Breaking News

शेयर बजारका चार खेलाडी, जसले शेयर बजारलाई यसरी चलाएमान गराइरहेका छन्

Dec Sun 2020 04:06:10

988 views

शेयर बजारका चार  खेलाडी, जसले शेयर बजारलाई यसरी चलाएमान गराइरहेका छन्

यति बेला बजारकाे खालमा चार किसिमका खेलाडीले दाउ हान्दै आएका छन्। उनीहरूले चार कुनामा बसेर शेयर खेलिरहँदा आम सर्वसाधारण भने च्याँखेमै रमाउन बाध्य भएका छन्। बजारका प्रमुख खेलाडीमा सबैभन्दा माथि बैंक बित्तिय संस्था छन्। दोस्रो खेलाडीमा बीमा कम्पनीहरू छन्,तेश्राेमा ब्रोकर कम्पनी र चौथोमा ठूला लगानीकर्ता छन्।

सुवास निरौला

चिन्नुहोस् शेयर बजारका चार नामुद खेलाडी,जसले शेयर बजारलाई यसरी खेलाउँछन्

खेलाडीहरू मध्ये सबैभन्दा माथि रहेका बैंक बित्तिय संस्थाले यति बेला शेयर बजारमा मनग्गे कारोबार गरिरहेका छन्। उनीहरूले बैंक बित्तिय संस्था बाहेकको शेयरमा राम्रो लगानी गरेका छन्। नियामक निकायको अङ्कुशका कारण उनीहरूले बैक बित्तिय संस्था बाहेकका कम्पनीमा मात्र लगानी गर्नुपर्छ। बैंक बित्तिय संस्थाले सबैभन्दा बढी चार कम्पनीको शेयरमा बढी खेलिरहेकाे देखिन्छ। 

उता दोस्रो खेलाडीका रुपमा रहेका बीमा कम्पनीहरूले भने यस अघि देखिनै दोस्रो बजारमा राम्रै लगानी गर्दै आएका छन्। बैंकहरुकाे भन्दा उनीहरूको लगानी अलि थोरै भए पनि उनीहरूले बैंक बित्तिय संस्थाको शेयर मूल्यलाइ उचाल्ने प्रयास गरिरहेका छन्। बैंक बित्तिय संस्थाको शेयर उचाल्ने प्रयास गरे पनि उनीहरू यो बुलमा सफल हुन सकिरहेका छैनन्। तर पनि प्रयास भने जारी राखेका छन्।

यस अघि बैंक बित्तिय संस्थाको पूँजी कम भएको कारण बीमा कम्पनीहरूले बोकेको कुनै पनि बैंकको शेयर मूल्य ह्वात्तै बढ्ने गर्थ्यो।तर यस पटक भने बैक बित्तिय संस्थाको पूँजी वृद्धिले गर्दा उनीहरूले बैंकले जस्तो सफलता पाउन सकेका छैनन् । लगानी गरिएका कम्पनीहरूको पूँजी र शेयर कम हुने भएकोले बैंकले यस पटकको बुलमा फाइदा लिएका छन् भने बीमाले यो पटकको बुलमा त्यति धेरै कमाएनन् ।

ब्रोकर कम्पनीहरूले पनि यस पटकको बुलमा राम्रै आम्दानी गर्न सफल भएका छन्। उनीहरूले होल्डमा रहेका शेयर बिक्री मार्फत मनग्गे आम्दानी गरेका हुन्। घट्दो बजारमा उनीहरूले निश्चित कम्पनीहरूको शेयर होल्ड गरेर बसेका थिए। बढ्दो बजारमा उनीहरूले निश्चित मुनाफा आएपछि बिक्री गरिसकेका छन्। 

बजारमा सबैभन्दा पहिले ब्रोकर कम्पनीहरूले प्राथमिक शेयरहरूलाई कर्नरिङ्ग गर्दै लैजान्छन्। उनीहरूले कर्नरिङ्ग गरेको शेयर नै बैंक बित्तिय संस्थालाई भिडाउने चलन रहेको छ। किनकि ब्रोकर कम्पनीमा व्यक्तिगत निर्णय हुने गर्छ भने बैंक बित्तिय संस्थामा संस्थागत निर्णय हुने गर्छ। बैंक बित्तिय संस्थाका सञ्चालकले बजारबाट शेयर किन्ने र तिनैको लहलहैमा ब्रोकर कम्पनीले पनि शेयर उठाउँछन्। निश्चित रेटमा उठाएको शेयरलाई संस्थागत निर्णय गराएर बैक बित्तिय संस्थालाई किनाउने प्रचलन छ। बैक बित्तिय संस्थाले किनेको रेटलाई हेर्ने हो भने त्यसले प्रस्ट पार्ने गर्छ।

