Breaking News

लागूऔषध कुलतमा फसेर मुक्त भएकी किशोरीको Real Story : गाँजा खाएर बुवालाई फोन गरें,बुवा, तपाईंकी छोरी सुध्रिन चाहन्छे

Feb Tue 2020 05:40:49

375 views

लागूऔषध कुलतमा फसेर मुक्त भएकी किशोरीको Real Story : गाँजा खाएर बुवालाई फोन गरें,बुवा, तपाईंकी छोरी सुध्रिन चाहन्छे

फातिमा बानु

‘नाइँ, फोटो त नखिच्ने, म सार्वजनिक हुन चाहन्नँ,’ क्यामेरा देखेपछि उनले भनिन् । नाम परिवर्तन गरेर, अडियो र भिडियोबाहेकको कथा लेख्ने सर्तमा मात्रै उनी हामीसँग कुराकानी गर्न तयार भइन् । हामीले अनुहार नआउने गरी फोटो खिच्ने अनुमति माग्यौं, राजी भइन् । प्रस्तुत तस्बिर उनकै अनुमतिमा राखिएको हो ।  दी रिकभरी ग्रुप, नख्खिपोट, उनको कार्यालय । २४ जेठमा कार्यालय पुग्दा श्रेया लिम्बु (नाम परिवर्तन) कार्यकक्षमा कुकुरका छाउरासँग खेलिरहेकी थिइन् ।

उनी लागूऔषधको कुलतमा फसेर मुक्त भएकी हुन्, अहिले कुलतमा लागेकाहरूलाई परामर्श दिने गर्छिन् । उनी कसरी कुलतमा फसिन् र कसरी मुक्त भइन् ? अनि, कसरी अहिले सामान्य जीवन बिताइरहेकी छन् ? उनको कथा उनकै शब्दमा ः

समाज र साथी

खै कहाँबाट सुरु गरौँ, आफ्नो कहानी । काठमाडौंमै हो, मेरो घर । हाम्रो परिवार सुखी थियो । म माहिली छोरी हुँ । बुवाको सरकारी जागिर, घरमा नपुग्दो केही थिएन । १५ वर्षकी थिएँ, कक्षा दशमा पढ्दै । हाम्रो टोलमा लाहुरे (भारतीय र ब्रिटिस आर्मी) बढी छन् । तिनै लाहुरेका छोरीहरू मेरा साथी थिए ।फातिमा बानु बायाँ

हाम्रोभन्दा उनीहरूको आर्थिकस्तर राम्रो थियो । उनीहरूसँगै हिँड्थे, पढ्थेँ, खेल्थेँ । सँगै बस्दा ती साथीहरू चुरोट खान्थे । मलाई पनि खान कर गर्थे । सुरु–सुरुमा मैले मानिनँ । लागू पदार्थ सेवनबारे धेरथोर जानकार थिएँ । यसमा फस्नु हुँदैन, बर्बाद भइन्छ भन्ने बुझेकी थिएँ । ठमेल नजिकै मेरो घर । ड्रग्स खाएर बिग्रिएका, बेहोस भएर बाटैमा अलपत्र सुतेका मानिस देख्थेँ । लागू पदार्थ भन्ने शब्ददेखि नै मलाई डर लाग्थ्यो । मैले चुरोट तान्न नमान्दा साथीहरू मलाई गिज्याउँथे । खा कि खा भनेर दिनहुँ कर गरे । मैले ‘खानै आउँदैन’ भन्थें । आउँदैन भनेको सुन्दा उनीहरू बेस्सरी हाँस्थे, खिल्ली उडाउँथे । चुरोट नखानेलाई साथीहरूले गन्दैनथे, पाखे भन्थे । चुरोट खानेहरू आधुनिक हुन्छन् भन्ने सोच बनिसकेको थियो, हामीमा ।

कौशीमा लुकेर चुरोट तान्न थालें

साथीहरुकै करमा एक दिन मैले पनि चुरोट तान्ने प्रयास गरेँ । बेस्सरी खोकी लाग्यो । घाँटी सर्कियो । साथीहरूले भने, ‘सुरुमा सबैलाई यस्तै हुन्छ ।’ साथीहरूको करमै एक–दुई सर्को, एक–दुई सर्को तान्न थालें ।

कलिलो उमेर र दिमाग, साथीहरूको एउटा कुरा मनमा लाग्यो, ‘चुरोट खान नजान्ने त पाखे हुन् ।’ मैले साथीहरूलाई आधुनिक बनेर देखाउन पनि छिटै चुरोट तान्न सिकिहालें । पछि किनेर घरैमा लैजान थालें । घर–परिवारसँग लुकीलुकी चुरोट तान्न थालेँ, घरको माथिल्लो कौसीमा गएर ।

