अहिले सेयर कारोबार अनलाइनबाट पनि सम्भव भएको छ । जसलाई हामी टीएमएस भन्छौं । नेप्सेका अनुसार अहिले औसतमा ८० प्रतिशतभन्दा बढी कारोबार अनलाइनबाट मात्रै हुन थालेको छ । टीएमएसको पूरा रुप हो, ट्रेड म्यानेजमेन्ट सिस्टम । यो अनलाइनबाट सेयर कारोबार गर्नका लागि प्रयोग गरिन्छ । परम्परागत रुपमा ब्रोकर कार्यालयमा गएर मौखिक वा लिखितरुपमा सेयर खरिद वा बिक्रीको आदेश दिएपछि मात्रै सेयर
कारोबार हुन्थ्यो । तर टीएमएस आइसकेपछि यो सेवा लिएका लगानीकर्ताले ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यता छैन । लगानीकर्ताले घर, कार्यालय वा आफू बसेकै ठाउँबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका डिभाइसमा लगइन गरी सेयर कारोबार गर्न सक्छन् ।
यसका लागि सबैभन्दा पहिले तपाईंले कुनै ब्रोकर कार्यालयमा गएर टीएमएस सेवा लिनुपर्ने हुन्छ । यो लिए वापत कुनै शुल्क लाग्दैन । ब्रोकर कार्यालयमा केवाई (नो युअर कस्टमर)फारम अपडेट गराएपछि टीएमएसका लागि फारम भर्नुपर्ने हुन्छ । ब्रोकर कार्यालय अनुसार सोही दिन वा भोलिपल्टसम्म तपाईंको इमेलमा टीएमएसको युजर नेम र पासवर्ड आउँछ ।
ब्रोकर कार्यालयलाई उनीहरुको नामसँगै १, २, ३ जस्ता नम्बरले पनि चिनिन्छ । यदि तपाई ब्रोकर नम्बर १ मा गएर टीएमएस सेवा लिनुहुन्छ भने तपाईंले www.tms01.nepsetms.com.np मा गएर ब्रोकर कार्यालयबाट उपलब्ध गराइएको युजर नेम र पासवर्ड टाइम गरी लगइन गर्नुपर्ने हुन्छ । ब्रोकर कार्यालयको नम्बर ब्राउजरमा टीएमएस लगइन गर्दा नै उल्लेख हुन्छ ।
यसरी युजर नेम र पासवर्ड आइसकेपछि तपाईंसँग भएको सेयर बिक्री गर्नका लागि कुनै समस्या छैन । तपाईंले विदाको दिन बाहेक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार गर्न सक्नुहुन्छ । त्यसबाहेक ती दिनमा विहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्मको १५ मिनेटको समयमा प्रि–ओपन सेसनमा पनि कारोबार गर्न सक्नुहुन्छ ।
टीएमएसबाट सेयर बिक्री गर्नका लागि तपाईंले अर्डरमा क्लिक गरेर सेल भन्ने अप्सनमा गइसकेपछि कम्पनीको नाम, बिक्री गर्न चाहेको सेयरको मात्रा र मूल्य लेखेर बिक्री गर्न सक्नुहुन्छ । यसरी बिक्री भए वा नभएको तत्कालै देख्न सकिन्छ । यसरी सेयर मूल्य राख्दा तत्कालको मूल्यभन्दा अधिकतम र न्यूनतम २ प्रतिशतसम्ममा राख्न सकिन्छ ।
त्यसैगरी टीएमएसबाट कुनै कम्पनीको सेयर खरिद गर्दा पनि बाइ अर्डरमा गएर कम्पनीको नाम, खरिद गर्न चाहेको कित्ता र मूल्य राखेर समिट गर्न सकिन्छ । तर यसका लागि तपाईंसँग खरिद गर्न लागेको कुल रकमको २५ प्रतिशत रकम टीएमएसमा धितोका रुपमा राख्नुपर्ने हुन्छ ।
तपाईंले ब्रोकर कार्यालयमार्फत् कनेक्ट आइपीएसमार्फत् टीएमएसको कोल्याट्रर राख्न सक्नुहुन्छ । कोल्याट्रलरमा जति रकम देखिन्छ त्यसलाई २५ प्रतिशत रकम मान्न सकिन्छ । जस्तै तपाईंको कोल्याट्रलमा २५ हजार रुपैयाँ छ भने तपाईंले १ लाख रुपैयाँसम्मको सेयर खरिद गर्न पाउनु हुन्छ । तपाईंले अर्डर र सेयर खरिद गरेसँगै धितोका रुपमा राखिएका कति रकम खर्च भयो भन्ने देखिन्छ । यदि तपाईंले सेयर खरिद गर्नु भयो भने त्यसवापतको पैसा ब्रोकर कार्यालय वा कनेक्ट आइपीएसमार्फत् भुक्तानी गरिसकेपछि धितो पुरानै अवस्थामा देखिन्छ ।
यसरी खरिद गरेको सेयर कित्ता ३ दिनभित्रमा तपाईंको खातामा आइसक्नुपर्ने व्यवस्था छ भने सेयर बिक्री गरे वापतको पैसा ३ दिनभित्र तपाईंको बैंक खातामा आइसक्छ ।
सेयर कारोबार गर्दा कति लाग्छ शुल्क ?
सेयर कारोबार भनेको खरिद वा बिक्री गर्नु हो । तपाईंले कुनै सेयर खरिद वा बिक्री गर्दा लाग्ने खर्च कतिको कारोबार हो भन्नेले अर्थ राख्छ ।
अर्थात् तपाईंले ५० हजार रुपैयाँसम्मको कारोबार गर्नु भएको छ भने ०.४ प्रतिशत शुल्क बुझाउनु पर्छ भने ५० हजारदेखि ५ लाख रुपैयाँसम्म ०.३७ प्रतिशत ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत शुल्क, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.३० प्रतिशत शुल्क १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत शुल्क लाग्छ ।
सेयर बिक्री गर्दा फाइदा भएको पैसामा मात्रै ५ प्रतिशत कर लाग्छ भने डिपी शुल्क भनेर प्रतिकारोबार २५ रुपैयाँ लाग्छ । त्यसबाहेक धितोपत्र बोर्डले पनि ०.०१५ प्रतिशत कमिसन लिन्छ ।