धादिङको त्रिपुरेश्वर गैरिगाउँमा गाविसमा वि.सं २०३५ सालमा जन्मिएका अन्जन थापा (कुमार) एउटा सामान्य सैनीक परिवारका जेठा छोरा थिए । अन्जानबाहेक आमा, बुवा, एक भाई र एउटी दिदि थिइन् उनको परिवारमा । पढ्नमा सामान्य अन्जन एउटा ख्यातीप्राप्त व्यक्ति बन्न चाहान्थे । सपनाहरुको ठुलै थैलो बोकेर वि.सं २०५० सालमा रित्तो हात काठमाडौ छिरेका अन्जनले क्याम्पस जीवनमा पैसाको अभाव झेल्नुपर्दा जागिरको अभिलाषमा निकै तनावको सामना गरे । तर गाउँका एकजना जानपहिचानका दाईले टे«किङ अफिसमा झोला बोकेर टुरिस्ट र टुरिस्ट गार्डसंग हिड्ने जागिर लगाईदिए । टुरिस्टको झोला बोकेर जीवन संघर्ष सुरु गरेका अन्जानको झोले जागिरदेखि अरबपतिसम्मको यात्राको विषयमा ICT खबरका लागि पत्रकार नबराज कुँवरले गरेको अन्तरंग कुराकानीको अंश ।
बुबा मलाई आर्मी बनाउन चाहानुहुन्थ्यो हो, धादीङबाट २०५० सालमा म काठमाडौँ छिर्दा मसंग ‘मेरो भन्नु’ केही थिएन । हुन त मलाई सामान्य आर्थिक सहायताको लागि मेरा बुवा हुनुहुन्थ्यो । मेरो पारिवारिक आर्थिक पृष्ठभुमी सामान्य थियो । ‘धेरै भएका’हरुमा पनि हामी पर्दैन थियौँ र ‘हुँदै नहुने’मा पनि पर्दैनथ्यौँ । बुवाले सामान्य सपोर्ट गर्ने भने पनि म आफैँ केही गर्न चाहान्थेँ । बुबा मलाई आर्मी बनाउन चाहानुहुन्थ्यो । तर ‘म अन्जान थापा’ भनेर अरुको सामु आफ्नो छुट्टै पहिचान बनाउँन चाहान्थेँ । त्यसैले त आर्मीको जागिरप्रति विकर्षित थिएँ । मैले त्यो जागिर खाएँ भने म सँधै मेरै बुबाप्रति आश्रित हुनुपर्दथ्यो । त्यसैले मैले मेरो बुवाको ‘आर्मी जागिर खा’ भन्ने प्रस्ताव अस्वीकार गरेँ । धादीङको स्थानीय विद्यालयमा १० कक्षा उत्तिर्ण गरेपछि म पढ्नको लागि भनेर काठमाडौँ आएको थिएँ ।
पत्रकार बन्ने इच्छा म आफ्नो परिचय विस्तार गर्न चाहान्थेँ । म पत्रकारीतामा इच्छुक थिएँ । त्यसैले म पत्रकारीता विषय लिएर २०५० सालमा आर आर क्याम्पमा भर्ना भएँ । तर तत्कालीन अवस्थाले मलाई पत्रकारीता पट्टि जान दिएन । म पत्रकारीताको सपनाको तिलाञ्जली दिएर तत्कालीन समस्या टार्नतिर लागेँ । मलाई रुपैयाँबाट आइपर्न सक्ने समस्याहरुदेखि सँधै डर लाग्थ्यो । तर संगसंगै मसित हिम्मत पनि थियो । यो भएन भने त्यो गर्छु भन्ने योजनासहित म काम सुरु गर्थेँ ।
भाडाको एउटा कोठामा ४ जना बस्थ्यौँ डेरा जीवन त्यसै पनि कठीन नै हुन्छ । त्यतिबेला एउटा कोठामा चार जना बसिन्थ्यो । एउटै कोठामा बस्दा सस्तो पर्ने भएकाले भाई र दिदिहरुसहित चार जना बस्थ्यौँ । संधैभरि घरबाटमात्रै पैसा पठाएर घरमा दुख दिन मन लागेन । म अरुको भरमा जीवन धान्नै चाहान्न थिएँ । त्यसैले पैसाबाट आइलागेका मेरा तत्कालीन समस्याहरु समाधान गर्न मैले केही जागिर खानैपर्दथ्यो । त्यसैले मैले जागिर खोज्न सुरु गरेँ । तर जागिर भेट्न मुस्किल नै थियो ।
