काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से )परिसूचक १३ दशमलव ५८ अंक बढेर १ हजार ५७० दशमलव ३८ विन्दुमा पुगेको छ । आइतबार ५ दशमलव ६६ अंक घटेको बजार सोमवार भने दोहोरो अंकले बढेको हो । यो दिन सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६२ अंक बढेर ३१० दशमलव ८९ विन्दुमा पुगेको छ ।
सोमबार दोहोरो अंकले बढेको बजारमा कारोबार रकम भने एक अर्ब भन्दा कमको भएको छ । यो दिन १८९ कम्पनीको ९७ करोड ९० लाख ९४ हजार रुपैयाँ बराबरको ३३ लाख ५३ हजार २०१ कित्ता शेयर कारोबार भएको हो । सोमबार सर्वाधिक रकमको शेयर कारोबार अपि पावरको भएको छ ।
कात्तिक १४ गतेदेखि ४७ प्रतिशत हकप्रद विक्री गर्न लागेको अपि पावरको सोमबार ४ करोड २ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार गरेको अपि पावरको शेयरमूल्य पनि सोमबार ९ दशमलव ६३ प्रतिशत वृद्धि भई अन्तिम मूल्य २०५ रुपैयाँ पुगेको छ ।
अपि पावरसँगै सोमबार पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यो दिन सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमध्ये पहिलो नम्बरमा जनरल इन्स्योरेन्स रहेको छ ।
जनरल इन्स्योरेन्सको ९ दशमलव ९० प्रतिशतले शेयरमूल्य वृद्धि भई अन्तिम मूल्य ४४४ रुपैयाँ पुगेको हो । त्यस्तै युनियन हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ८२ प्रतिशत बढेर अन्तिम मूल्य रू. १२३ , घलेम्दी हाइड्रोको ९ दशमलव ७३ प्रतिशत बढेर अन्तिम मूल्य १२४ रुपैयाँ र दिव्यश्वरी हाइड्रोको ९ दशमलव शून्य १ प्रतिशत बढेर अन्तिम मूल्य १२१ रुपैयाँ पुगेको हो ।