठ अझ जोडले चलेझैं भयो। त्यही बेला वसन्तपुरतिरबाट चराहरूको हुल चिँ चिँ चिँ गर्दै बेतोड आकाशमा उड्न थाल्यो। कागहरूको काँ काँ ले कोलाहल मच्चियो। कताकता टाढाबाट कुकुरहरू एकोहोरो रोइरहेको सुनियो। तल टुँडिखेलमा शिरीष हो कि ज्याकरान्डाका फूल पत्रपत्र हावामा उडेझैं लाग्यो। रमिलाको मन झस्याङ्ग गर्यो।

पर घन्टाघरमा ११ बजेर ५६ मिनेट गएको थियो। रमिलाको मन अझै झस्याङ्ग छ। म

बिहीबार दिउँसो सवा १ बजे उनलाई भेट्न ट्रमा सेन्टर गएको थिएँ। छैटौं तलामा वार्डभित्र छिर्ने बित्तिकै दाहिने मोडिएपछि झ्यालनिर उनको बेड छ। बेड नम्बर १९। सिरानीमा जिउ अढेस लगाएर पल्टिएकी थिइन् रमिला। सुन्तला रङमा कालो बुट्टेदार पहिरन उनलाई निकै खुलेको थियो। बेडको दाहिनेछेउ डन्डीमा सलाइन बोतल झुन्डिएको थियो। तपतप चुहिइरहेको सलाइन पानी मसिनो पाइप हुँदै नाडीबाट उनको शरीरमा छिरिरहेको थियो। लामा कपाल खुलै राखेकी थिइन् उनले। सायद उनलाई बाटेको भन्दा खुलै कपाल मन पर्छ! सुहाउँछ पनि! उनको भाँच्चिएको देव्रे खुट्टा तिनिक्क तन्काएर राखिएको छ। दाहिने आँखामाथि छ टाँका लगाउनुपरेको थियो। अहिले टाँका फुकाइसक्यो, ब्यान्डेज भने बेरिएकै छ।

मैले उनलाई बधाइ र शुभकामना दिँदै भनेँ, ‘सञ्जीव खै त? ‘उनले लजाउँदै भनिन्, ‘डिस्चार्ज भइसक्यो। ‘ला… तिमी एक्लै पर्यौ‘?’ मैले जिस्क्याएँ, ‘यस्तो विपद सँगसँगै झेल्नेले एक्लै छाडेर जान हुन्छ त, रोकिनौ?’ उनले जवाफ दिनै सकिनन्। खालि, मुसुक्क हाँसिन्। छेउमा उनकी दिदी थिइन्, रमा। उनी पनि लाजले अनुहार छोपेर हाँस्न थालिन्। ‘हामी सँगै डिस्चार्ज हुन्छौं भन्नुपर्दैन त डाक्टरहरूलाई,’ मैले रमिलालाई फेरि जिस्क्याएँ।

खासमा म कुराकानी सुरु गर्नुअघि उनको मन अलि हलुका पार्न चाहन्थेँ। ‘अस्ति (मंगलबार) भेट्न आएको थियो,’ उनले लजाउँदै भनिन्। ‘ओहो! डिस्चार्ज भएर भेट्न पनि आइसक्यो?,’ मैले थपेँ। ‘हैन, मलाई नै भेट्न आएको हैन,’ उनले कुरा मिलाउन खोजिन्, ‘अस्पताल आउनुपर्ने रैछ, त्यही बेला यहाँ छिरेको।’ ‘कि तिमीलाई भेट्नुपर्ने रैछ, त्यही बेला अस्पताल छिरेको?’ उनले अनुहार रातो पार्दै मुन्टो फर्काइन्। जति लुकाउन खोजे पनि उनको धपक्क बलेको अनुहार प्रस्टै देखिन्थ्यो। ‘हो कि हैन?’ मैले कोट्ट्याएँ। गाह्रो मान्दै भनिन्, ‘हैन।’ ‘ल ठिक छ, के भन्यो त भेट्दा,’ मैले सोधेँ। ‘केही भनेन।’ ‘केही नभनेर उभिइरह्यो त?’ ‘हैन।’ ‘अनि?’ ‘त्यसै।’ ‘केही त भन्यो होला, तिमीलाई कस्तो छ रमिला भन्यो होला?’ ‘अँ।’ ‘तिमीले पनि उसलाई कस्तो छ सोधिनौ त?’ ‘सोधेँ।’ ‘के भन्यो त?’ ‘केही भनेन।’ ‘लौ, बोल्दैन कि क्या हो?’ ‘बोल्छ नि।’ ‘अनि के बोल्यो त?’ ‘मेरो हात दुख्छ भन्यो।’ ‘हो, त्यसो भन न त।’ उनी भुतुक्कै भइन्। ‘अनि?’ फेरि सोधेँ। ‘मैले मेरो खुट्टा दुख्छ भनेँ।’ ‘अनि?’ ‘उसले तिमी आफ्नो ख्याल राख्नु है भन्यो।’ ‘अनि?’ ‘त्यत्ति, अनि गयो।’