साथीहरूले भनेझैँ सुरुमा चुरोट तान्न निकै असजिलो भयो । एक दिन जानिनँ, दुई दिन जानिनँ, एक हप्तामा त साथीहरूले झैँ बुङबुङ चुरोट तान्न सक्ने भइहालेँ । त्यस दिन कताकता जितको अनुभव गरेकी थिएँ, यो आजभन्दा ११ वर्ष अघिको कुरा हो ।

गाँजा हुँदै ब्राउन सुगरसम्म

चुरोट तान्दातान्दै थाहा पाएँ, साथीहरू त गाँजा र ड्रग्स पनि लिँदा रहेछन् । संगत न हो, बिस्तारै–बिस्तारै चुरोटबाट मेरो नशा गाँजा, ट्याब्लेट हुँदै ब्राउन सुगरसम्म पुग्यो ।सुरुवातमा थोरै खाए पनि नशा चढिहाल्दो रैछ । एकै चिम्टी ब्राउन सुगरले पनि लठ्ठै हुन्थेँ । पछि लत लाग्न थाल्यो, साथीहरूसँग मागी–मागी काम चलाउँथें । उनीहरूका गोजी सधैं बाक्लो हुन्थ्यो, गाँजा–ड्रग्स कहाँबाट जुटाउँथे मलाई थाहा थिएन ।

सार्वजनिक ठाउँमा बसेर ड्रग्स खान डरै हुन्थ्यो । साथीको घरमा बसेर खान्थ्यौं । एउटी साथीको घरका अरु परिवार देशबाहिर थिए, ड्रग्स खान हामीले मजैको सुरक्षित ठाउँ भेटेका थियौँ । ड्रग्सको डोज बढ्दै गएपछि साथीहरूले मसँग पनि ड्रग्स किन्ने पैसा माग्न थाले । आमाले कापी–कलम किन्न दिएको पैसा सबै ड्रग्समै सिध्याउन थालेँ ।

त्यतिले पनि पुगेन । साथीको जन्म दिन छ, उपहार दिनुपर्यो भन्दै घरमा पैसा माग्न थालेँ । त्यतिखेर दैनिक तीन सय रुपैयाँको ड्रग्स चाहिन्थ्यो मलाई । ट्याब्लेटको तीन सय रुपैयाँ पथ्र्याे । ५० रुपैयाँको गाँजा पनि किन्थेँ । सबै खान्थेँ ।घरमा झुट बोल्न थालेँ । बुवा–आमाले विश्वास गर्नुहुन्थ्यो । पैसा दिइरहनुभयो । स्कुलको फी तिर्न दिएको पैसा पनि ड्रग्स किनेर सिध्याइदिन्थे ।

जतिखेर पनि ड्रग्सकै नशामा हुन्थें । साथीहरू पनि उस्तै । कक्षामै ड्रग्स खाएर बसेका हुन्थ्यौं । शिक्षकले के पढाइरहेका हुन्, पत्तै हुँदैनथ्यो । बिहान ड्रग्स खान पाइयो, बेलुका पाइन्छ कि पाइँदैन भन्नेतिर मात्रै हाम्रो ध्यान हुन्थ्यो । खान सुरु गरेको एकै वर्षमा ड्रग्स खर्च बढ्दै गयो । दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्मको ड्रग्स खाने भइसकेकी थिएँ । जुटाउन मुस्किल हुँदै गयो ।

मैले घरमा पैसा र सामान चोर्न थालेँ । आमाले साँचो कहाँ राख्नुहुन्छ भन्नेमा म चनाखो हुन्थेँ । आमाको आँखा छली–छली दराजबाट पैसा चोर्न थालें । आमाले थाहा नै पाउनुहुन्नथ्यो । मेरो मनोबल बढ्दै गयो । ०६१ मा एसएलसी दिएँ, सेकेन्ड डिभिजनमा पास भएँ । ड्रग्सको डोज बढी नै रहेको थियो ।

ड्रग्सको असरले होला दुब्लाउँदै गएँ । स्मरणशक्ति पनि कमजोर हुँदै गइरहेको थियो । आमाले काम अह्राउनुहुन्थ्यो, एकैछिनमा बिर्सन्थेँ । एउटा सामान भन्नुहुन्थ्यो, म अर्को ल्याइदिन्थें, टोलाउँथे । खै के के पो भन्थेँ । म आफैं बुझ्दिनँथेँ । तर पनि आमाले कहिल्यै शंका गर्नु भएन ।

