Breaking News

नेपालमा ‘हङकङ फ्लू’ फैलिँदै, राजधानीमा उच्च जोखिममा दोलखामा मात्रै तीन हजार संक्रमित

Feb Tue 2020 05:40:41

264 views

नेपालमा ‘हङकङ फ्लू’ फैलिँदै, राजधानीमा उच्च जोखिममा दोलखामा मात्रै तीन हजार संक्रमित

राजधानीलगायत मुलुकका केही जिल्लामा ‘हङकङ फ्लू’ प्रकोपको संक्रमण फैलिएको छ। राजधानी र बाहिर केही जिल्लाका बिरामीबाट नमूना संकलन गर्दा ‘हङकङ फ्लू’को संक्रमण फैलिएको भेटिएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार फेब्रुअरीको पहिलो साताबाट सुरू भएको यसको संक्रमणबाट दोलखा जिल्ला अत्यधिक प्रभावित बनेको छ। दोलखाको चरिकोट नगरपालिका र सुन्द्रावति गाविसमा ‘हङकङ फ्लू’का बिरामी धेरै भेटिएका छन्।

महाशाखाका निर्देशक बाबुराम मरासिनीका अनुसार दोलखामा तीन हजार बिरामी फेला परेका छन्। उनका अनुसार अछाम र दैलेखमा पनि यो संक्रमण फैलिइसकेको छ। स्वासप्रश्वासबाट सर्ने रोग भएकाले यो संक्रमण देशैभरि फैलिन सक्ने महाशाखाको चेतावनी छ।

‘सरूवा रोग भएका कारण यो रोगको संक्रमण देशभरि नै पुग्न सक्छ,’ मरासिनीले सेतोपाटीसँग भने, ‘सचेतना जगाउनेबाहेक यसको उपचार छैन।’ तीन चार सय जनामध्येमा एक दुई जनाको मात्र ज्यान खतरामा पर्नसक्ने जनाउँदै महाशाखाले ‘सचेत हुन’ सल्लाह दिएको छ।

‘यो एकप्रकारको भाइरस हो, यसले मान्छेलाई मारिहाल्दैन तर अत्यन्तै सताउँछ,’ मरासिनीले भने, ‘औषधि खाएर निको हुने हैन, आफ्नो व्यक्तिगत सरसफाइ र हिँडडुल गर्दा विचार पु¥याउनुपर्छ।’ महाशाखाका अनुसार यो संक्रमण तीन चार वर्षयता नेपालमा देखिएको हो। एकपटक देखिएर हराएको यो रोगको प्रकोप यसपालि निकै नै फैलिइसकेको जानकारी महाशाखाले दिएको छ।

सन् २०१४ मा नेपालमा नमूना संकलन गर्दा १४ जना संक्रमित भेटिएका थिए। त्यसयता हराएको यो संक्रमण फेरि आइपुगेको छ। यसपालि नमूना संकलनमा १२ हजार भेटिइसकेका महाशाखाले जनाएको छ।

राजधानीमा कति मान्छेमा संक्रमण छ भन्ने महाशाखाले जानकारी दिन सकेको छैन। ‘रगत परिक्षण भइरहेको छ, तथ्यांक संकलनकै क्रममा छौं,’ मरासिनीले भने। इन्फ्लुएन्जा ‘ए’ नामको यो भाइरस सरेपछि मान्छे पाँच÷सात दिनसम्म पीडित हुने गरेका छन्। रोग प्रतिरोधात्मक क्षमता कम भए यसले हदैसम्म सताउने महाशाखाले बताएको छ।

यो भाइरसले अत्यधिक सताए निमोनियाँ हुने र मान्छेको ज्यान जोखिममा पर्ने सम्भावना बढी हुन्छ। यसको प्राथमिक उपचार भने आफैं गर्न पनि सकिन्छ र यदि गाह्रो भए स्वास्थ्य संस्थाको सम्पर्कमा गइहाल्न महाशाखाले सुझाएको छ।

सामान्य खालको भए पारासिटामोल प्रयोग गर्न महाशाखाको सुझाव छ। संक्रमण बढ्दै गए डाक्टरको सिफारिसअनुसार ‘टामिफ्लू’ औषधि प्रयोग गर्न सकिन्छ। तर यो संक्रमणबाट जोगिने प्रमुख उपाय भनेको सरसफाई नै हो ।

खोकी लाग्ने, जीउ दुख्ने, घाँटी दुख्ने, कमजोरी महसुस हुने र अन्त्यमा ज्वरो आउन थाले ‘हङकङ फ्लू’ भएको हुनसक्ने महाशाखाले बताएको छ। यो संक्रमणबाट जोगिन मुख धुने, मास्क लगाउने, भीडभाडमा नजाने, भेन्टिलेशन भएको कोठामा बस्ने, एक मिटर परको दुरी कायम गर्ने, अरुसँग नसुत्ने, हात नमिलाउने लगायत सचेतना अपनाउनु पर्छ। संक्रमित बिरामीले यो पालना नगरे अर्को मान्छेमा सजिलै सर्छ।

यो संक्रमणले मुटुको रोग, मृगौला रोग, गर्भवती महिला, कुपोषण भएका मान्छेलाई धेरै नै सताउने जनाइएको छ। जनसंख्या बढी भएको, फोहोरमैला बढी उत्पादन हुने क्षेत्रमा यो संक्रमण छिटै फैलिने अधिकारीहरूले जनाएका छन्।

सन् १९६७ मा हङकङमा यो संक्रमण देखिएको थियो। त्यसबेला हङकङमा झन्डै सात लाख मान्छेको मृत्यु भएको थियो। त्यतिबेला हङकङ आसपासका देशमा पनि यो संक्रमण देखिएको थियो। त्यसयता हराएको यो प्रकोप नेपालमा तीन-चार वर्षदेखि देखिन थालेको थियो। तर यसपालि यो प्रकोप देशव्यापी बन्ने खतरा बढेको अधिकारीहरू बताउँछन्।

-setopati.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?