शिवम् सिमेन्ट कै उदाहरण हेर्ने हो भने ब्रोकर कम्पनीले चार सय रुपैयाँ सम्ममा शेयर खरिद गरेका छन्। तर त्यही शेयर बैक बित्तिय संस्थाले ६ सय रुपैयाँ भन्दा माथिमा किनेका छन्। बजारमा पहिलो रोल ब्रोकर कम्पनीको हुने भएकोले पनि उनीहरूले यो बुलमा राम्रै आम्दानी गरेका हुन्।

ठूला लगानीकर्ता पनि यो बुलमा राम्रै देखिएका छन्। विशेष गरेर व्यक्तिगत रुपमा राम्रो शेयर होल्ड गर्नेहरू ठूला लगानीकर्ताको गनिन्छन्। उनीहरूले पनि निश्चित कम्पनीको शेयरमा होल्ड बढाएका छन्। तर उनीहरूले भने बैंक बित्तिय संस्थाकै भरमा शेयर किन्ने भएकोले उनीहरू तेस्रो नम्बरमा पर्ने गरेका छन्। बैक बित्तिय संस्थाबाट ऋण लिएर शेयर कारोबार गर्ने भएकोले जहिले पनि उनीहरू बैक बित्तिय संस्था भन्दा तल पर्छन।

तर उनीहरूले दैनिक कारोबारबाट बढी आम्दानी गर्ने गरेका छन्। कम नाफामा बढी काम गर्ने भएकोले उनीहरूकाे नाफा बढी हुने गर्छ। उनीहरूले कमाउने विधि भनेको स्टप लस हाे। संस्थागत लगानीकर्ताले स्टपलसको विधि अपनाउँदैनन्। ठूला लगानीकर्ताले स्टप लस विधि अपनाउने भएकोले उनीहरू हत्तपत्त घाटामा पर्दैनन्।

बजारबाट शेयर किने पछि नाफा भए मात्रै बेच्ने रणनीतिमा बैंक र बीमा कम्पनीहरूले काम गर्ने गरेका छन्। तर ठूला लगानीकर्ता भने मूल्यको माथिल्लो बिन्दु र तल्लो बिन्दु हिसाब गरेर लगानी गर्छन्। उनीहरू निश्चित रकम फाइदा भए पनि शेयर बेच्छन् र निश्चित प्रतिशत भन्दा तल मूल्य ओर्लिए  शेयरलाई माया गरेर राख्दैनन्। जसले गर्दा उनीहरू ठूलो नोक्सानीमा कहिल्यै पर्दैनन्।  

यी चारै खेलाडीले खेलिरहेको बजारमा सर्वसाधारण लगानीकर्ता भने सधैँ च्याँखे दाउमा रमाउने गर्छन। धेरै जसो सर्वसाधारण लगानीकर्ता बजार बढेपछि शेयर किन्न आउँछन्। उनीहरू घटेको बेला बजारमा प्रवेश गर्न डराउँछन्। उनीहरू डराएको फाइदा बजारका चारै खेलाडीले उठाउँछन्। जति बेला सबैभन्दा बढी बजार घटेको हुन्छ त्यति बेला चारै खेलाडीले शेयर आफ्ना पोल्टामा पारेका हुन्छन्। जब ब्रोकर कम्पनीले शेयर बिक्री गर्न थाल्छन् उनीहरूको शेयर बैक तथा बित्तिय संस्था र बिमा कम्पनीले खरिद गर्न थाल्छन्। त्यही बीचमा छोटो मार्जिनमा काम गर्दै ठूला लगानीकर्ताले शेयरको मूल्य बढाउन टेवा पुर्याउछन्। अन्तिममा बजार बढ्दै गरेको पत्र पत्रिका र आफ्ना आफ्ना आफन्तको मुखबाट सुनेर सर्वसाधारण बजारमा च्याँखे थाप्न आउन थाल्छन्। तब उनीहरूलाई सबैभन्दा बढी  नै शेयर भिडाएर चारै खेलाडी बजारबाट निस्कन शुरु गर्छन्।

अन्तिममा शेयर किन्ने सर्वसाधारण अर्को बुल र साइकलको प्रतीक्षा गर्दै शेयर होल्ड गर्नु पर्ने बाध्यतामा दिन गन्दै बस्ने गर्छन ।  

- साभार : Merolagani.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?