त्यही बेला एक जना नर्स उनको बेडनजिकै आइपुगिन्। फाइल पल्टाउन थालिन्। प्लास्टिक फोडेर नयाँ सिरिन्ज झिकिन्। सिरिन्जमा औषधि भरिन्। सलाइन बगिरहेकै पाइपबाट सिरिन्जको औषधि उनको जिउभित्र पठाइन्। हाम्रो कुराकानी एकछिन ठ्याप्पै भयो।

उनी एकोहोरो झ्यालबाहिर टोलाइरहिन्। मैले उनको अनुहार नियालिरहेँ। मैले महसुस गरेँ, त्रास, खुसी र आशाको रंगीविरंगी भावले रमिलाको अनुहारमा इन्द्रेणी बनेको छ। खुसी र आशाको चमक त छ, घरिघरि त्रासको अन्धकारले पनि छोप्न आइपुग्छ। सञ्जीवको नाम लिनेबित्तिकै फक्रेको फूलझैं देखिन्छिन्। धरहराको घटना सम्झाउने बित्तिकै फतक्क ओइलाइ हाल्छिन्।

प्रकृतिको इन्द्रेणी र मान्छेको अनुहारको इन्द्रेणीमा एउटा समानता छ। यी दुवैले एकसाथ र एकै समयमा हुने विपरीत परिस्थितिको सम्मिश्रण बुझाउँछ। घाम र झरीको सम्मिश्रणले आकाशमा इन्द्रेणी छाउँछ, अनुहारमा छाउने इन्द्रेणीले मान्छेको अस्थिर मन झल्काउँछ। जहाँ त्रासका काला बादल पनि छाँट्टिएका हुन्नन्, आशाका झुल्का पनि पोखिन थालिसकेका हुन्छन्। यस्तै दोसाँधको बेला हो मान्छेको मन झस्याङ्ग गर्ने! घरि बर्खामा हुन्डरी मच्चेजस्तो महशुस गर्ने, घरि वसन्तमा मन्द बतास चलेजस्तो !

ट्रमा सेन्टरमा डेढ–दुई घन्टा कुराकानी गर्दा मलाई लाग्यो, रमिलाको मन पनि त्यसैगरी झस्याङ्ग गर्दैछ।

वैशाख १२, शनिबारको दिन पर घन्टाघरमा ११ बजेर ५६ मिनेट जाँदा हो, रमिलाको मन पहिलोपटक झस्याङ्ग गरेको। भुइँमा सल्बलाइरहेका वामपुड्का र कमिलाको ताँतीमा रमाइरहेकी रमिलालाई एक्कासि सिंगो आकाश डगमगाएजस्तो भयो। वेगले हावा चलेझैं लाग्यो। काग र चराहरूको कोलाहलले कानै खायो। आकाश चिरा परेझैं घटटटट, चरररर आवाज आयो।

सामुन्ने उभिएका सञ्जीवलाई पनि तिरिमिरी देखिन् उनले। यस्तो लाग्यो, धरहराको टुप्पोमा हैन, बाँसको लिंगोमा झुन्डिएका छन् उनीहरू र कसैले मुनिबाट जोडसँग बाँस हल्लाउँदैछ।रमिलाको एक हातमा मोबाइल र धरहरा चढ्न काटेको टिकट थियो। अर्को हातले धरहराको रेलिङ बेस्कन अँठ्याएकी थिइन्। मुठ्ठी जति कसे पनि रेलिङमा अडिन उनलाई सकस भइरहेको थियो। मुठ्ठीबाट बालुवा फुस्केझैं फलामको रेलिङ हातबाट खुस्कँदै गएझैं लाग्यो। एकछिन अघिसम्म आफूलाई उडिरहेको पन्छी ठानेकी रमिला पखेटा काटिएको पन्छीझैं फड्फडाइरहेकी थिइन्। कम्पन चर्कंदै थियो, उनको फड्फडाहट बढ्दै थियो। घरि हुर्रर दायाँ घचेटिन्थिन्, घरि बायाँ तानिन्थिन्। कहिले त्यहाँ भएका सबै एक डल्लो पर्न आइपुग्थे, कहिले चामलका दानाझैं छरिन्थे।