टुरिस्ट र गाइडको झोला बोक्ने जागिर पाएँ, तर बुबा जंगिनुभयो एकजना चिनजानका दाईले ट्राभल एजेन्सीमा टुरिस्ट र गाइडको झोला बोक्ने जागिरमा लगाइदिनुभयो । त्यतिबेला अंग्रेजी पनि राम्रो थिएन त्यसैले गाइड रुपमा जिम्मेवारी पाउने संभावना पनि थिएन । आर्मीको कर्णेल मेरा बुवाले म झोला बोकेर टुरिस्ट र टुरिस्ट गाइडको पछि हिँडेको मन पराउनुभएन । उहाँ जंगिनुभयो, ‘तैले अरु काम पाइनस् ? पढ् खुरुखुरु’ । तर मलाई जसरी पनि आफ्नै खुट्टामा उभिनु थियो । १०÷१५ हजारको जागिर पनि मलाई त्यतिबेला निकै महत्वपूर्ण थियो । मैले त्यहाँ इमान्दारीताका साथ काम गरिरहेँ । त्यतिबेलासम्म मैले यता आइए पनि सकाएँ ।
काम आफ्नै गर्नुपर्ने रहेछ झोला बोक्दा बोक्दै भएपनि मेरो विदेशी पर्यटकहरुसंग हिमचीम बढ्यो । मैले आफ्नो अंग्रेजीमा नि इम्प्रुभ ल्याएँ । र पछि म टुरिस्टगाइडको रुपमा काम गरेँ । त्यतिबेला म ती साहुहरुको आय विचार गर्थेँ । उनीहरु बसेरै पैसा कमाएको देख्थेँ । जस्तो सुकै दुख होस् मलाई पनि त्यस्तै भएर व्यवसाय गर्न मन थियो । म आफु काम गरेर धेरैलाई काम दिन सक्ने गरि व्यवसाय गर्न चाहान्थेँ । व्यवसायी बन्ने चक्करमा मैले आफ्नो पढाईलाई पनि अगाडी बढाउन सकिन ।
व्यवसाय गर्न पैसा थिएन मैले व्यवसाय गर्न सोच बनाएपनि मसंग पर्याप्त पैसा थिएन । मैले घरमा पैसा मागे । सुरुमा केही प्रश्न र आशंका बुवाले गरेपनि पछि उहाँ केही रकम दिन तयार हुनुभयो । म त्यति धेरै खर्चालु थिइन । त्यसैले मैले पनि केही जोह गरेर राखेको रुपैयाँ र बुवाले पठाइदिएको रुपैयाँले व्यवसाय सुरु गरेँ । सन् २००० सालबाट मैले औपचारीक रुपमा आफ्नै टे«किङ कम्पनि खोलेँ । सुरुमा निकै चुनौतिहरु थिए ।
जापानमा लुक्ने प्रयास सन् २००० सालमा मैले कम्पनि खोलेँ । लगत्तै मैले व्यवासयिक उद्धेश्यमा २००१ सालमा जापान घुम्न जाने अवसर पाएँ । म जापानमा साँच्चै राम्रो रहेछ भने उतै भागेर बस्ने विचारमा थिएँ । व्यवसाय ठीकै थियो, तर विदेशमा राम्रो हुन्छ भनेको सुनिन्थ्यो । त्यसैले जापान घुम्न गाको बेला ठीक लाग्यो भने उतै लुकेर बस्ने विचार गरेको थिएँ । तर जब म त्यहाँ पुगेँ मैले मेरै बुबाले भनेको आर्मीको जागिरभन्दा बन्धनपूर्ण देखेँ त्यहाँको अवस्था । म त स्वतन्त्ररुपमा आफ्नो परिचयका लागि आफ्नै समय निर्धारण गरि काम गर्न चाहान्थेँ । त्यसैले जापानमा लुकेर बस्ने चाहाना उतै सेलाएर म नेपाल फर्किएँ । र काम गर्न लागेँ । तपाई पत्याउनुहुन्न होला । म १५ घण्टाभन्दा ज्यादा काम गर्थेँ । आफ्नो व्यवसाय भनेपछि त्यसै पनि जाँगर चल्थ्यो । नेपालको राजनैतिक अवस्था त्यतिबेला सामान्य नै थियो । त्यसैले व्यवसायको अवस्था पनि ठीकै थियो । मैले व्यवसायबाट सन्तुष्टि पाउन थालेँ । म अझै काम गर्न थालेँ । चुनौतिहरु थिए । व्यवसायमा कैले काँही अप्ठेराहरु आउँथे । तर मैले त्यसको डटेर सामना गरेँ । केही वर्षको अन्तरालमा मैले होटल व्यवसायतर्फ पनि लगानी गरेँ । सामान्य ढंगले पर्यटकहरुका लागि होटल खोलेँ । पछि राम्रै हुँदै तारे होटल बनाएँ । त्यसबीचमा म निकै खटेँ ।
