Breaking News

भारतीय सेयर बजार इतिहासकै उच्च, पाकिस्तानमा पनि कीर्तिमानी

Jul Tue 2023 04:43:02

266 views

भारतीय सेयर बजार इतिहासकै उच्च, पाकिस्तानमा पनि कीर्तिमानी

छिमेकी भारत र पाकिस्तानका सेयर बजारमा कीर्तिमानी उछाल आएको छ । सोमबार भारतीय सेयर बजार इतिहासकै नयाँ उचाइमा पुगेको छ भने पाकिस्तानमा पनि कहिल्यै नदेखिएको अस्वभाविक बृद्धि सोमबारै देखिएको छ ।

भारतको बम्बे स्टक एक्सचेञ्जको सूचक सेन्सेक्स सोमबार ६५ हजार २ सय ५ अंकमा पुगेर बन्द भएको छ । इन्ट्रा–डे ब्यापारमा यो सूचक ६५ हजार ३ सय अंक नाघेको थियो । भारतीय सेयर बजारको इतिहासमै यी दुई अंकहरु कीर्तिमानी स्तर हुन् । यसअघि उक्त विन्दुसम्म बजार कहिल्यै पुगेको थिएन ।

भारतकै अर्को बेञ्चमार्क सूचक निफ्टी फिफ्टी पनि १९ हजार ३ सय २२ अंकको कीर्तिमानी उचाईमा रोकिएको छ । सोमबारको इन्ट्राडे ब्यापारमा निफ्टीले पनि १९ हजार ३ सय ४५ अंकको ऐतिहासिक उचाइ चुमेको थियो ।

अहिले पनि रुसबाट कच्चा तेल ल्याएर भारतले युरोपेली बजारमा बेचिरहेको छ । यस्तो मध्येस्तकर्ताको भूमिकाबाट भारतले ठूलो आर्थिक लाभ पाइरहेको छ । भारत सरकारले आफूलाई ‘नयाँ चीन’ अर्थात् चीनको विशाल कारखानाको विकल्पको रुपमा तयार पार्न खोजिरहेको छ ।

भारतको उदाउँदो संभावना देखेर नै अहिले संसारभरका ठूला कम्पनीहरु त्यहाँ लगानी गर्न उत्साहित बनेका छन् । यस्ता गतिविधीले सेयर बजारमा पनि विदेशी लगानीको आप्रवाह ह्वात्तै बढेको छ । भारतीय अर्थतन्त्र अहिलेको विश्वब्यापी मन्दीबाट निकै कममात्र प्रभावित हुने आँकलन गरिएको छ ।

आर्थिक तथ्यांकहरु सुदृढ रहनु र विश्वब्यापी रुपमा आशाको सञ्चार हुनुले धेरै लगानीकर्ताका लागि भारत नयाँ ‘आशाको बजार’ बनिरहेको छ ।  भारतमा रिलायन्स इन्डस्ट्रिज, आईटीसी र एचडीएफसी जस्ता सेयरहरु सोमबार अत्यधिक महँगिएका छन् । यससँगै बजाज फाइनान्स, स्टेट बैंक अफ इन्डिया, एचडीएफसी, अल्ट्राटेक सिमेन्ट, एनटीपीसी, एचडीएफसी बैंक, महिन्द्रा एण्ड महिन्द्रा, टाटा स्टील, बजाज फिनसर्भ र आईसीआईसीआई बैंकको सेयर पनि महँगिएका छन् ।

नेपालको अर्को छिमेकी पाकिस्तानमा पनि सोमबार प्रमुख सेयर बजार सूचकले कीर्तिमानी फड्को मार्यो । सोमबार एकै दिन २४ सय ४२ अंक बढेर त्यहाँको सेयर सूचक ४३ हजार ८ सय ९५ अंकमा पुगेको छ । एकै दिनमा भएको यो बृद्धि पाकिस्तानी सेयर बजारको इतिहासकै सबैभन्दा उच्च हो । प्रतिशतका हिसाबले पनि यो बृद्धि १५ वर्ष (सन् २००८ जुन २४) यताकै उच्च हो ।

पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा कोषसँग ९ महिनाका लागि ३ अर्ब अमेरिकी डलरको उद्धार सहायता लिने सम्झौता गरेको थियो । उक्त सम्झौताले लगानीकर्ता हौसिएपछि सेयर बजारमा उछाल आएको हो । विदेशी मुद्राको अभावमा अनेकौं प्रतिबन्धहरु लगाइरहेको पाकिस्तान उक्त सहायताबाट सामान्य हालतमा फर्कने कोसिस गर्न सक्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?