सञ्जीवले चिच्याउँदै भने, ‘भुइँमा बस भुइँमा। ‘रमिला सञ्जीवले भनेजस्तै भुइँमा थुचुक्क बसिन्। दुवैका आँखा एकअर्कासँग ठोक्किइरहेका थिए। उनी सञ्जीवसम्म पुग्न चाहन्थिन्। सकिनन्। आँसुले भिजेका त्रसित आँखाले सञ्जीवलाई नियालिरहिन्। सञ्जीवको हालत उस्तै थियो। उनी रमिलाको अनुहारमा छट्पटीको भाव पढ्न सक्थे, तर चाहेर पनि साथ दिन सकिरहेका थिएनन्। उनी एक कदम अघि सर्दै रमिलाको हात च्याप्प समातेर भन्न चाहन्थे– नडराऊ रमिला, बाँचे सँगै बाचौंला, मरे सँगै मरौंला! तर, उनका पाइलै सरेनन्। चार पाउ टेकेर अगाडि बढ्न खोज्थे, कम्पनले अघि सर्नै दिएन। त्यहाँ डर थियो। त्रास थियो। मृत्युको भय थियो र उनीहरू दुई थिए। वरिपरिका चित्कार उनीहरूका कानमा बिस्तारै फिका हुँदै गए। उनीहरू केवल एकअर्कालाई हेरिरहेका थिए। मौन। निःशब्द। जब प्रेम असीमित हुन्छ, शब्द गौण बन्छ, आँखाले नै मनको गहिराइ नाप्न सक्छ।

रमिला र सञ्जीवलाई त्यतिबेला त्यस्तै भइरहेको थियो। एउटै मुद्रामा एकअर्कालाई हेरेर मूर्तिवत बसिरहेकै बेला रमिलालाई लाग्यो, धरहरामाथिको आकाश अझ माथि–माथि सर्दैछ। मानौं, बाँसको लिंगोमा झुन्डिएका उनीहरूलाई घिर्नीमा बेरेर कसैले तल झार्दैछ। बिस्तारै। हलुका–हलुकासँग। एक छिन टुप्पोबाट खसेजस्तो मात्र भएको थियो, वेग थामियो। उनीहरू टक्क अडिए। कसैले च्याप्प रोकेजस्तो लाग्यो। भुर्रर उडिरहेको चरा रुखको हाँगोमा थकाइ मार्न बसेजस्तो। दायाँबायाँ कम्पन भने उस्तै थियो। सम्हालिन पाएकै थिएनन्, आकाश फेरि माथि उचालियो। भुइँतिर त हेर्नै सकेनन्। एक पल त यस्तो पनि लाग्यो, उनीहरू चराझैं बेतोडले खसिरहेका छन्। कहाँ? कसरी? मेलोमेसो केही छैन। आकाश जतिजति उचालिँदै थियो, कोलाहल उति बढ्दै थियो। घटटटट, कटटटट, चररररजस्ता अनेक आवाज कानका जाली फुट्ने गरी सुनिन थालेका थिए। काग र चराको कोलाहल भने सुनिन छाडे। बरु मान्छेका कोलाहल मिसिन आइपुगे।

