शुक्रबार कहिलेकाहीँ तीनघण्टामै हस्पिटालिटीको तालिम सकिन्छ । आज पनि त्यही भयो । “ल केटा हो, दुःख गर्यौ चाँडै जाओ !”, कमल दाइले एप्रोन खोल्दै भने ।
फोनमा मात्रै कति कुरा गर्नु ? न कुराको धित मर्छ, न अनिताको अनुहार हेर्न पाइन्छ । मात्र रिचार्चकार्ड थपिरहनुपर्छ । मलाई आज अनितासँग नभेटी भएको थिएन । बिहानै एसएमएस पनि गरेको थिएँ, “मिल्यो भने आज भेट न है !” उसले “दिउँसो बजारमा निस्किन्छु अनि कुरा गरौँला ।” भनेर जवाफ पठाएकी थिई । आज तालिममा चक्कु चलाउँदा तरकारीको सट्टा औँला ताछिन्छ कि भन्ने डर लागेको थियो । होश सबै अनिताले बटुलेकी थिई । होटेलबाट निक्लिनेबित्तिकै फोन गरेँ ।
“कहाँ छौ ?”, मलाई अनिताले फोन उठाउनेबित्तिकै कतिखेर भेटौँजस्तो भयो । यस्तो हतार पहिले कहिल्यै भएको थिएन । हुन त भेटिँदा प्रायः ड्राइभर भएर भेटिएको हुन्छु । आज ड्राइभर भएर भेटिन मन छैन ।
“सृजनाचोकमा छु ।”, सृजनाचोक लेकसाइडबाट नजिकै पर्ने हुनाले अनिताको र मेरो दूरी निकै कम लाग्यो । अनितालाई “पर्ख म लिन आइहाल्छु ।” भनेर गाडी निकालेँ । उसलाई फेवा सिटी हस्पिटलको अगाडि पर्खिन लगाएँ । दश मिनेटभित्रै पुगेँ । अनिता गाडीभित्र पसेपछि मन बल्ल सम्हालियो । लाग्यो, मेरो शरीर ऊबिना आत्तिन थालेको छ । एक किसिमको अपूर्णता छ, ऊबिना मभित्र । उसको उपस्थितिले मात्रै पनि मनभित्रको अतृप्तता शान्त भएको छ ।
खुल्न पनि कति खुलेकी आज ! गुलाबी रङको कुर्तामा सेतो सुरवाल र सेतै सल । लामो कपाललाई अलिकति माथि बाँधेर छोडिएको । निधारमा गाजलको टीका अनि मायाको अनुभूति र सुगन्ध । शृङ्गारको नाउँमा गाजलको टीकामात्रै छ । अनितालाई नानाथरी शृङ्गारले झन् नराम्रो बनाउँछ होला । ऐना हेर्छे होली । थाहा पाउँदी हो, “म यत्तिकै राम्री छु ।” मेरा लागि भने अद्भूत राम्री । अनिताको अनुहारमा एक किसिमको भावुकता देखेँ । पहिलेभन्दा अलि गम्भीर लाग्यो । केही बोल्न अप्ठ्यारो मानेजस्तो । उसलाई पनि मलाई जस्तै हतार थियो होला भेट्न । कुराको तगारो मैले नै खोलेँ ।
“तिमीलाई पोखराको सबैभन्दा मन पर्ने ठाउँ काँ हो ?”, मेरो मुखमा यतिखेर यही प्रश्न आयो । यो सोध्छु भन्ने कुनै तयारी थिएन । “तालपारिको सेतो गुम्बा ।”, उसले फेवातालमाथिको शान्ति स्तुपालाई सङ्केत गरी । मलाई पनि निकै मनपर्ने ठाउँ हो । टाढाबाट हेरेर मात्रै चित्त बुझाएको छु । गएको छैन ।
“म त गएको छैन, मलाई लैजाऊ न त ।”, मलाई लाग्यो, योभन्दा राम्रो ठाउँ अरु छैन ।
“म पनि गएकी छैन, लेकसाइडबाट हेर्दा राम्रो देखिन्च, तेसैले भनेकी ।”
