Breaking News

बुक क्लोज के हो ? बोनस र हकप्रदमा समायोजित शेयर मुल्य कसरी थाहा पाउने

Oct Fri 2020 06:42:11

1378 views

बुक क्लोज के हो ?  बोनस र हकप्रदमा समायोजित शेयर मुल्य कसरी थाहा पाउने
कम्पनीहरुले सेयरधनीहरुको रेकर्ड राख्ने रजिस्टर (सेयरधनी दर्ता किताब) कायम गरेका हुन्छन् । साधारण सभा, लाभांश वितरण र हकप्रद सेयर जारी गर्नु अघि, निश्चित अवधिका लागि सेयर दाखिल खारेज तथा नामसारी नहुने गरी सेयरधनी दर्ता किताब बन्द अथार्त बुक क्लोज गर्दछन् ।
 
कम्पनीहरुले विशेष गरी, कुन मितिसम्म कायम रहेका सेयरधनीहरुलाई साधारण सभामा सहभागी गराउने तथा लाभांश र बोनस सेयर र  हकप्रद सेयर जस्ता प्रतिफलहरु प्रदान गर्ने, भन्ने निधो गर्नकै लागि यसरी बुक क्लोज गर्दछन् । यसरी बुक क्लोज भएको अवधिमा पनि सेयर खरिद बिक्री गर्न सकिन्छ । तर कम्पनीले घोषणा गरेको प्रतिफल भने बुक क्लोज हुनु भन्दा अघि कायम रहने सेयरधनीले मात्र पाउँछन् ।
 
बोनस सेयर र हकप्रद सेयर का लागि बुक क्लोज भएको दिन कम्पनीको बजार सेयर मूल्यमा समायोजन गरिन्छ । बोनस र हकप्रद सेयर दिँदा सेयर संख्या थपिने भएकाले मूल्य समायोजन गरिएको हो । तर मूल्य समायोजन हुँदा कम्पनीको सेयर भाउ भने घट्छ । त्यसैले, सेयर खरिदबिक्री गर्ने लगानीकर्ताले यो विषयमा पनि चनाखो हुनुपर्छ ।
 
अब बोनस र हकप्रद सेयरमा कसरी मूल्य समायोजन गरिन्छ ? भन्ने चासो बढ्न सक्छ । बोनस र हकप्रद सेयरको मूल्य समायोजनका लागि फरकफरक विधि छन् । बोनस सेयर जारी भएपछि समायोजित मूल्य निकाल्नका लागि कम्पनीको बजार भाउलाई बोनस सेयर प्रतिशतमा १ जोडेर भाग गर्नुपर्छ । बजार भाउ बुक क्लोज हुने दिन भन्दा अघिल्लो दिनको अन्तिम कारोबार मूल्यलाई लिनुपर्छ ।


 
मानौं, नेपाल बैंकले २०% बोनस सेयर घोषणा गरेको छ । र यसको बुक क्लोज हुने दिन भन्दा अघिल्लो दिनको बजार भाउ प्रतिकित्ता ३०० रुपैयाँ छ । यस आधारमा, नेपाल बैंकको समायोजित सेयर भाउ प्रतिकित्ता २५० रुपैयाँ हुन जान्छ । र सोही मूल्यमा नेपाल बैंकको कारोबार खुल्छ ।
 
हकप्रद सेयरमा समायोजित मूल्यको हिसाब गर्ने विधि भने केही फरक छ । हकप्रदमा समायोजित सेयर भाउ निकाल्न, पहिला हकप्रद सेयरको प्रतिकित्ता मूल्यलाई जारी हुन लागेको हकप्रद प्रतिशतले गुणन गर्नुपर्छ र बजार भाउसँग जोड्नुपर्छ । यसरी आएको अंकलाई, हकप्रद सेयर प्रतिशतमा १ जोड्दा हुने अंकले भाग गर्दा आउने अंक समायोजित मूल्य कायम हुन्छ । ख्याल गर्नुपर्ने कुरा के छ भने, नेपालमा हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँमा जारी हुन्छ । त्यसैले, हकप्रद सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ नै लिनुपर्छ ।


 
मानौं, नेपाल बैंकले १००% हकप्रद सेयर जारी गर्न लागेको छ । र यसको बुक क्लोज हुनुभन्दा अघिको सेयर भाउ प्रतिकित्ता ३०० रुपैयाँ छ । यसआधारमा नेपाल बैंकको हकप्रदपछि समायोजित सेयर भाउ प्रतिकित्ता २०० रुपैयाँ कायम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?