आकाशको गति कहिले थामिएजस्तो हुन्थ्यो, कहिले बढ्दै जान्थ्यो। दुवै एकछिन शून्यतामा हराए। कति सेकेन्ड? कति मिनेट? उनीहरूलाई पत्तो छैन। कताकता टाढा सुनिएको मसिनो कल्याङमल्याङले रमिला बौरिइन्। पिर्लिक्क आँखा उघारिन्। मुन्टो दायाँबायाँ घुमाइन्। चारैतिर बुङबुङती धुलो उडिरहेको थियो। उनी ढुंगा, माटोमाथि यस्तरी पसारिएकी थिइन्, जसरी साना केटाकेटी माटोमा लडिबुडी खेल्छन्। उनले चाल पाइन्, अघि आकाश डगमगाएको भान त मनकम्पनले सिर्जना गरेको भ्रम रहेछ। खासमा आकाश हैन, धर्ती डगमगाएको रहेछ। उनले यो त्यसबेला चाल पाइन् जब सिंगो धरहरा भग्नावशेष बनिसकेको थियो। उनी धरहराको टुप्पोबाट सिधै फेदमा झरेर रक्ताम्मे पछारिएकी थिइन्। बेहोसीबाट बौरिनेबित्तिकै उनका आँखाले सबभन्दा पहिला सञ्जीवलाई खोज्यो। सञ्जीव उही ठाउँमा थिए। उनकै सामुन्ने। उनी पनि कति सेकेन्ड, कति मिनेटको शून्यतापछि बिस्तारै पिर्लिक्क आँखा उघारेर रमिलालाई नै नियालिरहेका थिए। रमिलाले देखिन्, सञ्जीव पूरै माटोमा पुरिएका छन्। उनको अनुहार रगतले रातो भएको छ। उनले आफ्नो अनुहार छामिन्। रगतले हात लुछुप्पै भिज्यो। बिस्तारै उठ्न खोजिन्। गोडा चलाउनै सकिनन्। देव्रे खुट्टा त चल्दै चलेन। जति बल लगाउँथिन्, पीडा उति तिखो भएर मुटु छेड्न आउँथ्यो। वरिपरि हेरिन्, मान्छेका अचेत शरीर छरिएका छन्। कसैका हातगोडा उछिट्टिएका। कोही रक्ताम्मे भएर घिसि्रँदै भग्नावशेषबाट बाहिर निस्कन खोजिरहेका।

एकछिन अघि धरहरामाथिबाट देखेजस्तै मान्छे, वामपुड्का, कीराजस्ता।उनको मन दोस्रोचोटि झस्याङ्ग गर्यो। उनले आमाबाबुलाई सम्झिइन्। बा, आमा भन्दै बेस्कन च्याँटि्ठइन र, बेस्कन रोइन्। ‘म रोएको सुनेरै होला, कोही हामीनजिक आएजस्तो लाग्यो,’ इन्जेक्सन लगाउन आएकी नर्स फर्केपछि वैशाख १२ को घटना सम्झन थालेकी रमिलाले सुनाइन्, ‘पुलिस होजस्तो लाग्छ। उसले मलाई बोकेसम्म याद छ, त्यसपछि थाहा पाइनँ। ‘होस आउँदा रमिला वीर अस्पताल, आकस्मिक कक्षबाहिर सडकपेटीमा थिइन्। सञ्जीवलाई पनि त्यहीँ देखिन् उनले, आफूजस्तै हालतमा। त्यतिबेलासम्म उनलाई ठम्याउन मुस्किल भइरहेको थियो– उनीहरू जिउँदै छन् कि मरिसके। रमिलाको मन तेस्रोचोटि झस्याङ्ग गर्यो। …

रामेछाप, सालुपोखरीकी रमिला श्रेष्ठ १७ वर्ष पुगिन्। उनी स्थानीय सेतीदेवी उच्च मा.वि मा कक्षा ९ पढ्छिन्। सञ्जीव श्रेष्ठको उमेर २० वर्ष हो। रामेछापकै भीरपानेका सञ्जीव आफ्ना दाइ–भाउजूसँग काठमाडौंको वसन्तपुरमा बस्छन्। ललितपुर, कृष्णगल्लीको न्यु तन्दुरी फास्टफुड रेस्टुरेन्टमा काम गर्छन् ।

सालुपोखरी र भीरपानेबीच झन्डै छ–सात कोस दुरी छ। उनीहरूको भेट भएको २०७० मंसिरमा हो। रमिलाको ठूलोबुबाकी छोरीको बिहेमा जन्त आएका थिए सञ्जीव। दुलाहा सञ्जीवका दाइ पर्छन्। बिहेकै क्रममा उनीहरूले पहिलोचोटि एक-अर्कालाई देखे। बोलीचाली भयोअनि उनीहरू नजिकिए। कन्यादानपछि रमिलाकी दिदीलाई लिएर सञ्जीव जन्तसँगै भीरपाने फर्किए। केही दिनमै काठमाडौं आए। त्यसपछि पनि उनीहरूको सम्बन्ध टुटेन। टेलिफोनमा नियमित कुराकानी भइरह्यो। ‘तिमी राम्ररी पढ्नु है?,’ फरासिलो स्वभावका सञ्जीव रमिलालाई सधैं यस्तै भनेर सम्झाउँथे। जवाफमा रमिला भन्थिन्, ‘तिमी पनि आफ्नो ख्याल राख्नू!’