त्यसपछि मैले गाडी लेकसाइडतिरै फर्काएँ । अनिता केही पनि बोलिन । किन ? कहाँ जान लागेको ? घर जाऊँ ! इत्यादि प्रश्न र प्रतिक्रियाहरूको मुहान आज बन्द थियो । गुम्बामा छोरेपाटनतिरबाट पनि जान मिल्थ्यो तर रानीवनसम्म डुङ्गामा गइयो भने छिटो पुगिन्थ्यो । हल्लन चोक हुँदै लेकसाइड पुगेपछि हामीले माछापुच्छ्रे बैङ्कभन्दा अलिक अगाडिको बाटाको छेवैमा गाडी पार्क गर्यौँ र डुङ्गा चढ्ने ठाउँतिर लाग्यौँ । बीचमा एउटा डेरीमिल्क किनेँ । साथमा दुइटा रियल जुस पनि हालेँ । म दोकानभित्र पस्दा अनिताले छेउको चौरमा बसेकी महिलासँग सुन्तला र बदाम किनिसकिछ । मेरो आँखा पनि सुन्तलामा गइसकेको थियो । अनिता आज अलि कम बोलेकाले लाग्यो, उसको मनमा कसैले देख्छन् कि भन्ने डर हुँदो हो । अनिता अघि-अघि हिँडी, म पछि-पछि । डुङ्गा भने एउटै समाउनु थियो ।
बाराही मन्दिर जाने मान्छेहरूको भीड त्यति थिएन । दिउँसोको समय भएर होला । वरिपरि चाट, चटपटे र फलफूलका ठेलाहरू ग्राहक कुरेर बसिरहेका थिए । कतिलाई हामीले पनि केही खान्छौँ कि भन्ने आश हुँदो होला । डुङ्गा भएको ठाउँमा नपुग्दै हातमा कापी र कलम लिएको एउटा युवकले हामीलाई पालो परेको डुङ्गातिर देखाएर इशारा गर्यो । डुङ्गावालाले नजिकै धेकेलिदियो डुङ्गा । म पहिले चढेँ । अनिता चढ्न खोज्दा डुङ्गा अलिकति हल्लियो । अनिताले निसङ्कोच आˆनो हात मतिर बढाई । आज पहिलोचोटि अनिताको हात समातेँ । ऊ डुङ्गामा राम्रोसँग बसिञ्जेल हात समातिरहेँ । लागिरहृयो, उसको हात समातिरहूँ । डुँगा पानीमा तैरिँदै बग्न थाल्यो । यो फेवाताल यति सुन्दर कहिल्यै लागेको थिएन । डुङ्गा खियाउने सानो केटो थियो । तल जाँगे र माथिका तीन-चारवटै टाँकै नभएको हाफबाहुले सर्ट लगाएको फुर्तिलो केटो त्यस्तै तेह्र-चौध वर्षको हुँदो हो । डुङ्गाको सन्तुलन मिलाउन हामीलाई अलि छुट्टएिर बस्न आग्रह गर्यो । लागिरहेको थियो, बरु डुङ्गा नचलोस्, हामी एकअर्काको नजिकै बसिरहौँ । डुङ्गामा हुँदा अनिताले हातले तालको पानी खेलाइरहेकी थिई । मैले झस्काइदिएँ ।
“माछाले टोक्ला फेरि ?”
“टोक्छ खूब् !”, अनिताले पत्याइन तर माछाले कहिलेकाहीँ हातमा ठुँग्छन् पनि ।
“तिम्लाई पौडिन आउँछ ? डुङ्गा पल्टिन नि सक्च ।”, यसपटक भने अनिता तर्सिई ।
“किन यस्तो कुरा गर्नुपर्यो अहिले ?”
“सतर्क गराएको नि ?”
“अनि तपाइर्ँको खोलामा पौडी-पौडी निखारिएको कला कहिले काम लाग्च त ?”, अनिताले साह्रै चित्तोबुझ्दो जवाफ दिई । डुङ्गा खियाइरहेको सानो केटो पनि खिस्स हाँस्यो । ऊसँग पनि बोल्न मन लाग्यो ।
“के हो तिम्रो नाम ?”
“बिसे !”
“पूरा नाम के हो नि ?”
