काठमाडौं । भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको छ । बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो ।
बैंकले रञ्जन कुमार थापालाई नेपालको प्रतिनिधि कार्यालयको प्रमुख नियुक्त गरेको छ ।
प्रतिनिधि कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र आईसीआईसीआई बैंकका प्रबन्ध सञ्चालक तथा सिईओ सन्दीप बक्सीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट गर्नुभएको थियो ।
प्रतिनिधि कार्यालयमार्फत बैंकले नेपालका बैंकहरुसँग नजिकमा रहेर काम गर्ने तथा दुई देशबीच लगानी, व्यापार, भुक्तानी र ट्रेजरी व्यापारमा सहजीकरण गर्नेछ । नेपालमा शाखा प्रतिनिधि कार्यालयको स्थापनासँगै बैंकका अन्तर्राष्ट्रिय शाखा प्रतिनिधि कार्यालयहरु विभिन्न १५ देशमा पुगेको छ ।
आईसीआईसीआई बैंक नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने भारतको पहिलो निजी क्षेत्रको बैंक हो ।