अहिले पनि धेरै दृविहीनहरु वित्तीय पहुँच बाहिर, जतिपनि दृष्टिविहीनले बैंक खाता खोलेका छन्, ठुलै युद्ध नै लडेर खोलेका छन् - खुमबहादुर शर्मा

Jun Mon 2021 12:36:01

461 views

अहिले पनि धेरै दृविहीनहरु वित्तीय पहुँच बाहिर, जतिपनि दृष्टिविहीनले बैंक खाता खोलेका छन्, ठुलै युद्ध नै लडेर खोलेका छन् - खुमबहादुर शर्मा

नाफिजले आयोजना गरेको दृष्टिविहीनमा वित्तीय पहुँचः समस्या र समाधान विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा  नेपाल नेत्रहिन संघको तर्फबाट संघका बरिष्ठ उपाध्यक्ष खुमबहादुर शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा उनले दृष्टिविहीनहरुलाई वित्तीय पहुँचमा भएको समस्या र त्यसको समाधानका उपयाबारे प्रस्तुती राखेका थिए ।

उनले दृष्टिविहीनहरुलाई वित्तीय पहुँचमा नीतिगत अस्पष्टता, विभेदयुक्त नीति, कानून र नीतिको आ–आफ्नो व्याख्या, संस्थागत अवरोध, भौतिक अवरोध र सञ्चारजन्य अवरोध भएको बताए ।

साथै, दृष्टिविहीनहरुले कमाएको पैसा बैंकमा राख्न नसकेको र राखेको पैसा पनि चाहेको समयमा सहजताले झिक्न नपाएको उनको भनाइ छ ।

अहिले विभिन्न प्रविधिको प्रयोगगरी दृष्टिविहीनहरुले बैंकहरुको मोवाइल वालेट, टीएमएस, मेरो सेयर समेत प्रयोग गर्न सक्ने जानकारी दिँदै सोको उचित मूल्यांकन सम्बन्धित पक्षबाट नभएको गुनासो उनले गरेका थिए ।

‘अहिले धेरै पढेलेखेका दृष्टिविहीनहरु हुनुहुन्छ, हामीलाई संरक्षणको आवश्यकता छैन, असक्षम भनेर बैंकहरुले खाता खोल्न, एटीएम सेवा, मोबाइल बैंकिङ सेवा दिनलाई अस्वीकार गर्छन्,’ संघका वरिष्ठ उपाध्यक्ष शर्माले भने, ‘नीतिगत रुपमा दिन नमिल्ले भनेर बैंकका कर्मचारीले धेरै दृष्टिविहीनलाई खाता समेत खोल्न दिएका हुँदैन, अहिले जतिपनि दृष्टिविहीनले खाता खोलेका छन्, ठुलै युद्ध नै लडेर खोलेका हुन्, खाता खोलेपनि बैंकका कर्मचारी चेक बुक समेत दिन मान्दैनन् ।’

बैंक तथा वित्तीय संस्थाका कर्मचारीको यस्तो व्यवहारले धेरै दृविहीनहरु वित्तीय पहँच बाहिर भएको उनले जानकारी गराए ।

‘कर्जा लिनका लागि दृष्टिविहीनको निवेदन स्वीकार हुँदैन, मासिक आम्दानी भएका दृष्टिविहीनले धितोमा कर्जा लिन खोज्दा पनि बैंकले उसको क्षमतामा विश्वास गदैन’ उनले थपे, ‘राष्ट्र बैंकले अपांगता भएका व्यक्तिलाई पहुँचयुक्त बैंकिङ सेवा दिन निर्देशन दिएपनि सो को कार्यान्वयन बैंकहरुले गरेका छैनन् ।’

सो क्रममा नेत्रहिन संघले बैंकिङ कारोबार र सेयर कारोबार प्रविधिको प्रयोगबाट दृष्टिविहीनहरु कसरी गरेका छन् र त्यसमा के कस्तो सहजता र समस्या छ सोको डेमोस्ट्रेसन समेत गरेका थिए ।

जसमा स्क्रीन रिडरको सहयोगमा दृष्टिविहिनहरुले सानिमा बैंकको मोवाइल बैंकिङ, प्रभु पेको वालेट, मेरोसेयर, टिएमएसको प्रयोग तथा कारोबार समेत गरेर देखाएका थिए ।

बैंक तथा वित्ती संस्थाले प्रयोगमा ल्याएका डिजिटल वालेट तथा पुँजीबजारका विभिन्न साइटका केही पक्षलाई स्क्रीन रिडरले सपोर्ट नगर्ने समेत देखाएका थिए । जसको सामाधानका लागि उनीहरुले सम्बन्धीत पक्षलाई पहल गरेका छन् । 

उक्त भर्चुअल कार्यक्रम मार्फत नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थालाई दृष्टिविहीन तथा अपंगता भएका व्यक्तिलाई सहजताका साथ प्रवाह गर्न निर्देशन दिएका छन् । 

नेप्सेका कार्यकारी अधिकृत चन्द्र सिंह साउदले प्रविधिको प्रयोगबाटै अनलाइन सेयर कारोबार गरिने भएकाले प्रविधिको विकाससँगै दृष्टिविहीनहरुलाई कारोबारमा आएको समस्या पनि समधान हुन सक्ने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?