Breaking News

जनयुद्धमा बाँचेका योद्धाको सत्य कथा यस्तो

Feb Tue 2020 05:40:20

567 views

जनयुद्धमा बाँचेका योद्धाको सत्य कथा यस्तो

विमल योगी

काठमाडौं, १ फागुन । तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध सुरू गरेको आज ठीक २० वर्ष पूरा भइ २१औँ वर्ष प्रवेश गरेको छ । माओवादी भन्नेवित्तिकै सबैको मुटूले ठाउँ छाड्थ्यो । सबै डराउँथे । तर अहिले अवस्था त्यस्तो छैन । बरु माओवादी आन्दोलन तितरवितर भएको छ । नेकपा (माओवादी) विभाजन भएर अहिले आधा दर्जन भइसकेका छन् । ती विभाजित माओवादीहरूले आफूलाई मुल माओवादी दाबी गर्ने गरेका छन् ।

राजनीतिक र सांगठनिक रुपमा कमजोर देखिएको माओवादीले मुलुक र जनताका लागि ठूलो सपना देखाएको थियो । दश वर्षसम्म जनयुद्ध पनि गर्‍यो । जनयुद्धका बेला १५ हजारको ज्यान गयो । त्यतिनै संख्यामा बेपत्ता पनि भए । ती दुबै पक्षबाट भएका थिए । सबै कार्यकर्ताको थोपाथोपा सहयोग मिलेर जनयुद्ध र माओवादी बनेको थियो ।

अहिले माओवादी आन्दोलन अझ भनौँ ‘जनयुद्ध’ सपना जस्तो इतिहाँस बनेको छ । उक अर्कामा आरोप प्रत्यारोमा जनयुद्ध लडेका नेताहरू लागेका छन् । अझ कोही नेता त भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । यस्तो अवस्थामा जनयुद्ध लडेका र सुरुवातीदेखि नै माओवादी चिनेका होनहार युवा पंक्तिले कसरी लिएका छन् त जनयुद्धको २१औँ दिवस ? त्यसलाई यहाँ केही भए पनि स्पष्ट पार्न खोजिएको छ ।

मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)का युवा नेता रामदीप आचार्य र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका अर्का युवा नेता तिलक मल्ल ‘क्षितिज’सँग कुराकानी गर्नुका साथै उनीहरूका जनयुद्धका संस्मरण राखिएको छ ।

‘जनयुद्ध निश्कर्षमा पुगाउने सन्दर्भमा त्रुटिहरू भएकै हो’

Ramdeep Acharya– रामदीप आचार्य, नेता, नेकपा (क्रान्तिकारी माओवादी)

माओवादी जनयुद्ध नेपालमा अर्ध सामन्ती, अर्ध उपनिवेश नेपाललाई जनयुद्धको माध्यबाट मुक्त गरेर स्वाधीन र आत्म निर्णयको विकास गर्ने उदेश्यसहित जनताको जनवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने त्यसकोे मुल उदेश्य थियो । संसदीय राजतन्त्रलाई विस्थापित गर्ने र जनताको जनवादी गणतन्त्रलाई स्थापित गर्ने यसको मुल उदेश्य थियो । त्यो मुल उदेश्यका निम्ति जनयुद्धमा जनताका सर्वोत्तम छोराछोरीहरूले आफ्नो जीवन बलिदान गरे ।

रगतले धर्तीलाई सिञ्चित गरेर माओवादीलाई योगदान प्रदान गरे । आन्दोलनको विकास प्रक्रियासँग सँगै त्यसमा समस्याहरू पनि पैदा भए । ती समस्याहरू मुख्य गरी पार्टीभित्र पैदा भएका राजनीतिक विचलनहरू थिए । त्यो विचलन विभिन्न रुपमा कहिले दक्षिण रुपमा । कहिले वामपन्थी । कहिले मध्यपन्थी अवसरवादका रुपमा त्यो अभिव्यक्त हुन्छ ।