उनीहरूको यो मित्रताबारे रमिलाकी दिदी रमालाई जानकारी थियो। रमिलाले नै दिदीसँग मनको कुरा साटेकी थिइन्। उनकी दिदी बिहेपछि काठमाडौंमा बसोबास गरिरहेकी छन्, जडीबुटीमा। रमिलाका बुबा पनि काठमाडौंमै बस्छन्। कीर्तिपुरको एउटा भाँडापसलमा काम गर्ने उनको बसोबास बल्खुमा छ। यसपालि जाँच सकिएपछि रमिलाले काठमाडौं आउने निधो गरिन्। उनको तिनटा इच्छा थियो– बुबा र दिदीलाई भेट्ने, सञ्जीवसँग काठमाडौं घुम्ने र धरहरा चढ्ने। स्कुल पढ्दा धरहराबाट पूरै काठमाडौं उपत्यका देखिन्छ भन्ने उनले सुनेकी थिइन् र, मनमनै ठानेकी थिइन्, कुनै दिन त्यहाँ अवश्य पुग्छु।

काठमाडौं आएपछि उनले आफ्नो चाहना व्यक्त गरिन्। सञ्जीवले भने, ‘म लगिहाल्छु नि! ‘यसबीच उनीहरू चिडियाखाना पुगे, स्वयम्भू गए, भृकुटीमण्डपको पार्क पनि घुमे। धरहरा चढ्ने साइत भने जुरेन। उनी हरेक दिन सञ्जीवलाई कचकच गरिरहेकी थिइन्, ‘हामी धरहरा कहिले चढ्ने? ‘त्यस दिन सञ्जीवसँग घुम्ने योजना बनाएर घरबाट निस्केकी रमिला सुरुमै धरहरा चढ्न चाहन्थिन्। सञ्जीव भने ग्वार्कोको गुण सिनेमा हलमा फिल्म हेरेर अलि साँझतिर मात्र धरहरा जाऊँ भन्दै थिए तर, रमिला के मान्थिन्! आखिर उनकै जित भयो। उनीहरू लगभग साढे ११ बजेतिर टिकट काटेर धरहराभित्र छिरे। सिँढी चढ्न थालेदेखि नै रमिला यतिविधि उत्साहित थिइन्, त्यति साँघुरो र अग्लोअग्लो भर्याङमा पनि सञ्जीवलाई उछिनेर उक्लिरहेकी थिइन्। माथि चढ्दा प्वालजस्तो गोलो झ्याल ठाउँठाउँमा थिए। रमिलाले प्रत्येकजसो झ्यालबाट चियाएर काठमाडौं हेरेकी थिइन्। उनीहरूले भर्यााङको बीचबीचमा उभिएर मोबाइलबाट थुप्रै फोटा पनि खिचेका थिए। धरहरासँगको स्मृति जोडिएका ती फोटाहरू मोबाइलको ग्यालरीमा गएर घरिघरि हेरेकी थिइन् रमिलाले र, खुब रमाएकी थिइन्।

११:५६ बजे चराहरूले कोलाहल मच्चाउँदा र आकाश टाढिँदै जाँदा पनि अन्तिम समयसम्म रमिलाले त्यो मोबाइल हातमा च्यापेरै राखेकी थिइन्, धरहराको टिकटसँगै। अहिले उनीसँग न मोबाइल छ न ती फोटाहरू छन्। धरहराको भग्नावशेषमा कतै पुरिएको उनको मोबाइलसँगै धरहरा स्मृति पनि दबिएको छ। ‘केही छैन,’ उनी भन्छिन्, ‘त्यो सम्झना यति भयानक रह्यो, फोटै नहेरे पनि म एक–एक क्षण कहिल्यै बिर्सन्न होला। ‘हुन पनि त्यस दिनदेखि उनको मन घरिघरि झस्याङ्ग जो गरिरहेछ! मनै झस्याङ्ग पार्ने सम्झना मान्छेले चाहेर पनि कहाँ बिर्सन सक्छ र!…

