Breaking News

फेसबुकले भेरिफाइड गरेका ११ नेपाली पत्रकार को को हुन ?

Feb Tue 2020 05:40:59

344 views

फेसबुकले भेरिफाइड गरेका ११  नेपाली पत्रकार को को हुन ?

काठमाडौं । सामाजिक सञ्जालको लोकप्रियता ह्वातै बढेको छ । सेलिब्रेटी, पत्रकार, नेताहरुको प्रभाव सोसल साइटहरुमा पनि देखिने गरेको छ । फेसबुकको लोकप्रियता त अझ नजानिदो गरी बढेको छ ।

तर, आधिकारिक रुपमा फेसबुकले थोरै नेपाली नेता, सेलिब्रेटीहरुलाई भेरिफाइड गरेको छ । भेरिफाइड नेपालीमा केही पत्रकारहरु समेत परेका छन् । फेसबुकले पेज तथा प्रोफाइलको नामको दाहिनेपट्टी सानो निलो घेराको बीच भागमा सेतो चेकमार्कले फेरिफाइडको संकेत गर्छ । फेसबुकले यो सुविधा सेलिबे्रटी, मिडियाकर्मी, सरकारी अधिकारी, लोकप्रिय ब्रान्ड तथा धेरै प्रयोगकर्ता रहेको व्यपारलाई दिइरहेको छ ।

नेपालीपत्रको खोजमा फेसबुकले भेरिफाइड गरेका १० जना नेपाली पत्रकार भेटिएका छन् । जुन यस प्रकार छन् : १. रवीन्द्र मिश्र

बीबीसी नेपाली सेवाका सम्पादक हुन्, रवीन्द्र मिश्र । उनी फेसबुकमा भेरिफाइड पेज भएका नेपाली पत्रकार हुन् । नयाँ राजनीतिक शक्तिको वकालत गर्ने मिश्र आफूलाई परोपकारी र लोककल्याणकारी अभियन्ताका रुपमा पनि परिचित गराउँदैं आएका छन् । उनको फेसबुक पेजमा झण्डैं ५ लाख बढीले लाइक गरेका छन् । ‘खान पुगोस दिन पुगोस’लगायतका किताबका लेखक समेत रहेका मिश्र पछिल्लो समयमा कविका रुपमा पनि परिचित हुन थालेका छन् । बीबीसी नेपाली सेवामा तिखो प्रश्न सोध्ने शैलीका कारण पनि मिश्रका थुप्रै फ्यानहरु छन् ।

२. नारायण श्रेष्ठ

भेरिफाइड फेसबुक एकाउण्ट भएका अर्का नेपाली पत्रकार हुन्, नारायण श्रेष्ठ । हाल अमेरिकामा रहेका श्रेष्ठ यसअघि बीबीसी वल्र्ड ट्रष्टले चलाइरहेको रेडियो तथा टेलिभिजन कार्यक्रम ‘साझा सवाल’का प्रस्तोताका रुपमा ख्याति कमाएका थिए । साझा सवालबाटैं सेलिब्रेटीको छवि बनाएका नारायण आजकल अनलाइन तथा पत्रपत्रिकामा लेख लेख्ने गर्छन् । गोरखाका श्रेष्ठ युनिभर्सिटी अफ बाल्टिामोरमा ग्लोबल अफेयर्स पढिरहेका छन् । उनको भेरिफाइड फेसबुक एकाउण्टमा ५५ हजार बढीले फ्लो गरेका छन् ।

३. भोजराज भाट

चर्चित अन्तर्राष्ट्रिय अवार्ड विनिङ डकुमेन्ट्री ‘सुनकली’का निर्देशक हुन्—भोजराज भाट । उनी फेसबुक एकाउण्ट भेरिफाइड भएका नेपाली पत्रकार मध्येमा पर्छन् । पछिल्लो समयमा स्वतन्त्र पत्रकारिता गर्दै आएका छन्, उनी ।

लामो समय माओवादी रिपोर्टिङमा बिताएका भाटलाई नेपाली पत्रकारिताका माओवादी द्वन्द्वमा विशेष दख्खल राख्ने पत्रकारका रुपमा चिनिन्छ । फ्रान्सको न्युज२४लगायतका केही विदेशी मिडियामा पनि रिपोर्टिङ गर्दै आएका भाटसँग नेपाल साप्ताहिक, नागरिकलगायतका मुलधारका मिडियामा रिपोर्टिङ गरेको अनुभव छ । उनी यसअघि उनी यूरोप र अस्ट्रेलियाबाट प्रकाशित हुने नेपालीपत्रको सम्पादकका रुपमा समेत कार्यरत थिए ।

