नेपालगञ्जबाट २ सय ३५ किलोमिटर उत्तरपूर्वमा ७ घण्टाको बस यात्रापछि पुग्न सकिने सल्यान मध्यपश्चिम बिकास क्षेत्रको पहाडी जिल्ला हो । सल्यान विभिन्न किसिमका जडिबुटीहरु, अदुवा, सुन्तला, कागतीका साथै तरकारीका लागि समेत उर्वर मानिन्छ ।
सल्यानको सुन्तला र अदुवा गुणस्तरका हिसाबले देशकै उत्कृष्ट मानिन्छ । यहाँको सुन्तला र अदुवा संकलनका लागि व्यापारीहरु बाहिरी जिल्लाबाट कृषककहाँ नै पुग्ने गर्दछन् ।
प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले थुप्रै सम्भावना रहेको सल्यान उचित प्रचार प्रसार र पर्यटकीय सम्पदाहरुको संरक्षण, सम्वर्द्धनको अभावमा ओझेलमा परेको छ ।
दाङको तुलसीपुरबाट राप्ती राजमार्ग हुँदै सल्यानको कपुरकोटस्थित देशकै चर्चित तरकारी बजार केन्द्र भएर सल्यान प्रवेश गर्ने मुख्य नाका हो । सल्यान प्रवेशको मुख्य द्वार कपुरकोट जिल्लाकै चर्चित तरकारी बजार केन्द्र हो । यहाँको तरकारी काठमाडौं, नारायणगढ, वुटवल, नेपालगञ्ज, दाङलगायतका ठाउँहरुमा पुग्ने गर्दछ । जिल्लाको बीच भागबाट नै बगेको शारदा नदीले जिल्लाको सुन्दरता बढाउनुका साथै शारदाका फाँटहरुमा धानबालीका लागि सिचाइको सुविधा प्रदान गरेको छ ।
राप्ती राजमार्ग सल्यान हुँदै रुकुमसम्म पुगेको छ । त्यस्तै, सुर्खेत हुँदै भेरी नदीको तिरैतिर भएर पश्चिम सल्यानको सल्लीबजारबाट पनि सल्यान प्रवेश गर्न सकिन्छ । यो सडकले सुर्खेत हुँदै जाजरकोटसम्म पुग्ने गर्दछ ।
कुपिन्डे दह
सल्यान जिल्लाको प्रमुख पर्यटकीय स्थल भन्दा नि फरक नपर्ला कुपिण्डे दहलाई । जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदाको रुपमा रहेको कुपिण्डे दह (ताल) कुपिण्डे गाविसमा पर्दछ । जिल्ला सदरमुकाम खलङ्गादेखि २४ किमि पश्चिममा पर्ने यो दह निकै मनोरम र आकर्षक छ ।चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे दहले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएरै पठाउँछ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको दह साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय स्थल हो कुपिन्डे दह ।
कुपिन्डे दहको क्षेत्रफल कति छ भनेर नाप नभए पनि स्थानीयबासीले २ हजार ८ सय क्षेत्रफलमा फैलिएको दावी गर्छन् ।वर्षेनी कुपिण्डे दहसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न टाढा-टाढा भक्तजनहरु समेत आउने गर्दछन् । कुपिण्डे दहले वर्षमा तीन रङ्ग बदल्ने गर्दछ, वर्षा, हिउँद र गर्मी याममा दहले रङ्ग बदल्ने विश्वास गरिन्छ ।
रहस्यमय के छ भने दहको पानी बगेर जाने ठाउँ देखिदैन र यसको गहिराइ कति छ भन्ने अनुमानबाहेक यथार्थ कसैले पत्ता लगाउन सकेको छैन । दहकै छेऊमा रहेको मन्दिरमा बराहदेवको आराधना गरिन्छ । यो मन्दिरमा मार्ग शुक्लपूर्णिमा र बैशाख शुक्लपूणिर्माका दिन ठूलो मेला लाग्दछ ।
कुपिण्डे दह संरक्षण समितिले दहमा डुङ्गा सञ्चालनमा ल्याएको छ । दहमा आएर डुङ्गा सयर गरेर घुम्न पाउँदा पर्यटकहरु छुट्टै आनन्द महसुस गर्दछन् । उत्तर दक्षिणतर्फ फैलिएको उक्त दहको पूर्व र दक्षिणमा ज्यामिरे पर्छ र उत्तरमा दह । दहमा पानी कतैबाट आउँदैन तर दक्षिण खाडल भएर निस्कन्छ । वरिपरि हरियाली वन जंगल छ । जंगलमा घोरल, रतुवा, भुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ ।
दहको पानी स्वच्छ र सफा भएकाले वरपरका गाविसमा खानेपानीको सुविधा समेत पुर्याउन सकिने सम्भावना रहेको छ । राम्रो सम्भावना हुँदाहुँदै पनि विकासका पूर्वाधारहरुको अभावका कारण कुपिण्डे दहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिएको छैन । तीव्र भू-स्खलन र वरिपरिको जंगल संरक्षण नभएको हुँदा वर्षेनी दह पुरिने खतरा पनि उत्तिकै मात्रामा बढिरहेको छ । त्यसतर्फ सरोकारवाला निकायले बेलैमा चिन्ता गर्न जरुरी छ ।
छायाक्षेत्र
