Breaking News

सेनासहित चारै निकायलाई नाकाबन्दी र आन्दोलनलाई मध्यनजर गरेर तत्काल सुरक्षा एक्सन प्लान बनाउन प्रधानमन्त्रीको निर्देशन

Feb Tue 2020 05:40:22

553 views

सेनासहित चारै निकायलाई नाकाबन्दी र आन्दोलनलाई मध्यनजर गरेर तत्काल सुरक्षा एक्सन प्लान बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले तराई आन्दोलन र भारतको नाकाबन्दीपछि उत्पन्न मानवीय संकटको सामना गर्न तत्काल 'एक्सन प्लान' बनाउन सेनासहित मुलुकका चारै सुरक्षा निकायलाई आदेश दिएका छन्।

मंगलबार साँझ राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाई प्रधानमन्त्री ओलीले चारै सुरक्षा निकायलाई त्यस्तो योजना गम्भीर रूपमै बनाएर पेस गर्न आदेश दिएका हुन्। बिहान १०:३० बजे भारतीय राजदूत रन्जित रेलाई बालुवाटारमै भेट गरेका प्रधानमन्त्रीले भारतले लगाएको नाकाबन्दीपछिको सुरक्षा अवस्थाको गम्भीरतालाई सामना गर्न सक्ने गरीको योजना आवश्यक भएको बैठकमा बताएका थिए।
उनले भारतले केही सकारात्मक संकेत दिए पनि सुरक्षा योजना बनाउनु आवश्यक रहेको बताएका थिए।उच्च सुरक्षा स्रोतका अनुसार गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सहभागी गराएर इन्टिग्रेटेड (एकीकृत) सुरक्षा संयन्त्रसहित आवश्यक परेको स्थानमा परिचालन गर्न सकिने धारणा राखेको थियो।
गृहले तराईका स्थानमा सुरक्षाका साथमा विकासलाई समेत एकीकृत रूपमै लैजाने रणनीति तय गर्नुपर्ने धारणा राखेको थियो।बैठकमा नेपाली सेनाले तराई र नाकामा देखिएका समस्यालाई सम्बोधन गर्ने रणनीतिको आवश्यकतालाई जोड दिएको थियो भने प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले नाकाबन्दीपछिको भारतसँगको इन्धनसहितको सामान आयातनिर्यातको अवस्था र वीरगन्ज क्षेत्रमा जारी प्रदर्शन र सुरक्षा अवस्थाबारे तथ्यांकसहितको जानकारी गराएका थिए।
बैठकमा खुकुलो पारिएको भनिए पनि मंगलबारसमेत इन्धनका गाडी नेपाल प्रवेश रोकेको जानकारी सुरक्षा निकायले दिएका थिए।सुरक्षा ब्रिफिङपछि तराई र नाकाका बारेमा तत्काल ठोस योजना बनाउने निर्णय गरिएको स्रोतले बतायो।
प्रधानमन्त्रीको अध्यक्षतामा बसेको नयाँ सरकारको पहिलो सुरक्षा परिषद् बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीम रावल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, मुख्यसचिव सोमलाल सुवेदी, प्रधानसेनापति राजेन्द्र क्षेत्री, रक्षा सचिव ईश्वरी पौडेल तथा अन्य सुरक्षा प्रमुखको सहभागिता थियो।

- Annapurnapost.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?