गाँजा खाएर थापाथलीको एउटा गल्लीमा बसिरहेकी थिएँ । पूरै हारेको जस्तो महसुस भइरहेको थियो । मलाई पश्चाताप लागिरहेको थियो । आफैँदेखि घृणा लागिरहेको थियो । मैले बुवालाई फोन गरेँ, ‘बुवा मलाई अन्तिम मौका दिनु, म सुध्रन चाहन्छु, मलाई लिन आउनु ।’ म बेस्सरी रोएँ । बुवा तुरुन्तै आउनुभयो ।

दैनिक हजार रुपैयाँ चोर्ने, नजिकको औषधि पसल जाने ड्रग्स किन्ने, खाने । यस्तैमा अल्झिएको थियो मेरो जीवन । औषधि पनि खुल्लम खुला किन्न पाइन्थ्यो । डाक्टरको सल्लाहबिनाका औषधि किन्दा भने दोब्बर रकम लाग्थ्यो । नखाई नहुने भयो । जति महँगो परे पनि किन्थेँ, खान्थेँ । ड्रग्स खाएपछि कुनै कुराको चिन्ता नहुने ।

नशामा झुम्म हुन पाएपछि यो संसारमा मजस्तो आनन्दित मान्छे कोही छैन जस्तो अनुभव हुन्थ्यो । आँखा राता न राता हुन्थे । घरमा थाहा पाउलान् भनेर डर लाग्थ्यो । सकेसम्म म परिवारका सदस्यको अगाडि नै पर्दिनथेँ । कहिले टाउको दुख्यो, कहिले पेट दुख्यो कहिले के दुख्यो भन्दै विभिन्न बहानामा म सुतिदिन्थेँ । घरमा कसैले शंका पनि गरेनन् ।

shiya limbuआमाले देखेपछि

हाम्रो नयाँ घर बन्दै थियो । तलातला बनिसकेको थियो । माथि खुला थियो । एक साँझ ममाथि बसेर ड्रग्स खाँदै थिएँ । पूरै लठ्ठ थिएँ, आमा आइपुग्नुभयो । म आधा बेहोश थिएँ । आमाले थाहा पाउनु भएछ । बेस्सरी रुनु भयो । खै के के सोध्नुभयो । मलाई राम्ररी सम्झना छैन । खै त्यो साँझ के के भो, म केही सम्झन सक्दिनँ ।

मैले ड्रग्स खान्छु भनेर परिवारलाई थाहा भयो । परिवारले मप्रति देखाउने व्यवहारमा परिवर्तन हुन थाल्यो । विश्वासको वातावरण बनेन । कामकै लागि पैसा माग्दा पनि नदिने गर्नुभयो । घरमा सामान, पैसा केही हराए सीधै मैमाथि औँला तेर्सिन्थेँ । ड्रग्स खाएपछि डर संवेदना सबै हराउने रहेछन् । मैले ड्रग्स खान छोडिनँ । दिनानुदिन बढ्दो थियो, ड्रग्स खर्च । पैसाबाट सुनतिर लम्किन थाले मेरा हातहरू । आमाका गहना चोरेँ । बिल नभएपछि गहना सस्तो न सस्तोमा मोलमा बेच्नुपथ्र्यो । एकछिन ड्रग्स खान नपाए पागल हुन्थेँ । सुनै बेचेर ड्रग्स किन्न बाध्य हुन्थेँ ।

कुनै दिन त पैसा पनि हुँदैनथ्यो, साथी पनि हुँदैनथे । ‘सिक’ भइन्थ्यो । त्यतिखेर अजीव–अजीवका क्रियाकलाप गर्थें । होसै पाउँदिनथेँ । आमाले भन्नुहुन्थ्यो, ‘तँ खाटमाथि कुर्सी राखेर सुत्थिस् । बौलाहा मान्छे जस्तो हाँस्थिस् ।’ खान नपाउँदा औडाहा हुन्थ्यो । कसरी आनन्द हुन्छ भनेर म अनौठा–अनौठा काम गर्थें । साथीहरू पनि पैसा हुन्जेल मात्रै झुम्मिन्थे । पैसा नहुँदा एक्लै छट्पटिनुपथ्र्यो ।

११ मा पढिरहेकी थिएँ । त्यतिबेला दैनिक तीन हजार रुपैयाँको ड्रग्स चाहिन्थ्यो, मलाई । ब्राउन सुगर महँगो भइसकेको थियो । पाँच सय रुपैयाँमा पाइने ब्राउन सुगरको दुई हजार पुगिसकेको थियो । अहिले सात हजार रुपैयाँ पर्छ रे ।