“बिसे केसी ।” सबैले छोटकरीमा बिसे भन्दा हुन् । यसको नाम नै बिसे भएछ । हाम्रो एउटा साथी थियो, विष्णु तर हामी उसलाई पनि बिसे भन्थ्यौँ ।
“स्कुल जान्छौ ?”
“जान्नँ !”, केटोले नाकै उचालेर भन्यो । थाहा पाएँ, स्कुल उसका लागि सौतनी आमाको घरजस्तो रहेछ ।
“जानुपर्छ नि त ?”, मलाई ऊ स्कुल गइदिए हुन्थ्यो भन्ने लागेर भन्न मन लाग्यो ।
“अब के काम स्कुल गएर ?”, उसले टिप्पणीस्वरुप मलाई नै प्रश्न गर्यो ।
“तिमी स्कुल गयौ भने तिमीलाई पहिले त यो थाहा हुन्थ्यो कि तिम्रो नाम बिसे होइन । बिसे त बोलाउने नाममात्र हो ।”, बिसे यसपटक हाँस्योमात्र । हुन त नाम जे रहृयो, त्यही नाम भइदिन्छ । के खराबी छ र बिसे केसीमा ?
डुङ्गा बाराही मन्दिरको दाहिनेपट्टबिाट अगाडि बढ्यो । पारिपट्टकिो रानीवनको दृश्य टुप्पामा भएको सेतो शान्ति स्तुपाले झनै लोभलाग्दो बनाएको थियो । पन्ध्र-बीस मिनेटमा बिसेले हामीलाई पारि पुर्यायो । पैसा दिनुभन्दा अगाडि हामीले माथि उक्लने बाटोको बारेमा सोध्यौँ । बाटो एउटै रहेछ । जङ्गलको भित्र भए पनि डरलाग्दो छैन भनेर प्रष्ट्याइदियो । हामीलाई डरको भने चिन्ता थिएन ।
डुङ्गाबाट निस्कँदा भने अनिता बसेको डुङ्गाको भाग छेउतिर पर्यो र ऊ पहिले ओर्लिई । माथितिर हेर्यौँ । केही मान्छेहरू ओर्लिँदै थिए । हामी उक्लिन थाल्यौँ । यो अनिताको र मेरो पहिलो यात्रा थियो, जहाँ म ड्राइभर थिइनँ र ऊ मेरी ग्राहक थिइन । हामी घोषित प्रेमी-पे्रमिका पनि भइसकेका थिएनौँ । प्रेमको ध्वनि भने हामी दुवैभित्र गुन्जिइसकेको थियो । त्यसैले त आज हामी सँगै यात्रामा थियौँ । डुङ्गामा र ताल पारिको जङ्गलमा ।
हामी यस्तै आधा घण्टा हिँडेपछि बिसायौँ । ढुङ्गाका छपनी बिच्छ्याइएका सिँढीहरूले बाटोलाई कलात्मक बनाएका थिए । केही बेरसम्म हामी बोलेनौँ । सायद बोली मुखबाट निस्किएन । मन त कसैले नसुन्ने गरी आफैभित्र चर्कोचर्को मनोवाद गरिरहेको थियो । “तिमीलाई माया गर्छु भनेर भन्नुपर्छ र ?”
“माया नगर्ने भए त किन यसरी सँगै हिँड्थ्यौँ ?”
अहिले आइ लभ यु भनिनँ भने “तिमीले कहिल्यै भन्यौ र ?”, भन्ने निहुँ पाउने हो कि !