मुलतः अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपाली कम्यनिष्ट आन्दोलन दक्षिणी विचलन यसको मुख्य समस्याको रुपमा रहेको छ । यो विचलनले अन्त्यमा माओवादी आन्दोलनलाई काफी हदसम्म नोक्सान गर्‍यो । माओवादी आन्दोलन एउटै धारामा नरहेर त्यो विभिन्न समूहहरूमा विभाजित हुने स्थिति बन्यो । अहिले माओवादीका पाँच/सात वटा गुट/फुटहरूमा जनयुद्धको पहलकर्ता माओवादी विभाजित भएको छ ।

अहिले माओवादी खासमा भन्दाखेरी एउटा सग्लो पार्टी रहेन । एउटा आन्दोलनको रुपमा रहेको छैन । यो विभिन्न समूहहरूमा विभाजित भएको छ । यसले माओवादीको मुल उदेश्यमाथि पनि कुठाराघात गरेको छ । यसका समर्थक शुभचिन्तक जनसमुदायहरू रगत, आँशु र पसिनाले यो आन्दोलनलाई सिञ्चित गर्नेहरूलाई निरास तुल्याएको छ । त्यसैले फेरि यसको समीक्षा आज दश वर्ष युद्ध लडी सकेपछि ।

झण्डै दश वर्ष शान्ति प्रक्रियामा झरिसकेपछि एउटा नयाँ ढङ्गको समीक्षा गर्ने ठाउँमा माओवादी आन्दोलन आइपुगेको छ । हाम्रो समस्याहरू के रहे र हाम्रा उपलब्धिहरू के रहे ? भन्ने कुराको दुइटै पाटोको समीक्षा गर्ने ठाउँमा आइपुगेको छ । राजनीतिक रुपमा माओवादी आन्दोलन जुन जागरण दियो, जनतालाई अधिकार सम्पन्न बनायो । त्यसरी नै यसले जनतालाई अधिकार सम्पन्न गराउने सन्दर्भमा राजनीतिक जागरणको हिसावले माओवादी आन्दोलन आज पनि अदीतीय रहेको छ । तर यसलाई निश्कर्षमा पुगाउने सन्दर्भमा आन्तरिक त्रुटिहरू रहेका छन् ।

यी त्रुटिहरूलाई सच्याउँदै माओवादी धाराहरूलाई पुनः एकतावद्ध गर्ने र मुल उदेश्यमा अविचलित रहने आजको जुन डिउटी हो, जुन दायित्व हो त्यो धारातिर फेरि नयाँ शिराबाट बहस सुरू भएको छ । मलाई लाग्छ माओवादी आन्दोलन रुपान्तरण र एकता, बिचलन र विभाजन समस्या थियो भने रुपान्तरण र एकता आजको निकास हो । यो निकासका निम्ति हामी छलफल सुरू गरेका छौँ । उदेश्यप्रति अविचलित हुने हो र आफ्नो निष्ठाप्रति इमान्दार रहने हो भने माओवादीहरू एकठाउँमा आउनुको विकल्प छैन । र यो सम्भव पनि छ ।

‘हामी नै ओरजिनल माओवादी हौँ’

Tilak Malla 1– तिलक मल्ल ‘क्षितिज’, नेता, नेकपा माओवादी

नेपाली जनताको राष्ट्रिय स्वाधीनता, समृद्धि, मजदुर, किसान, सर्वहाराको मुक्तिको लागि जनयुद्ध थालनी गरेको दिन भएको हुनाले २१औँ जनयुद्ध दिवसलाई विशेष अवसरको रुपमा मान्दैछौँ । अरु माओवादीले के गर्छन् त्यो उहाँहरूको कुरा हो । हाम्रो माओवादीले यसलाई नयाँ आन्दोलनको विषयमा लिएको छ ।

खास गरेर जनयुद्धको उपलब्धिहरूको र जनताको परिवर्तनको आकंक्षालाई एउटा शंखघोष गरेको दिनको रुपमा यसलाई हाम्रो पार्टीले लिएको छ । जनताहरू माओवादी आन्दोलनको मुल मर्म र मूल्य र मान्यताहरूविरुद्ध जनताहरूलाई डोमिनेट गरेको हुनाले त्यसका विरुद्ध एउटा गर्भानुभूतिसहित अधिकारका लागि ह्याभी गराउनको निम्ति यसलाई प्रभावमा लिन जनयुद्ध दिवस मनाउँदै छौँ ।