भाट सुरक्षा सम्बन्धी रिपोर्टिङ पनि गरेका थिए । ४. अनुप काफ्ले

लण्डनमा बसेर पत्रकारिता गरिरहेका अनुप काफ्लेको फेसबुक एकाउण्ट पनि भेरिफाइड छ । बज फिड डटकमका डेपुटी फरेन इडिटर हुन् काफ्ले । यसअघि उनले वासिङगटन पोष्टमा डिजिटल फरेन इडिटरका रुपमा काम गरिसकेका छन् ।

सन् २००३ बाट द हिमालय टाइम्सबाट पत्रकारिता सुरु गरेका काफ्ले कोलम्बिया युनिभर्सिटीका ग्याजुयट हुन् । पोखराका काफ्लेको फेसबुक एकाउण्टलाई ६४ हजार बढीले फ्लो गरेका छन् । ५. सुरेन्द्र फुयाँल

बीबीसी नेपाली सेवाका कार्यरत पत्रकार सुरेन्द्र फुयाँलको फेसबुक एकाउण्ट पनि भेरिफाइड छ । उनले यसअघि कान्तिपुर दैनिकमा रहेर समेत काम गरिसकेका छन् । काठमाडौंका फुयाँल वातावरण, पर्यटनलगायतका बिटमा रिपोर्टिङ गर्छन । ६. फणिन्द्र दाहाल

पत्रकार फणिन्द्र दाहालको एकाउण्ट पनि भेरिफाइड छ । लामो समय द काठमाडौं पोष्टमा काम गरेका दाहाल पछिल्लो समय भने बीबीसी नेपाली सेवामा आवद्ध छन् । सुनसरीका दाहाल प्रायजसोः राजनीतिक विषयमा कलम चलाउँछन् ।

७. बिनिता दाहाल

बिनिता दाहाल बीबीसी नेपाली सेवाकी संवाददाता हुन् । यसअघि नागरिक दैनिक, सेतोपाटीलगायतका मिडियामा काम गरिसकेकी दाहालको पनि फेसबुक एकाउण्ट भेरिफाइड छ । अदालत सम्बन्धी कलम चलाउने उनी राजनीतिक विषयमा पनि रिपोर्टिङ गर्छिन ।

८.आभा भट्टराई

अमेरिकाको कोलम्बियामा बस्दैं आएकी छन्, आभा भट्टराई । वासिङगटन पोष्टमा कार्यरत आभाले आर्थिक विषयमा कलम चलाउँछिन् । यसबाहेक उनी हस्पिटालिटी सम्बन्धि रिपोर्टिङ पनि गर्छिन । उनले यसअघि वाल स्ट्रीट जर्नल, न्युयोर्क टाइम्स, रोयटर्सलगायतका मिडियामा पनि काम लेखेकी थिइन ।

९. रजनीश भण्डारी

मल्टीमिडिया पत्रकार, फिल्म मेकर्सका रुपमा काम गरिरहेका पत्रकार रजनीश भण्डारीको फेसबुक एकाउण्ट पनि भेरिफाइड छ । यसअघि कान्तिपुर टेलिभिजनका कार्यरत रजनीश अहिले स्वतन्त्र पत्रकारितामा संलग्न छन् । उनी सोसल मिडिया सम्बन्धी विभिन्न क्रियाकलापहरुमा पनि संलग्न छन् ।

१०. किशोर पन्थी

अमेरिकाबाट पत्रकारिता गरिरहेका किशोर पन्थीको फेसबुक एकाउण्ट पनि भेरिफाइड छ । नेपालमा हुँदा एबीसी टेलिभिजन कार्यरत पत्रकार पन्थी अहिले अमेरिकाबाट प्रकाशन हुने खसोखास दैनिकका प्रधान सम्पादक हुन । उनले यसअघि अमेरिकाबाट सञ्चालित ह्वाइट हिमाल टेलिभिजनमा पनि काम गरेका थिए । उनी अमेरिकामा सक्रिय नेपाली पत्रकारहरुमा पर्छन ।

११. जितेन्द्र राउत

बीबीसी नेपाली सेवाका जितेन्द्र राउत भेरिफाइड पत्रकार हुन् । राउत राजनीतिक तथा विभिन्न सामाजिक इस्युहरुमा रिपोर्टिङ गर्दै आएका छन ।

उनी लामो समयदेखि बीबीसीमा रहेर काम गरिरहेका छन् । द्वन्द्वकालमा उनले ग्रामीण द्वन्द्वग्रस्त क्षेत्रमा पुगेर माओवादी सशस्त्र संघर्षमाथि पनि रिपोर्टिङ गरेका थिए ।

(यसअघि पत्रकार राउतको नाम छुटन गएकामा सच्चाइएको छ । स.)

News Source- Nepalipatra.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?