यसै साता नेप्सेमा सूचीकृत आधा दर्जनभन्दा बढी कम्पनीहरुले लाभांश घोषणा गर्ने चर्चा बजारमा आएपछि आइतबार ती कम्पनीहरुको शेयर मूल्य बढ्न पुगेको छ ।
कृषि विकास बैंक,नेपाल बैंक, सेन्चुरी बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी कम्पनी लिमिटेडलगायतका कम्पनीहरुले यसै साता लाभांश घोषणा गर्ने तयारी गरेका छन भन्ने हल्ला बजारमा फैलिएपछि ती कम्पनीको शेयर मूल्य आकासिएको हो ।
आधादर्जन कम्पनी मध्ये सबैभन्दा बढी हिमालयन डिस्टिलरीको शेयर मूल्य आज प्रतिकित्ता ३७० रुपैयाँले बढेर ४,४१५ रुपैयाँ पुगेको छ । गत वर्ष ५० प्रतिशत बोनस शेयर र ६२.६३ प्रतिशत नगद लाभांश वितरण गरेको उक्त कम्पनीले यसपाली ७० देखि ७५ प्रतिशत लाभांश दिने चर्चा बजारमा आएपछि शेयरको मूल्य बढेको लगानीकर्ताको भनाइ छ ।
यसैगरी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि यही साता २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने हल्ला बजारमा चलेपछि शेयर मूल्य बढेकाे हो । साताको पहिलो दिन आज आइतबार नेपाल लाइफको शेयर मूल्य १३५ रुपैयाँले बढेर २,०३५ रुपैयाँ पुगेको छ ।
साथै, सबैभन्दा पछिल्लो पटक सञ्चालनमा आएको ‘कान्छाे’ बैंकले परिचित सेन्चुरी बैंकले पनि यही साता लाभांश घोषणा गर्ने तयारी भइरहेको सूचना बजारमा आएपछि उक्त बैंकको मूल्य पनि ३.४४ प्रतिशतले बढेर २१० रुपैयाँ पुगेको छ । सेन्चुरी बैंकले बोनस र नगद गरी ७ प्रतिशत लाभांश दिने तयारी गरेको लगानीकर्ताहरुको भनाइ छ ।
त्यसैगरी, सरकारी स्वामित्वको कृषि विकास बैंकले पनि यही साता लाभांश घोषणा गर्दै छ भन्ने हल्ला बजारमा आएको छ । उक्त बैंकले २५ देखि ३० प्रतिशत लाभांश दिन सक्ने क्षमता भएको बताइन्छ ।
कृषि विकास बैंकको शेयर मूल्य पनि आज ३.१७ प्रतिशतले बढेर ५५२ रुपैयाँ पुगेको छ । यसैगरी, अर्को सरकारी स्वामित्वको नेपाल बैंकले पनि २० देखि २५ प्रतिशत लाभांश दिने तयारी गरेको सूचना बजारमा आएपछि उक्त बैंकको मूल्य पनि बढेर ४०२ रुपैयाँ पुगेको छ ।