एसएसडीआरसी स्कूल अर्थात Special School For Disabled and Rehabilitation Center(SSDRC).ले अटिजम भएका बालबालिकालाई आत्मनिर्भर बनाउने शिक्षाका साथै आत्मीयता र सद्भाव सिकाउदै आएको छ ।जसका लागि दोलाखाकी सबिता उप्रेती हाम्रो सामाजिक उत्तरदायित्व तिनै अटिजम भएका बालबालिकाको लागि वहन गरिरहेकी छिन्, प्रस्तुत छ करिश्मा चौधरीले एसएसडीआरसीका बालबालिकाहरु कसरी आत्मनिर्भर बन्दैछन् भन्ने बारेको एक रिपोर्ट :
करिश्मा चौधरी काठमाडौं। उनी मुश्किलले बोल्छिन्। धेरै प्रयासपछि यत्तिको बोल्न सक्ने भएकी हुन् लक्ष्मी पराजुली। कुनै कारणविना रुने, हाँस्ने वा कराउने र त्यस्तै हर्कत गर्ने उनी हिजो आज भने माला, झुम्का तथा चुरा बनाउनमै व्यस्त हुन्छिन्। उनलाई एक प्रकारको अपाङ्गता (अटिजम) को समस्या छ।
उनी आफ्नै उमेर पनि भन्न सक्दिनन्। तर पाँचवर्ष अघि लक्ष्मी यस्तै समस्या भएका बालबालिकालाई पुर्नस्थापनामा सघाउने विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रमा आइन् । त्यहाँ आएपछि उनले आफ्नो व्यवहारमा पुरै परिवर्तन पाइन्। पुर्नस्थापना केन्द्रले उनलाई व्यवहारिक हुन सिकायो। योसँगै सीप पनि। अटिजम स्पेक्ट्रम डिस्अर्डरको विशेषता रहँदा रहँदै पनि लक्ष्मी अहिले सामान्य व्यक्ति सरह पढ्ने र काम गर्ने गरिरहेकी छन्।
सीप सिकेपछि हाल लक्ष्मीले सामान पनि बनाएर आम्दानी गर्छिन्। समान बनाएवापत पाउने पैसा लक्ष्मीले बैंकमा राखेकी छन्। यो पैसाबाट उनले आफ्ना लागि आवश्यक सामान किन्छिन्। सीप सिकेपछि लक्ष्मीले हिजो आज आफैँ आफ्नो खर्च जुटाउन सक्ने भएकी छन्। उनले बनाएका क्रिष्टलका माला, झुम्कालगायतका सामान पुर्नस्थापना केन्द्रले नै बजारसम्म पुर्याईदिन्छ र त्यसबाट आएको पैसा उनलाई दिन्छ। लक्ष्मी भन्छिन्, ‘त्यसै घुम्नु भन्दा सीप सिकेर आफ्नालागि पैसा कमाउनुपर्छ।’
पहिला बोल्न समेत गाह्रो मान्ने उनलाई पढाई र सीपले आत्मविश्वास बढाइदियो। अहिले उनी बोल्न डराउँदिनन्। सबैसँग बोल्छिन्। पढाइ र सीपले लक्ष्मीलाई पैसा मात्र होइन आत्मविश्वास पनि दिलाएको छ ।
यो पुनर्स्थापना केन्द्रमा आउनुअघि उनी अनाथालयमा बस्थिन्। ‘अटिजम स्पेक्ट्रम डिस्अर्डर भएका अरु बालबालिका जस्तै लक्ष्मी पनि एक्लै बस्न मन पराउने, विना कारण चिन्तित हुने, रुने कराउने गर्थिन्। उनलाई सम्हाल्नै गाह्रो हुन्थ्यो, तर हिजो आज उनलाई काम गरेको र पढिरहेको देख्दा खुसी लाग्छ’ पुर्नस्थापना केन्द्रकी प्रमुख सविता उप्रेती भन्छिन्। अझैपनि लक्ष्मीको स्वास्थ्यमा बारम्बार समस्या आउनाले सोचेजस्तो काम गर्न नसकेकोे उप्रेतीकाे भनाइ छ। स्वास्थ्यमा समस्या हुँदाहुदै पनि आत्मनिर्भर बन्न सफल लक्ष्मी आफ्ना साथीहरूबीच उदाहरणीय बनेकी छिन्।
