Breaking News

प्रधानमन्त्रीले भने, ‘नाकाबन्दी खुल्ने संकेत आयो’ केही दिनमै आपूर्ति सहज हुन्छ : भारतीय राजदूत

Feb Tue 2020 05:40:11

505 views

प्रधानमन्त्रीले भने, ‘नाकाबन्दी खुल्ने संकेत आयो’ केही दिनमै आपूर्ति सहज हुन्छ : भारतीय राजदूत

प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी खुल्ने संकेतहरु आएको बताएका छन् । सरकारी निवास बालुवाटारमा आइतबार साँझ सचिवहरुलाई बोलाएर प्रधानमन्त्रीले नाकाबन्दी खुल्ने संकेत पाएको बताएका छन् । ‘नाकाबन्दी खुल्ने सकारात्मक संकेतहरु देखिएका छन्,’

नाकाबन्दीले नेपाललाईमात्र नभई स्वयं भारतलाई पनि घाटा हुने बताउँदै प्रधानमन्त्रीले अविलम्ब खोल्नुपर्ने दोहोर्‍याए ।

प्रधानमन्त्री ओलीले आयात ठप्प हुँदा जनताको दैनिकी कष्टकर भएको भन्दै सरकारी तयारीमा कुनै कमी आउन नदिन पनि निर्देशन दिए । ‘नाका खोल्ने/नखोल्ने भारतको कुरा हो,’ उनले सचिवहरुलाई निर्देशन दिए, ‘तपाईंहरुले उपलब्ध स्रोत साधनलाई सही सदुपयोग गर्दै जनताको हातसम्म पुर्‍याउनुहोला ।’

एक/दुई दिनमै आपूर्ति सहज हुन्छ : भारतीय राजदूत

कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले भारतीय सीमामा भइरहेको आपूर्ति असहजताका कारण विद्यालय, अस्पताल र नेपाली जनताको दैनिक जनजीवन दिनानुदिन कष्टकर हुँदै गएकाले आपूर्ति व्यवस्थालाई सहज गराउन भारतीय राजदूत रणजीत रायलाई आग्रह गरेका छन् ।

आफ्नो निवास बोहोराटारमा आइतबार भेटवार्ता गर्न आएका भारतीय राजदूत रेलाई पौडेलले सिमामा नेपाल आउने सामान आयातमा रोकावट नगर्न आग्रह गरेको जानकारी उनका सहयोगी चिरञ्जीवी अधिकारीले दिए ।

‘नेपालभित्रको समस्या हाम्रो हो, यहाँको समस्या हामी आफैं समाधान गर्छौं, बाहिरबाट आउने सामानमा भएको रोकावट सहज र खुल्ला होस्’ उपसभापति पौडेलको भनाइ उद्धृत गर्दै अधिकारीले भने ।

पौडेलले तराई–मधेसमा देखिएको समस्या नेपालीको आफ्नै समस्या भएको र त्यसलाई उचित निकास दिन नेपालीहरू नै सक्षम भएको भन्दै नेपाल भित्रिने वस्तुमा सीमामा कुनै पनि प्रकारको रोकावट हुन नहुनेमा जोड दिएको पौडेलका सहयोगी अधिकारीले बताए ।

काँकडभिट्टाबाट ३४ ट्याङ्कर तेल भित्रियो

वीरगन्ज घटनापछि एक थोपो तेल नपठाएको भारतले आइतबार साँझ एकैपटक ३४ ट्याङ्कर पेट्रोलियम पदार्थ छाडिदिएको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट साँझपख २३ ट्याङ्कर डिजेल, ८ ट्याङ्कर पेट्रोल, २ ट्याङ्कर मट्टितेल र एक ट्याङ्कर हवाई इन्धन भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

चीनको साढे ६ लाख लिटर पेट्रोल नेपाल आयो

चीनले अनुदानमा दिएको एक हजार मेट्रिकटन पेट्रोलियम पदार्थ मध्ये आधा नेपाल भित्रिएको छ । आइतबारमा २७ वटा ट्यांकरले साझ मात्रै २ लाख ४८ हजार लिटर रसुवागढी नाकाबाट भित्रेको रसुवा भन्सार अधिकृत श्याम बस्नेतले जानकारी दिए ।  अहिलेसम्म ६ लाख ५५ हजार लिटर पेट्रोलियम पदार्थ नेपाल भित्रेको हो । अव ६ लाख ४५ हजार  पेट्रोल नेपाल ल्याउन बाँकी छ । हालसम्म जम्मा ७१ ट्यांकर पेट्रोलिम पदार्थ आएका छन् ।

नेपाली ट्यांकरले चीनीया दूतावासबाट चालक, सहचालक र ट्यांकर नम्बर चीनको केरुङ छिर्ने अनुमति दिएपछि ती ट्यांकरले नेपाल आयल निगम मार्फत पेट्रोलियम पदार्थ ल्याएका हुन् । ल्याइएका पेट्रोलियम पदार्थ युरो स्ट्यान्डर चार रहेको आयल निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?