मेरा जस्तै सायद अनिताका मनमा पनि कैयौँ प्रश्नहरू र भावनाहरू उब्जिरहेका होलान् । लाग्यो, थाहा पाउन पाए पनि हुन्थ्यो । कहिले उकालोमा ऊ अगाडि, कहिले म अगाडि । बाटो साँघुरियो भने हाम्रो निकटता झन् फराकिलो हुन्थ्यो । घरी उसले मलाई बाटो दिन्थी, घरी म उसलाई बाटो दिन्थेँ ।
मानौँ, बाटाले रुखहरूको छानो पाएको छ तर चुहिने छानो । तर चुहिनका लागि पानी थिएन, घामका किरणहरू थिए । रानीवनमा सजिएको हाम्रो प्रेमको रङमञ्चमा नेपथ्यबाट चराहरूले सुमधुर आवाज भरिरहेका थिए । यत्तिकैमा कालो पोलिथिनको झोलाबाट अनिताले एउटा सुन्तला निकालेर दिई ।
“तिमीले नै छोडाऊ न ?”, मलाई छोडाउन मन लागेन । सायद अनितालाई थाहा थियो । म उसलाई गहिरिएर अवलोकन गरिरहेको थिएँ । “ख्वाइदिनु पनि पर्च कि ?”, अनिताले फरक्क फर्केर मीठो पाराले हाँस्दै मायालु जवाफ फर्काई ।
“सुन्तलाको स्वाद झनै गुलियो हुन्च होला ?”, मैले आˆनो भावना मिसाइदिएँ ।
अनिताले सुन्तला छोडाउँदै मलाई दिँदै गरी । बाटामा हामीले बाटैको बारेमा कुरा गर्यौँ । सुन्दर छपनीहरू बिच्छ्याएका सिँढीका कुरा गर्यौँ । साँघुरो र अप्ठ्यारो उकालोको कुरा गर्यौँ । रुखहरूको बारेमा कुरा गर्यौँ । शुन्यताको बारेमा कुरा गर्यौँ । झ्याप्प चितुवा आयो भने के गर्छौ भनेर मैले अनितालाई तर्साएँ पनि । तर हामीले हामी किन यसरी सँगै हिँडिरहेका छौँ भनेर प्रश्न गरेनौँ । हाम्रो सम्बन्धको परिभाषा के हो भनेर कतै अल्झिएनौँ । लाग्यो, आज जे-जेसँग ठेस लाग्छ, त्यसकै बारेमा कुरा गरौँ । माथि गुम्बामा पुगेपछि थुप्रै मान्छेहरू देखिए ।
अनिताले बल्ल अलिकति सङ्कोच मानी । मलाई पनि अलिकति अप्ठ्यारो लाग्यो । चिनेका मान्छेले देखे भने गाउँभरि हल्ला हुन्थ्यो तर हामी रोकिएनौँ । सिँढी चढेर माथि पुग्यौँ । स्तुपालाई घुमेर एक फन्को लगायौँ । माथिबाटै तलको फेवाताल हेर्यौँ । उचाइबाट यसरी फेवाताल हेरेको थिइनँ । त्यही सराङ्कोट र कास्कीकोटमा अडिएर फेवाताल हेर्न पाएको थिइनँ । पर्यटकहरूले हाम्रै फेवाताललाई खिचेर पोस्टर बनाएर बेच्छन् । आज त्यही पोस्टरको फेवाताल देखेँ । पोखरा देखेँ । पोखरालाई ढाक्ने हरिया डाँडाहरू । डाँडाहरूको पहरेदार अन्नपूर्ण हिमाल ।
“पोखरा त साह्रै पुड्को देखिँदो रैच ।”, मेरो टिप्पणी सुन्नेबित्तिकै अनिताको ओठमा फेवाताल र पोखराजस्तै सुन्दर मुस्कान फक्रियो । आधा घण्टा जति बस्दा चिनेका अनुहारहरू कोही देखिएनन् । केही बेर अझै बसेर हामी त्यसपछि तल ओर्लियौँ । ओर्लिँदा एकठाउँमा अनिता चिप्लिन्छे कि जस्तो गरी । मैले अनिताको हात समातेँ । त्यसपछि फुत्काउन खोजिन ।