लक्ष्मीको जस्तै समस्या भएकी अलिसा न्यौपानेले पनि दुई वर्षदेखि उक्त पुनर्स्थापना केन्द्रबाटै माला, चुरा बनाउने सीप सिकिन्। अलिसा अहिले २० वर्ष पुगिन्। तीन वर्ष अघिमात्र पुनर्स्थापना केन्द्रमा भर्ना भएकी उनी सीप सिकेरै अहिले आत्मनिर्भर बनेकी छन्। आफूले बनाएको माला, झुम्का, चुरा, औँठीको विदेशमा समेत माग हुँदा खुसी छन्। सामान्य व्यक्ति पनि बेरोजगार भैरहेको समयमा आफ्नो समस्यासँग लडेर आयआर्जन गर्न पाउँदा उनको पनि आत्मविश्वास बढेको छ। उनी भन्छिन्, ‘मलाई देखेर आमा बाबा पनि खुसी हुनुहुन्छ र म पनि। अव त मैले पनि अरुलाई यो सीप सिकाउन सक्छु।’
आफू र आफ्नो परिवारलाई यस्तो परिवर्तन आउन सक्ने कहिल्यै नसोचेका अलिसा बताउँछिन्। वास्तवमा यस्तो समस्या भएकोहरूलाई पहिला आफ्नो अवस्था कस्तो थियो भन्ने समेत थाहा हुँदैन। तर, उनीहरूलाई आवश्यक उपचार, माया, हेरचाह र अवसरको दिएमा अरु सामान्य मानिस जस्तै हुन सक्ने पुनर्स्थापना केन्द्रकी प्रमुख सविता उप्रेती बताउँछिन्।
अटिजम स्पेक्ट्रम डिस्अर्डर भएका लक्ष्मी र अलिसासँगै पाँच जनालाई केन्द्रले पहिलो पटक चुरा, माला बनाउने सीपमुलक तालिम दिएको हो। केन्द्र मै रहेका अटिजम स्पेक्ट्रम डिस्अर्डर भएका अरु बालबालिकाको व्यवहार हेर्दा अहिले उनीहरू आफूपनि यहि अवस्थाबाट गुज्रेको भनेर पत्याउन सक्दैनन्।
‘परिवारले अझैपनि यस्तो समस्या भएको बालबालिकालाई कोठामा थुनेर, बाँधेर राख्ने गर्छन्। यस्ता बालबालिकालाई माया, हेरचाहको खाँचो हुन्छ’ उप्रेती भन्छिन्।
यो केन्द्रका अनुसार अझैपनि अटिजम भएका ४० देखि ६० हजार बालबालिकालाई कोठा भित्रै थुनिएर राखिएको अनुमानित तथ्याङ्क छ। त्यस्तै नेपालमा अटिजम भएका तीन लाख भन्दा बढी बालबालिका छन् ।
समयमै हेरचाह, माया र अवसर पाएमा अटिजम स्पेक्ट्रम डिस्अर्डर भएका बालबालिका पनि सामान्य बालबालिका सरह नै काम गर्न सक्ने पुनर्स्थापना केन्द्रकी प्रमुख सविता उप्रेतीको भनाइ छ। उनी भन्छिन्, ‘यस्तो बालबालिकामा फरक किसिमको क्षमता हुन्छ, तर हाम्रो समाजले कमजोरीमात्र देख्छ।’
- Mahilakhabar.com