चालु आवको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म वाणिज्य बैंकहरुले ३६ खर्ब ५४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३० खर्ब ३४ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
नेपालमा गत वर्षको चैतदेखि शुरु भएको कोरोना कहरले ५ वटा वाणिज्य बैंकको व्यवसाय घटाएको छ । असार मसान्तयता असोज मसान्तसम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकको १४.०५ प्रतिशतले अर्थात् १३ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन र ७.१६ प्रतिशत अर्थात् ४ अर्ब १२ करोड रुपैयाँले कर्जा प्रवाह घटेको छ । आसार मसान्तसम्म बैंकले ९९ अर्ब ११ करोड निक्षेप संकलन गरी ५७ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । जुन असोज मसान्तमा आइपुग्दा ८८ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा प्रवाह ५३ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ ।
यस्तै, सो अवधिमा नेपाल एसबीआई बैंकको ३.५६ प्रतिशत कर्जा लगानी घटेको छ । बैंकले गत असार मसान्तसम्म ९४ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरकोमा ३ महिना अर्थात् असोज महिनामा आइपुग्दा ३ अर्ब ३६ करोड रुपैयाँले घटेर ९० अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको छ । साथै सो अवधिमा हिमालयन बैंकको ३.११ प्रतिशत, नेपाल बंगलादेश बैंकको १.२५ प्रतिशत र लक्ष्मी बैंकको १.५८ प्रतिशतले कर्जा प्रवाह घटेको छ ।