प्रहरीले पक्रियो

एक दिन म साथीहरूसँग ड्रग्स खाएर हिँडेकी थिएँ । साथीहरूले ड्रग्स बोकेका पनि थिए । हामीलाई प्रहरीले पक्रियो । मसँग भने ड्रग्स थिएन । म रिहा भएँ । साथीहरू थुनिए । म जेल कहिल्यै परिनँ, निकै चनाखो भएर हिँड्थेँ । तीन वर्ष ड्रग्स खाएँ । पढाइ पनि छुट्यो । म सुध्रिन चाहन्थेँ । तर सक्दिनथेँ । बुवाले मलाई काठमाडौं मेडिकलमा भर्ना गरिदिनुभयो । मेरो उपचार सुरु भयो । त्यहाँ म ४५ दिन बसेँ, ठीक भएँ । तर शारीरिक रुपमा मात्रै । मानसिक रुपमा भइनँ । ड्रग्स भुल्न सकिनँ । काठमाडौं मेडिकलबाट घर फर्किएको दिन नै मैले फेरि ड्रग्स खाएँ । उही संगतमा हिँडे । बुवाले मलाई फेरि काठमाडौं मेडिकलमै राखिदिनुभयो । म पनि ठीक हुन चाहन्थेँ । मेडिकलभित्र एकदमै गाह्रो हुन्थ्यो । ड्रग्स खान नपाएर म पागलझैं कराउँथे । बेस्सरी ज्वरो आउँथ्यो । नुहाई रहन्थें । पानीमा खन्याउन्जेल आराम, खन्याउन छोडेपछि उस्तै । मेडिकल आउने–जाने, ठीक हुने, फेरि खाने क्रम धेरै वर्ष चल्यो । तर मैले ड्रग्स चटक्कै छाड्न सकिनँ ।

मलाई देखेर घरका मान्छे दिक्क भइसकेका थिए । मलाई सम्झाएर, उपचार गराएर थाकिसकेका थिए । म चाहेर पनि ठीक हुन सकिनँ । समुदायमा मलाई हेर्ने नजर उस्तै थियो । तर, मलाई वास्तै लाग्दैनथ्यो । आमाले भन्नुहुन्थ्यो, ‘तैले गर्दा समाजमा मुख देखाएर हिँड्न पनि लाज भैसक्यो ।’

मैले खाने मात्रै होइन, ड्रग्स बेच्ने धन्दा पनि गर्न थालेँ । वीरगन्ज पुगेर ड्रग्स किन्थेँ, काठमाडौं ल्याएर बेच्थेँ । जोखिम थियो, तर ड्रग्सको नशाले डर भन्ने चिज नै खाइदिन्थ्यो । ड्रग्स किन्ने, बेच्ने एक–एक मान्छे चिनिसकेकी थिएँ । गाह्रो थिएन । मेरो घरमा बास हुँदैनथ्यो । धेरै दिनसम्म घरबाट गायब हुन्थँे । घरमा पनि वास्ता गर्न छोडिसकेका थिए । अब यो बबार्द भई कसैले बिहे पनि गर्दैन भनेर गाली गर्थे । मलाई मतलब हुँदैनथ्यो ।

पैसा पनि सकिएको थियो । ड्रग्स खान नपाएर म भित्रभित्रै जलिरहेकी थिएँ । शरीर पूरै करकर खाइरहेको थियो । के गरुँ, कसो गरुँ भयो । घरको छतबाट हाम फालें, खुट्ट भाँचियो ।

तलतल लागेर छतबाट हामफालें

एक दिन मसँग ड्रग्स थिएन । पैसा पनि सकिएको थियो । ड्रग्स खान नपाएर म भित्रभित्रै जलिरहेकी थिएँ । शरीर पूरै करकर खाइरहेको थियो । के गरुँ, कसो गरुँ भयो । घरको छतबाट हाम फालें, खुट्ट भाँचियो । अस्पताल भर्ना भएँ, यो आजभन्दा पाँच वर्षअघिको कुरा हो । अस्पताल भर्ना भएपछि आफन्तहरू भेट्न आइरहन्थे, पैसा दिन्थे । साथीलाई बोलाएर त्यही पैसाले ड्रग्स किन्न पठाउँथे, खान्थेँ । ड्रग्स ल्याइदिने साथी पनि ड्रग्स एडिक्ट थिइन् । मसँग खुबै मिल्थिन् । खुट्ट भाँचिएपछि म दुई महिना घरमा बसेँ । ड्रग्स खाने खर्च थिएन । कोही साथी भेट्न पनि आएनन् ।