नेपालका सबै शक्तिपीठहरुमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो सल्यान छायाक्षेत्रको छत्रेश्वरीदेवी मन्दिर । यहाँ सर्वप्रथम अष्टभैरवले पूजाआराधना गरेकाले कुनै पनि अवसरमा बलि नचढाइने बताइन्छ । सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंग पतन भएको विश्वास गरिने छायाक्षेत्र सल्यानको महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य हो ।
दाङको घोराहीदेखि करीब ७० किलोमिटर राप्ती राजमार्ग पार गरेपछि सल्यानको शंखमूल पुगिन्छ । त्यहाँबाट पैदल एक घण्टा उत्तरतर्फको डाँडोमा चढेपछि छत्रेश्वरी देवीको मन्दिरमा पुगिन्छ ।
सल्यान सदरमुकाम खलंगादेखि १९ किलोमिटर दक्षिणपूर्वमा पर्नेउक्त मन्दिर शारदा नदीको पनि पूर्वतिर रहेको छ ।
त्यहाँ पुग्ने जो कोहीलाई छायाक्षेत्र साँच्चिकै आफै छायाँमा परेको महसुस हुन्छ । टाढा-टाढाबाट मानिसहरु आए पनि यहाँ आउने बाटो, आवास, पानीलगायतको राम्रो व्यवस्था हुनसकेको छैन ।
५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्र मन्दिरमा शिवरात्रीको बेलामा ठूूलो मेला लाग्ने गर्दछ ।
मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूूलो मन्दिर छ । यससँगै सुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । यस मोक्षभूमिमा कालआदि अष्ट भैरवले तपस्या गरेका थिए । जहाँ-जहाँ सतीदेवीको शरीर पतन भएको थियो, त्यहीं-त्यहीं पीठ उत्पन्न हुँदै गएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
मन्दिर परिसरको उत्तरतिर एउटा ठूलो शीला छ, जहाँ सतिदेवीको सम्पूूर्ण अंग पतन भएको विश्वास गरिन्छ । अंग पतन भएको शीलामा आँखाले अवलोकन गरे सल्यानका गाउँबस्ती देख्न सकिन्छ भन्ने किंवदन्ती छ ।
पौराणिक कथाअनुसार सतीदेवीको पहिलो शरीर गुहेश्वरीमा पतन भएको थियो भने अन्तिम शरीर सल्यानको छायाँक्षेत्रमा पतन भएको हो । जहाँ-जहाँ अंग पतन भए, त्यहाँ सबै पूण्यभूमिको रुपमा रहेका र अन्तिम अंग पतन भएको स्थान यस क्षेत्र मोक्ष प्राप्त गर्ने पूण्यभूमि भएको जानकारहरु बताउँछन् ।
मेलामा बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, रुकुम, रोल्पा, दाङ, प्यूठानलगायतका जिल्लाबाट थुप्रै तीर्थयात्रीहरु आउने गर्दछन् । भेडा र कुखुराको बलि चढाइने उक्त मन्दिरमा सन्तान नभएका जोडीहरु आएर पूजा आराधना गरी सन्तान प्राप्तिको कामना पनि गर्दछन् ।
खैराबाङ
खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । सल्यानको शारदा नगरपालिका वडा नं.११ खैराबाङमा रहेको मन्दिर स्थललाई सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरिर बोकेर विश्व भ्रमण गर्दा देवीको अंग पतन भएको विश्वास गरिन्छ ।
खैराबाङ भुवनेश्वरी मन्दिर समुन्द्री सतहबाट १ हजार ६ सय फिट अग्लो पहाडमा अवस्थित छ । यो मन्दिर सल्यान सदरमुकाम खलंगादेखि १६ किमि पूर्वी दक्षिण खैराबाङमा पर्दछ । खैराबाङ पुग्न सल्यानको व्यापारिक केन्द्र शीतलपाटीबाट एक घण्टा र सदरमुकाम खलंगा हुँदै साढे दुई घण्टा लाग्दछ । खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मंगलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ । शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन हुने गर्दछ ।
चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको बेला १५ दिन भक्तजनहरुको घुइँचो लाग्दछ ।यस मन्दिरमा भवानी भुवनेश्वरीले मनले चिताएकोमनकामना पूरा गर्ने विश्वास लिएर बलि चढाउने गरिन्छ भने बाहृमणक्षेत्रीहरुले मन्दिर वरिपरि चण्डीपाठ गर्दछन् ।
खैराबाङमा वैदिककालमा पूजा आराधना गरी काम, क्रोध, लोभ, मोह, मद (घमण्ड) र मात्सर्य (इर्ष्या) त्याग्न देवीसँग माग गरिन्थ्यो । पौराणिककालबाट बलि दिने चलन सुरु भएको बताइन्छ । खैराबाङमा पञ्चबलिका रुपमा बोका, राँगो, परेवा, भेडा र हाँसको बलि चढाउँदछन् ।
मन्दिरमा सदरमुकाम र शीतलपाटीबाट मोटरबाटो र मन्दिर परिसरमा विद्युत सेवा उपलब्ध छ । मन्दिर २७ रोपनी जग्गामा फैलिएको मन्दिरलाई व्यवस्थित गर्दै प्रचार प्रसार गरेर लैजान सके सल्यान जिल्लालाई धार्मिक र प्राकृतिक पर्यटनको गन्तव्य बनाउन सकिने निकै राम्रो सम्भावना छ ।