हामी हात समातेरै तल झर्यौँ । कतै छपनीहरू थिए, कतै थिएनन् । कतै बाटाका मसिना धर्साहरूमात्रै थिए । कतै अडिएर र कतै सम्हालिएर हिँड्दै गर्दा बीच बाटोसम्म कोही मान्छे भेटिएनन् । गुम्बातिर आउन ढिलो भइसकेकाले पनि होला आउने मान्छेहरू भेटिएनन् । झर्नेहरू कति त छोरेपाटनको बाटो हुँदै झरे होलान् । यसो गर्दा डुङ्गा चढ्नु पर्दैनथ्यो । हामी भने फेरि रानीवनकै बाटो हुँदै झर्यौँ । आधा बाटो काटियो भनेपछि हामी बिसायौँ । तर उभिएरै । अनिताले मतिर हेरी अनि वरिपरि हेरी । मैले पनि वरिपरि हेरेँ ।
हामी दशमिनेट जति यसरी नै उभियौँ । हामी उभिएको ठाउँबाट उत्तरपट्ट िअलि तल केही घरहरू पनि रहेछन् ।
“अब जाउँ ।”, अनिताले सुस्तरी भनी ।
यत्तिकैमा दुइटा केटाहरू दौडिँदै माथिबाट आए । केटाहरू साना थिए । सायद त्यसैले हावाजस्तै हुत्तिँदै आए । यो उमेर नै कति फुर्तिलो हुन्छ । म खुकुलो भएँ । अनिताले मेरो हातबाट आफ्नो हात फुत्काई । हुत्तिँदै आएका केटाहरूमध्ये एउटाको हातमा गुलेली थियो । अनिता त एकछिन झस्किई । पछाडि अर्को केटा पनि रहेछ । उसले त झन् एउटा मरेको चरालाई घाँटीमा समातेर झुन्डाउँदै हिँडिरहेको थियो । मेरो मन चिसो भयो । नजिकै आउन लाग्दा चरालाई नियालेर हेरेँ । ढुकुर रहेछ । अनितालाई पनि यो दृश्यले बिझाएझैँ भयो । हामी जसरी अघिसम्म हात समात्दै मनमा अनेक मायाका नकोरिएका खेस्राहरू कोरिरहेका थियौँ, अहिले एक्कासि रानीवनभित्रको दृश्यले आˆनो अनुहार बदलेको थियो ।
“भाइ, त्यसलाई प्लास्टिकमा राख न !”
ढुकुर झुन्ड्याएर लम्किरहेको केटालाई मैले अनुरोध गरेँ । त्यसरी मरेको चरालाई घाँटीमा समातेर झुन्ड्याइएको दृश्यले हाम्रो मनलाई जसरी खल्बल्यायो, अरुलाई यसरी नखल्बलाओस् । हुन त सबैको मन यसरी नखल्बलिन पनि सक्छ । हामीले सुन्तला खाएर सकिसकेका थियौँ । अनिताले प्लाष्टिक दिनलाई आफ्नो दाहिने हात केटातिर बढाई । उसले हाम्रो कुरा मान्यो र ढुकुरलाई कालो पोलिथिनको झोलामा राख्यो । त्यसपछि हामी हात समाउँदै तल ओर्लियौँ । मनभरि सानोमा म र विक्रमसँग जोडिएका गुलेली र चराका प्रसङ्गहरूले अँठ्याउन थाले ।
खाभरि हाम्रै दलिनमुनि बास बसेका गौँथली र गौँथलीका बचेराहरूको कारुणिक दृश्य छाइरहृयो । तल ओर्लिँदै गर्दा मैले अनितालाई गुलेली र गौँथलीका सबै प्रसङ्गहरू सुनाएँ । गौँथलीको प्रसङ्गले अनिताको आँखा रसाइसकेका रहेछन् । म अडिएँ र अनिताको काँधमा हात राखेर उसलाई आफूतिर फर्काएँ । उसको कारुण्य आँखाको डिल हुँदै आँसु बनेर बग्न नपाउँदै, आँसुले उसको गालामा धर्के बाटो बनाउन नखोज्दै, बूढीऔँलाले परेलीमुनिबाट छचल्किनै आँटेका आँसु पुछिदिएँ ।
त्यसपछि थाहै नपाईकन हामी अङ्गालोमा बाँधिएछौँ । उसको छाती मेरो छातीमा जोडले नटाँसियोस् भनेर मैले हलुका पाराले मेरा हातहरू उसको पछाडि राखेको थिएँ । जतिसुकै हल्का पाराले समाउँछु भने पनि मेरो शरीर उसको शरीरसँग जोडिएको थियो । हाम्रो धड्कनको गति दौडिरहेको थियो ।
केहीबेरमै अनिताले कानमा सुस्तरी भनी, “बाबाको याद आयो !”
(निष्प्रभ सजीको पुस्तक डार्लिङ हार्बरबाट )/Onlinekhabar