लैङ्गिक समानताका लागि पाईला हाराहारी : सन २०३० सम्म हिस्सा बराबरी भन्ने अन्तराष्ट्रिय नारा र संविधानलाई व्यवहारमा उतारौ महिला अधिकार सुनिश्चित गरौ भन्ने नेपालको नाराका साथ अन्तराष्ट्रिय नारी दिवस मनाइदैछ । यो दिवस हरेक बर्ष मार्च ८ का दिन मनाइन्छ । गत बर्षको नारी दिवसको नेपालको लागि नारा थियो ‘लैंगिक मैत्रिक संविधान, महिला हिंसाको निदान’ । मुलुकले लामो समयपछि नयाँ संविधान पनि पायो ।संविधानमा महिला हक अधिकारका थुप्रै कुराहरु पनि लिपिबद्ध समेत गरियो । वास्तवमा महिला दिवसको सुरुवात राजनीतिक तवरबाट भएता पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो। १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रधान गरिएको थियो। सन् २०१६ मा आइपुग्दा विश्वभर १०६ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। तर दुखका साथ भन्नुपर्दा नारी दिवसको जति धेरै चर्चा गरे तापनि यसबाट विश्वमा आशातित सफलता भने हासिल गर्न सकिएको छैन। यसको मुख्य कारण धेरैजसो देशमा नारी दिवस औपचारिकतामै सीमित रहनु हो। नेपालकै कुरा गर्ने हो भने पनि दुःखका साथ भन्नै पर्ने हुन्छ भव्यतालले नारी दिवस मनाउने तयारी गरिरहँदा केही साता अघि नेहा नाम गरेकी महिला लगायतका महिला बलात्कृत भएका छन् । एउटी नारीमाथि निर्मम हिंसा र बलात्कार भइरहेको छ तापनि सरोकारवाला निकाय मौन छन्। त्यसैले पनि नेपालमा नारी दिवसले सार्थकता पाउन नसकेको जस्तो लाग्छ। हरेक वर्ष पौषशुक्ल पूर्णिमाका दिन स्वस्थानी भन्न शुरू गरेर माघशुक्ल पूर्णिमाका दिन अन्त गरेझैं नारी दिवस आउछ/जान्छ सकिन्छ। यसरी नारी दिवस मात्र औपचारिकतामा सीमित रहेको जानकारहरू बताउदछन्। स्वस्थानीमा आफ्ना पति महादेवलाई निन्दा गरेका कारणले प्राणत्याग गरेकी सतिदेवीको कथा भन्दा कम मार्मिक र दर्दनाक छैन नेपाली नारीको कथा । नेपालको सन्दर्भमा पनि यस्तै भइरहेको छ। आज पनि कयौं सतिदेवीहरू प्राणत्याग्न वाध्य भएका छन ,बाध्य बनाइएको छ । आज पनि कतै दाइजो नल्याएको निहुँमा परिवारको निन्दा र अत्याचार सहन नसकेर त कतै छाउपडीका नाममा, कतै कमैयाका नाममा, कतै वादीका नाममा अनि कतै बोक्सीको आरोपमा त कतै दलितका नाममा आखिर अन्याय र शोषणमा परेका छन् त केवल नेपाली नारी। वास्तविक नारी दिवस मनाउन ती पीडित नारीहरुले न्याय पाउनु पर्दछ । तसर्थ अबका दिनमा नारी दिवस मात्र औपचारिकतामा सीमित नगरी सम्बन्धित र सरोकारवाला निकायले वर्षभरि नै नारी हक हितका र समानताका पक्षमा वकालात गरी महिला हिंसालाई समाजबाट निर्मुल पार्न ठोस् पहल गर्नुपर्दछ। आधुनिकताको बढ्दो परिवेशसँगसँगै पूराना मूल्य र मान्यतामा कमी भई महिला हिंसाका घटनामा केही मात्रामा कमी आएता पनि महिला हिंसाका नयाँ नयाँ तरिका देख्दा आज विश्व समाज नै त्रसिद बन्न पुगेको छ। नेपालकै कुरा गर्ने हो भने पनि नेपालमा पनि महिला हिंसाका नयाँनयाँ घटनाहरू दिनानुदिन सुन्नमा आइरहेका छन्। आज पनि समाजका सबै क्षेत्रमा महिलामाथि लैगिक भेदभाव कायमै छ । महिलाहरू जति अन्यायमा परे पनि महिला भएकै कारणले सहन बाध्य छन्। आखिर कति दिन चल्छ महिलामाथि यो पुरुषप्रधानको थिचोमिचो ? नेपाली समाजमा पहिलेदेखी फैलिएको पुरातन पितृसतात्मक सोच नै नारी हिंसाको प्रमुख कारकतत्व हो भन्ने कुरामा शायदै कसैको दुईमत नरहला । त्यसैले नारी दिवस औपचारिकतामा मात्र सीमित नपारौं। वास्तविक नारी दिवसले तबमात्र सार्थकता पाउछ जब स्वयं समाजका महिला र पुरुषमा चेतनाको विकाश हुन्छ। जब कुनै पनि बालबालिकाले पढ्न गएको स्थानमा शरीरमा एसिड छ्यापिनु नपरोस्। वास्तवमा नेपालको हरेक क्षेत्रका महिला आज पनि घरेलु हिंसाबाट पीडित छन्। महिलाहरूले बुझ्नुपर्ने कुरा के हो भने, वर्षमा एकदिन नारी दिवस मनाएर पुरुषहरूका अगाडि भाषण छाटेर पुरुषहरूले नारीहरूलाई केकेन दिएको जस्तो देखाउन खोज्नुभन्दा महिला–महिलाबीचको हिंसा रोकेर पहिला उदाहरण बन्नुपर्दछ। यहाँ समाजमा महिला भएर महिलालाई हिंसा गरेका कर्यौ घटना छन् जसले गर्दा महिला दोहोरो मारमा परिरहेका छन्। अनि पुरुषले नारी हक र अधिकारका ठूल्ठूला भाषण गर्नेभन्दा पनि हरेक पुरुषले वर्षभरि नै आ–आफ्नो घरमा नारीमैत्री वातावरण निर्माण गरौं। अनिमात्र घरबाट शुरू हुँदै गाउँ, समाज हुँदै राष्ट्रिय स्तरमा नारीको सम्मान हुन्छ। हामी सबै मिली नारी पुरुषलाई साच्चै नै एक रथका दुई पांग्राका रूपमा लगौं । यसो गर्दा मात्र वास्तविक महिला दिवस मनाएको सार्थकता हुनेछ ।