Breaking News

इन्फोटेक २०१९ लाई ३ लाखले हेरे, मेलामा ड्रोन, दूरशिक्षा, स्मार्ट होम र कृषि प्रविधि विशेष

Feb Tue 2020 05:40:15

1020 views

इन्फोटेक २०१९ लाई ३ लाखले हेरे, मेलामा ड्रोन, दूरशिक्षा, स्मार्ट होम र कृषि प्रविधि विशेष
काठमाडौं राजधानीको भृकुटीमण्डमा जारी सूचना प्रविधि मेला क्यान इन्फोटेक २०१९ पाँचौं दिनसम्ममा करिब ३ लाखले अवलोकन गरेको क्यान महासंघले जनाएको छ । सूचना प्रविधि मेलाको शनिबार मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललगायतले अवलोकन भ्रमण गरेका छन् । उनीहरुले सूचना प्रविधिको विकासमा क्यान महासंघको भूमिकाको सराहना गरे । क्यान महासंघका उपाध्यक्ष रोमकान्त पाण्डेले नेपाली प्रविधिको उत्पादनमा भएको वृद्धिले क्यान इन्फोटेकको दायरा थप फराकिलो बनाएको महसुस भएको बताए । ‘यसपटकको मेलामा नेपाली प्रविधि र नेपाली प्राविधिकको उत्साहजनक उपस्थितिले हामीलाई थप हौसला मिलेको छ,’ उनले भने, ‘केही वर्षको अवधिमै प्रविधि र दक्ष प्राविधिक जनशक्तिको उत्पादनमा नेपाल निकै अगाडि पुगेको अनुभूत भएको छ ।’ कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिइएकाले पनि अवलोकनकर्ताको उल्लेख्य घुइँचो लागेको हो । मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग अवलोकन गर्न सकिन्छ । मेलास्थलमै सहरको कुनै एक स्थानबाट इन्टरनेटको माध्यमबाट दूरदराजदेखि गाउँगाउँका विद्यालयमा एकसाथ अध्ययन–अध्यापन गराइएको छ । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् । मेला अवलोकनकर्ताहरुले पनि यसपटकको सूचना प्रविधि मेला धेरै हिसाबले विगतको भन्दा भिन्न रहेको बताएका छन् । ‘पहिला–पहिला क्यान इन्फोटेकमा हार्डवेयरको बिक्री–वितरणभन्दा बढी केही हुँदैनथ्यो,’ हरेक वर्षजसो क्यान अवलोकन गर्दै आएका नवलपरासीका सुदिप बराल भन्छन्, ‘यसपटकको मेला सफ्टवेयर र त्यसको व्यावहारिक प्रयोगमा बढी केन्द्रित रहेको पाइयो ।’ मेलामा तीनवटा डिभाइसमा कनेक्ट गर्न मिल्ने किबोर्डमा पनि अवलोकनकर्ताले विशेष रुचि देखाएका छन् । यो किबोर्ड ब्लुटुथको माध्यमबाट टिभीमा पनि कनेक्ट गर्न सकिने र मोबाइलबाट पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, ट्राफिक म्यानेजमेन्टमा उपयोग गर्न सकिने सिसिटिभी क्यामेरा पनि मेलामा राखिएको छ । मानिस तथा वस्तुको संख्यासमेत गणना गर्न सक्ने यो क्यामेराले उद्योगी एवं सर्वसाधारणको ध्यान खिचेको छ । बुधबारदेखि सुरु भएको रोबोट ब्याटल कम्पिटिसनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको छ । कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ । प्रदेश इन्फोटेक पनि धमाधम हुँदै रा जधानीमा जारी क्यान इन्फोटेक सकिएलगत्तै प्रादेशिक इन्फोटेकमा क्यान महासंघ जुट्नेछ । भृकुटीमण्डपमा सूचना प्रविधि मेला सकिएको एक साता नबिन्दै प्रदेश ३ को चितवनमा माघ २७ देखि ३० गतेसम्म चार दिन मेला लाग्नेछ । त्यसपछि गण्डकी प्रदेशको पोखरामा फागुन १४ देखि १८ सम्म, प्रदेश ५ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २२ देखि २६ सम्म प्रादेशिक इन्फोटेक आयोजना गरिएको क्यान महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले जानकारी दिए । यसअघि, प्रदेश १ को विराटनगरमा पुस १९ देखि २३ र प्रदेश २ को वीरगन्जमा पुस २७ देखि ३० गतेसम्म प्रादेशिक इन्फोटेक सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?