रमिला र सञ्जीवको मित्रताबारे रमाबाहेक अर्को एक जना व्यक्तिलाई पनि जानकारी थियो– रमिलाकी आमा भलाकुमारी। गत जेठमा रमिलाकी एक जना मिल्ने साथीले विष खाएर आत्महत्या गरिछन्। त्यो शोकमा रमिला मुर्छा परिछन्। सञ्जीवले सन्चो–बिसन्चो सोध्न फोन गरेपछि भलाकुमारीलाई उनीहरूको मित्रताबारे थाहा भएको रहेछ। थाहा पाउनेबित्तिकै उनले छोरीलाई खुब गाली गरिछन्। यो घटनापछि भने भलाकुमारीलाई लाग्न थालेको छ– ‘उनीहरूको जोडी भगवानले नै जुराइदिएको हो।’ ‘अब गाली गरेर के गर्नु, छोरीले मन पराएपछि,’ उनले भनिन्, ‘भगवानको पनि यही इच्छा रहेछ, त्यही भएर त यत्रो दुर्घटनामा पनि उनीहरू दुवैलाई सकुशल राखेर चमत्कार देखाए।’

भलाकुमारी अहिले रामेछापमै छिन्। छोरी दुर्घटनामा परेको सुन्ने बित्तिकै उनी मुर्छा परिन्। दिनहुँ फोनमा कुराकानी भइरहन्छ। तर, यहाँ आउन पाएकी छैनन्। ‘गाउँमा घर ढलेर परिवारको बिचल्ली छ, तीन जना नानीहरू छन्,’ उनले भनिन्, ‘हामी त सबै घरबाहिरै बसिरहेका छौं। अब केही दिनमै छोरी डिस्चार्ज भएर यतै आउँछिन्।’

शुक्रबार साँझ फोन गर्दा भलाकुमारी दिवाली पूजाको तयारीमा थिइन्। ‘यत्रो विपदमा छोरीको हात थापिदिएपछि दिवाली पूजा त गर्नैपऱ्यो,’ उनले भनिन्।

उता, सञ्जीवसँग पनि अस्पतालमा भेट हुन सकेन। हामी पुग्दा उनी डिस्चार्ज भएर रामेछाप फर्किसकेका रहेछन्। मैले रमिलासँग सञ्जीवको फोन नम्बर मागेँ। मैले डायरीमा नम्बर टिपेपछि रमिलाले पुलुक्क हेरिन्। अनि मेरो हातबाट डायरी फुत्त तानेर नम्बर सच्याइदिइन्। एउटा अंक गल्ती भएको रहेछ। मैले अस्पतालबाटै फोन गरेर दुई जनाबीच कुराकानी गराउन खोजेको थिएँ। लाइनै लागेन। नेटवर्क व्यस्त भन्ने सन्देश आइरह्यो। ‘बेलुका फोन गर्छु,’ मैले भनेँ, ‘तिम्रो केही सन्देश छ, म सुनाइदिन्छु।’ ‘केही छैन,’ उनी लजाइन्। ‘केही नभए पनि म रमिलाले खुब सम्झिरहेकी छन्, तिमी आफ्नो घाउको ख्याल राख्नु धेरै हिँडडुल नगर्नू भनेको छ भन्दिन्छु है?’ मैले उनको मन चोर्न खोजे। उनले टाउको हल्लाउँदै भनिन्, ‘हुन्छ।’

बिहीबार दिनभरि सञ्जीवको फोन लागेन। शुक्रबार दिनभरि पनि लागेन। बेलुकी बल्लतल्ल कुराकानी भयो। मैले भैंचालोको त्यो क्षणबारे उनीसँग फेरि केही सोधखोज गरेँ। र, अन्तिममा रमिलाको सन्देश सुनाइदिएँ। अनि सोधेँ, ‘तिम्रो केही भन्नु छ?’ ‘मेरो पनि खुब सम्झना सुनाइदिनू,’ उनले भने, ‘तिमी राम्ररी बिसेक हौ है रमिला। तिम्रो आँखाको घाउ कस्तो भयो? अझै दुख्छ कि दुख्दैन? खुट्टा कस्तो छ? टेक्न मिल्छ कि मिल्दैन? तिमी मेरो चिन्ता नलिनु, म ठिक छु, आफ्नो ख्याल राख्नु। म एक–दुई दिनमै काठमाडौं आउँछु, अनि भेटौंला। तिमी राम्ररी बिसेक भएर डिस्चार्ज हौ, अनि …’उनले त्यसपछि बोल्न सकेनन्।

विपदमै त हो सम्बन्ध गाढा हुने!

सम्झेँ, हिजो रमिलालाई भेटेर फर्किंदै गर्दा टुँडिखेलमा ज्याकरान्डा उसैगरी फक्रेका थिए।

मेरो मन खुसीले रोमाञ्चित भयो।

राजन थापा /थापाराजन ब्लग |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?