खास गरेर हाम्रो पार्टीले जनयुद्ध र जनताले प्राप्त गरेको उपलब्धिहरूलाई टेक्दै आगामी दिनमा अधुरो तथा क्षतिविक्षत भएको माओवादी आन्दोलन र क्षतविक्षत भएको क्रान्तिलाई केन्द्रिकृत संगठित र सिङ्गो माओवादीलाई एकतावद्ध बनाएर महासचिव ‘विप्लव’को नेतृत्वमा एकपटक नेपालमा जनताको आकंक्षालाई पूरा गर्न चाहन्छौँ । हामी स्वाधीन राष्ट्र, समृद्ध राष्ट्र, मुक्त राष्ट्र बनाउन चाहन्छौँ । जनतालाई सबै खाले बन्धनबाट मुक्ति दिलाउन चाहन्छौँ । माओवादी आन्दोलन एउटा आधा उपलब्धिहरूमा गएर टुङ्गिएको छ ।

यसको सम्पूर्ण सपना पूरा भएको छैन । मुख्य लक्ष्य पूरा गर्नुपर्ने दायित्व आएको छ । त्यो लक्ष्य पूरा गर्ने हाम्रो पार्टी नेकपा माओवादीले मात्रै पूरा गर्ने सोँचेको छ । असल माओवादी महासचिव ‘विप्लव’ले नेतृत्व गरेको माओवादी नै हो । हाम्रो पार्टीले जनताको सपनालाई केन्द्र बनाएको छ । जनयुद्धलाई केन्द्र बनाएको छ । ‘विप्लव’ले नेतृत्व गरेको माओवादी ओरजिनल माओवादी हो । पार्टी एकीकरण अनिवार्य छ । तर कुरा के हो भने माओवादीहरूको नेतृत्वमा एकता हुनु पर्छ । खास गरेर माओवादी मूल्य र मान्यता तथा जनताको सपनामा खाका हुनु पर्छ ।

हामी एकता चाहन्छौँ । जनताको अधिकार र स्वाधीनताको सपना साकार पार्न चाहन्छौँ । त्यसका लागि नेपाली जनताको जनयुद्धको सपनाहरू, आकंक्षाहरू, स्वाधीन राष्ट्रका रेखाचित्रहरू प्रष्ट नभइकन एकताको औचित्य हुँदैन । माओवादीहरूको एकता अनिवार्य छ । एकता र क्रान्तिमा नै नेपालको भविष्य रहन्छ । एक भएर बस्न नसक्नुमा धेरै कालखण्ड छन् । मतभिन्ताहरू छन् । वैचारिक मनमुटावहरू छन् । बुझाइ, सोँचाइ र शान्ति प्रक्रियामा आइ सकेपछि फुटको कुरा छ । एकीकृत जनक्रान्तिको विचारद्वारा सबैलाई एकतावद्ध बनाएर सिङ्गो माओवादीलाई गोलबन्द बनाउने हाम्रो पार्टीले सपना लिएको छ ।

रैकर बजारमा म यसरी बाँचेको थिएँ

Tilak Malla 1– तिलक मल्ल ‘क्षितिज’, नेता, नेकपा माओवादी

जनयुद्ध चरम उत्सकर्षमा थियो । २०५६ सालको चैत ३० गतेको दिन थियो । बिहान ९ बजेको समय भएको थियो । सल्यान जिल्लाको माझकाँडा गाविसको रैकर बजारमा नेपाल प्रहरीसँग जम्का भेट भयो । हामी तीन जना थियौँ । सल्लीबजार–सुर्खेत सडक खण्डमा पर्ने रैकर बजारमा पार्टीको जिम्मेवारी अनुसार मसहित तीन जना वालपेन्टिङ र पम्प्लेटिङ गर्न जाँदै थियौँ ।

