नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी प्राध्यापक तथा गायिका शोभा तिवारी लोहनीको काव्यकृति ‘आमा ! मेरी आमा’को लोकार्पण भएको छ ।
शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् डा.तुलसी दिवसको प्रमुख आथित्यमा उक्त पुस्तकको लोकार्पण गरियो । उनका दुई छोरी ऋचा शर्मा तिवारी, स्मृति थपलिया र छोरा आशिष तिवारीले उनको स्मृतिमा ‘शोभा-अर्जुन संगीत कोष’ गठन गरेका छन् ।
यसै संगीत कोषले शोभा तिवारीद्वारा लिखित कविता संकलित गरी काव्यकृति ‘आमा ! मेरी आमा’ प्रकाशमा ल्याएको हो ।
पुस्तक लोकार्पण कार्यक्रममा हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, मञ्जु काँचुली र डा.तुलसी दिवसले स्वर्गीय शोभाको संगीत क्षेत्रमा योगदान र काव्यकृतिमाथि चर्चा गरेका थिए । कार्यक्रमका शोभाका नातिनी रचईता थपलिया र उसा पाण्डेले मेरी नातिनी र आमा मेरी आमा कविता बाचन गरेका थिए । प्रमोद प्रधान यो पुस्तकका सम्पादक हुन् ।