ह्याकरहरुले अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले विकास गरेको साइबर हमलामा प्रयोग गरिने टूललाई चोरी गरेरएकैपटक विश्वका ९९ देशमा साइबर हमला गरे । जसका कारण ९९ देशका लाखौँ कम्प्युटरहरु एकसाथ साइबर हमलामा परेका छन् । कम्प्युटरहरुमा ह्याकरहरुले साइबर हमला गरेर कम्प्युटर लक गरिदिएका छन् र लक गरेका कम्प्युटर खोल्नका लागि हरेक कम्प्युटरसँग ३ सय डलर फिरौति मागेका छन् ।
साइबर सेक्योरिटी र्फम एभास्टले वान्नाक्राइ तथा यस्तै नामका अन्य विभिन्न फिरौति भाइरसका ७५ हजार मामिला विश्वभरमा फेला पारेको जनाएको छ । एभास्टका प्रतिनिधि ज्याकुब क्रोस्टेकले यो निकै भयानक रहेको बताएका छन् ।
ह्याकरहरुले डिजिटल क्रिप्टोकरेन्सी बिटकोइन मार्फत फिरौति मागिरहेका छन् । साइबर आक्रमणका पीडितहरुले फिरौति रकम हमलाकारीहरुलाई बुझाइरहेको पाइएको छ किनकी बिटकोइनमा रकम जम्मा हुन थालिसकेको छ ।
समाचार अनुसार साइबर आक्रमणको सबैभन्दा ठूलो प्रभाव रुसमा परेको छ । रुसका गृहमन्त्रीले विन्डोज अपरेटिंग सिस्टमयुक्त कम्प्युटरमा आक्रमण भएसँगै विज्ञहरुले भाइरस पत्ता लगाइसकेको जनाएका छन् ।
आक्रमणबाट बेलायतको सरकारी नेसनल हेल्थ सर्भिस देखि लिएर जर्मनीको स्थानीय रेलवे टिकट मेसिन तथा इटालीको विश्वविद्यालय कम्प्युटर ल्याब सम्म प्रभावित भएका छन् ।
स्पेनको टेलिकम कम्पनी टेलेफोनिका, पोर्चुगलको पोर्चुगल टेलिकम, डेलिभरी कम्पनी फेडेक्स, तथा रुसको दोश्रो ठूलो मोबाइल फोन नेटवर्क मेगाफोनमा पनि साइबर हमला भएको छ ।