त्यही बेला सार्वजनिक बस आयो । बसलाई रोक्यौँ । बसभित्र र छतमा प्रहरी बसेका रहेछन् । हामीले थाहा पाएनौँ । थ्री–नट–थ्री राइफल बोकेका भुमप्रसाद डिसी राइफल पड्काएर माथिको गाउँतिर भाग्नु भयो । पेन्टिङ्को डिब्बा बोकेका हीरालाल केसी गहुँ बारीमा डिब्बा फालेर भाग्नु भयो ।

म भाग्न सकिन । म बजारमा रहेको पसलमा (कपडा र किरानाका सामान राखिएको) प्रवेश गरेँ । सो पसलकी साहुनीले आफू बस्ने ठाउँ छाडेर मलाई साहु बनाइदिनु भयो । मैले पनि पसलको साहु जस्तै अभिनय गरेर ज्यान जोगाए । प्रहरीले चिन्न सकेनन् । पसलमा आएर प्रहरीले विस्कुट पनि मागे । म व्यस्त भएको नाटक गरेर उनै साहुनीलाई विस्कुट दिन लगाए । त्यस बेला म बालबाल बचेँ । प्रहरीले पक्राउ गरेको भए मलाई त्यहीँ गोली हानेर मार्थे ।

पछि अर्को स्थानमा भएको कारबाहीमा भुमप्रसाद डिसीको मृत्यु भयो । उहाँ शहीद बन्नुभयो । हीरालाल केसी अहिले कमाउन खाडी मुलुक जानु भएको छ । सल्यान जिल्ला जाँदा रैकर बजारमा जाने गरेको छु । मेरो ज्यान जोगाउन सहयोग गर्ने ती साहुनीलाई भेट्ने गरेको छु । उहाँको नाम सुशीला केसी हो । मलाई बचाउन उहाँले ठूलो मद्दत गर्नु भएको थियो । (जनयुद्धको बेलाको संस्मरण)

रामदीप हिरासतमा मरिएको थियो

Ramdeep Acharya– रामदीप आचार्य, नेता, नेकपा (माओवादी क्रान्तिकारी)

२०५१ साल फागुन– १ गतेका दिन पार्टीको निर्णयअनुसार र हामीलाई दिइएको जिम्मेवारी लिएर मसहित ३ जना जाजरकोट जिल्लाको जगतीपुर गाउँमा पोष्टर टाँस्न पुगेका थियो । म, गणेश शर्मा र गोविन्द आचार्य मिलेर पोष्टर रातभरिमा टाँसियो । यो जिम्मेवारी पूरा गर्दा एउटा चौकी कब्जा गरेको अनुभूति महशुस भएको थियो । त्यति बेलाका हामी तीन जनामध्ये गोविन्द आचार्य बेपत्ता हुनुहुन्छ । गणेश शर्माले आफ्नो निजी जीवन विताइ रहनु भएको छ । म राजनीतिमा सक्रिय छु । त्यति बेलाको तरङ सम्झिँदा अहिले पनि म रोमाञ्चित हुन्छु । त्यसरी सुरू गरिएको थियो, जनयुद्ध । अहिले यो अवस्थामा आइपुगेको छ ।

त्यसैगरी, २०५५ सालमा ‘किलोसेरा टू’ अप्रेसनका बेला मसहितका केही साथीहरू पक्राउ पर्‍यौँ । मलाई हिरासतमा अत्यन्तै यातना दिइयो । मेरो साथी भूमिलाल बस्नेतलाई हिरासतमा प्रहरीद्वारा यातना दिएर हत्या गरियो । भूमिलाल अहिलेका गृहमन्त्री शक्ति बस्नेतको भर रहेको कालेगाउँ साथी हुनुहुन्थ्यो । भूमिलालको हत्यालाई रामदीपको मृत्यु भयो भनेर जाजरकोटभरि हल्ला फिजाइयो । मलाई अन्तिम श्रद्धाञ्जलि दिन भनेर मेरा केही साथीहरू कारागार पनि आइपुगेका थिए । तर म ज्युँदै रहेको थाहा पाएपछि उहाँहरू फर्केर जानु भो । (जनयुद्धको बेलाको संस्मरण)

- Dainiknepal.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?