नेपालका सबै सरकारी कार्यालयमा ट्वीटर सञ्चार अनिवार्य गरिदै
Feb Tue 2020 05:40:23
522 views
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘हेलो सरकार कक्ष’ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालेको छ ।
यसअघि सरकारको निर्देशनअनुसार सबै सरकारी कार्यालयले सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरिरहेका छन् ।
उपाध्यायका अनुसार ट्वीटर सञ्चालनका लागि सरकारले ‘सरकारी निकायद्वारा ट्वीटर खाता प्रयोग गर्ने कार्यविधि, २०७५’ समेत बनाउन थालेको छ । ‘फेसबुकसँगै कार्यालयका सूचनालाई बढीभन्दा बढी प्रवाह गर्नका लागि ट्वीटर सञ्चालन गर्ने तयारी गरेका हौं’ उनले भने, ‘कतिपयले आफ्नै हिसाबले खोलेका छन् । ती सबैलाई एकरुपले सञ्चालन गर्न कार्यविधि ल्याउन थालेका हौँ ।’
उपसचिव उपाध्यायले कार्यविधिलाई चाँडै नै पारित गराई सबै कार्यालयलाई ट्वीटर खाता सञ्चालन गर्न निर्देशन दिने बताए । ट्वीटर खातामा प्रयोग हुने लोगो सरकारको वा संस्थाको हुनुपर्ने, ट्वीटर खाताको मुख्य पृष्ठमा राखिने फोटोले सम्बन्धित निकायको स्पष्ट परिचय दिने र उद्देश्य स्पष्ट पार्नेखालको हुनुपर्ने, ट्वीटर खाताको पेज आकर्षण र सेवाग्राहीमैत्री हुनुपर्ने कुरा कार्यविधिमा उल्लेख गरिएको छ ।
यसैगरी ट्वीटर दैनिक सञ्चालन गर्नुपर्ने, ट्वीटर सञ्चालन गर्ने व्यक्ति तोकिनुपर्नेजस्ता कुरा कार्यविधिमा राखिएको छ । ट्वीटरमा आएका सूचनालाई लाइक, रिप्लाई, ट्वीट, रिट्वीट, शेयर कस्तो गर्ने भन्ने सम्बन्धमा कार्यविधिमा उल्लेख गरिएको छ ।