दुई दर्जनबढि देशको भ्रमण व्यवसायिक रुपमा सफल हुँदै गएपछि मैले व्यवसायिक शिलशिलामा अमेरिका ,अस्ट्रेलिया,बेलायत ,जापान कोरिया लगायत युरोपियन तथा गल्फ मुलुकहरु झण्डै तीन दर्जन देशको भ्रमण गरेको छु ।
आज तीन सय युवालाई रोजगारी आज म पाँच वटा कम्पनिहरु ह्याण्डल गरिरहेको छु । जमलमा होटेल उडलेन्ड, ठमेलमा होली लज, आसाही ट्रेक नेपाल, स्वयम्भुमा हिमालयन इन्टरनेशनल योगा एकेडेमी र मन्टेश्वरी स्कुल संचालन गरिरहेको छु । मेरी श्रीमतीले मन्टेश्वरी स्कुल हेर्छिन् । एक छोरा र एक छोरी छन् त्यतापट्टिको जिम्मेवारी पूरा गर्दै पनि उनी काममा क्रियाशील छिन् । आज मेरो कम्पनिहरुमा ३ सय जना रोजगार छन् । म त्यो बेला सम्झन्छु, जतिबेला म एउटा टुरिष्टको झोला बोकेर अनि गार्ड भएर काठमाडौमा संघर्ष सुरु गरेँ । हुन त त्योभन्दा ठूला–ठूला संघर्षका कथा र सफलताहरु पनि हाम्रै सामु छन् । तर स्पष्ट कार्ययोजना, दृढता, जोखीम र साहस लिएर काममा लाग्न सक्ने हो भने यहाँ आफ्नो लागि आफैँ गर्न सकिने थुप्रै बाटाहरु रहेछन् भन्ने कुरा थाहा पाउँदैछु । म पुरै सफल भईसकेको म मान्दिन । भर्खर ३७ वर्ष भएँ । अझै धेरै गर्न बाँकी नै छ ।
हिँजोको सामान्य गाउँले केटो, आज गाउँ जाँदा भव्य स्वागत हिँजो त्यही गाउँको एउटा सामान्य ठिटो आज म त्यहाँ जाँदा गाउँलेहरुले गाउँभरि भव्य स्वागत गर्नुहुन्छ । म गाउँको विकासमा पनि सक्रिय छु । गाउँ विकासका काममा लागि परेका विभिन्न संघसंस्थालाई म सकेजति सहयोग गर्नबाट पनि पछि हट्दिन । मैले मेरा होटल र अफिसहरुमा अधिकांश धादीङकै बेरोजगार युवाहरुलाई रोजगारी दिएको छु । उहाँहरुको बुवाआमाले म गाउँ जाँदा निकै आदरसम्मानले मेरो स्वागत गर्नुहुन्छ ।
समाजसेवामा इच्छा म विभिन्न गैरनाफामूलक संस्था तथा समाजीक संघसंस्थाहरुमा आबद्ध थिएँ । टानको पदाधिकारी पदमै बसेर मैले केही समय काम गरेँ । नेपालमा गएको बैशाखमा गएको विनाशकारी भूकम्पबाट पिडित जनतालाई मैले आफुले सक्रिय भएर त्रिपाल, लत्ताकपडा र केही खानेकुराहरु वितरण गरेँ । म समाजसेवामा पनि सक्रिय रहन चाहान्छु । पैसामात्रै सबै कुरा हैन, यो आवश्यकता हो । तर मानवीयता सबैभन्दा ठूलो कुरा हो । त्यसको लागि समाजसेवा गर्नुपर्छ जस्तो लाग्छ ।
युवालाई मेरो सुझाव –‘नो रिक्स् नो गेन्’ हाम्रो देशमा अवसर र चुनौति बराबरी छन् । हुन त चुनौतिको सामना गर्न सकिएन भने निश्चय नै सफलता हात पार्न सकिदैन । आज दैनिक विदेश पलायन भईरहेका युवालाई म विदेश जाँदै नजानुस भन्न चाहान्न । किनकी सबैको आ–आफ्नो बाध्यताहरु हुन्छन् । तर विदेश गएर तपाईले सिकेका कुराहरु नेपालमा लागु गर्नुस् । तपाई विदेशमा जे काम पनि गर्न तयार हुनुहुन्छ तर नेपालमा चाहिँ कामलाई सानो र ठूलोमा बर्गिकरण गर्नुहुन्छ भने त्यही हो तपाईको प्रगतिको बाधक । ‘नो रिक्स् नो गेन’ भन्ने अंग्रेजी भनाई नै छ, अलिकति जोखीम जेमा पनि मोल्नैपर्छ ।