छट्पटिएर बस्न बाध्य भएँ । आमाले ‘रिह्याब’ पुनर्वासबाट मान्छे बोलाइदिनुहुन्थ्यो । त्यही उपचारबाट मेरो सास चलिरहेको थियो । खुट्टा सन्चो भएपछि म घरबाहिर हिँडे । ड्रग्स खाने पैसा थिएन । गाँजा सस्तोमा पाइन्थ्यो । गाँजा मात्रै खाएर हिँड्न थालेँ । त्योबीचमा ओभर ड्रग्स डोजका कारण सबैभन्दा मिल्ने एउटी साथीको मृत्यु भयो । उसको नाम नभनौं ।

मेरा कति साथी पक्राउ परेर जेल परे । उनीहरूलाई दश वर्षको जेल सजाय सुनाइयो । म नितान्त एक्लिएँ । मैले आफ्नो भविष्य पनि त्यस्तै हुने देखेँ । मेरो जीवन पूरै अव्यवस्थित भइसकेको थियो । न कसैले वास्ता गथ्र्यो, न त विश्वास । आफूसँगै पढेका साथीहरू कोही डाक्टर, कोही इन्जिनियर भनेर चिनिन्थे । मलाई भने ‘ट्यापिनी’ भनेर चिन्थे । मैले सोँचे, ‘अब ठीक हुनैपर्छ ।’

पोखरा नौलो घुम्ती रिह्याबमा

एक दिन साँझ म गाँजा खाएर थापाथलीको एउटा गल्लीमा बसिरहेकी थिएँ । पूरै हारेको जस्तो महसुस भइरहेको थियो । मलाई पश्चाताप लागिरहेको थियो । आफैँदेखि घृणा लागिरहेको थियो । मैले बुवालाई फोन गरेँ, ‘बुवा मलाई अन्तिम मौका दिनु, म सुध्रन चाहन्छु, मलाई लिन आउनु ।’

म बेस्सरी रोएँ । बुवा तुरुन्तै आउनुभयो । भोलिपल्टै हामी पोखरा गयौँ । म नौलो घुम्ती रिह्याबमा भर्ना भएँ । मेरो उपचार सुरु भयो । ड्रग्स खान नपाएर म लगलग काम्थेँ । रातभरि निन्द्रा लाग्दैनथ्यो । खाना रुच्दैनथ्यो । बेस्सरी ज्वरो आउँथ्यो । नाकबाट निरन्तर सिगान बगिरहन्थ्यो । पुछेर फुर्सद पाउँदिनथेँ । त्यो व्यथा लामो समयसम्म रहेन । म ठीक हुँदै गएँ । गुमेको भोक निन्द्रा फर्केर आयो । शारीरिक र मानसिक दुवै तवरले ठीक भएँ म । आठ महिना लाग्यो मलाई, सामान्य मान्छे बन्न । पूरै ठीक भएर घर फर्किएँ । त्यो दिनदेखि आजसम्म मैले ड्रग्स छोएकी छैन ।

आफूलाई बुझ्ने श्रीमान पाएकी छु

पोखराबाट ठीक भएर फर्केपछि मेरो विवाह भयो । श्रीमानलाई मेरो अतीतबारे सबै थाहा छ । उहाँले मलाई बुझ्नुभएको छ । मैले ड्रग्स प्रयोगकर्ताकै हितमा काम गर्ने सोँचे । साथीहरूलाई भेटेँ, सम्झाएँ । कति ठीक पनि भए । म रिकभरी ग्रुप संस्थामा आएँ । जहाँ कुनै दिन म उपचार गराउन पनि आएकी थिएँ । संस्थामा काम गर्ने प्रस्ताव राखेँ । मैले काम पाएँ । म यहाँ ड्रग्स प्रयोगकर्ताहरूलाई परामर्श दिने काम गर्छु । उनीहरूसँग आफ्नो अनुभव साट्छु । मेरै पहलमा रिकभरी ग्रुपमा महिला मात्रै राख्ने व्यवस्था मिलाएँ । किनकि मलाई थाहा छ, भोगेकी छु । महिला र पुरुष एकै ठाउँमा राख्दा महिलाले भोग्नुपरेका समस्या । तीन वर्ष भयो, मैले रिकोभरी ग्रुपमा काम गर्न थालेको । मेरो संघर्ष जारी छ ।

 Source: Media.np

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?