आईपीओ (सर्वसाधारण शेयर) निष्कासनका लागि अनुमति माग्दै पछिल्लो दुई महिना (वैशाख र जेठ)मै पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यीमध्ये दुईओटा जलविद्युत्, दुई बीमा र एक लघुवित्त रहेका छन् ।
उक्त कम्पनीले १ अर्ब ७७ करोड ९५ लाख रुपैयाँभन्दा बढीको १ करोड ७७ लाख ९५ हजारभन्दा बढी कित्ता शेयर विक्रीमा ल्याउन बोर्डमा आवेदन दिएका हुन् । कम्पनीहरूको उक्त आवेदनमाथि बोर्डले हाल प्रारम्भिक समीक्षा गर्दै छ ।
उक्त अवधिमा आवेदन दिएका कम्पनीहरूमध्ये युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कित्ता शेयरका लागि आवेदन दिएको छ । कम्पनीले जसले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याउने उल्लेख गरेको छ । कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
यस्तै सानिमा लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँबराबरको ६ लाख कित्ता शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो, जसको विक्री प्रबन्धकमा प्रभु क्यापिटल नै रहेको छ ।
अन्य कम्पनीहरूमा मानुषी लघुवित्ती वित्तीय संस्था (३ लाख ९३ हजार ७५० कित्ता), दोर्दीखोला जलविद्युत् (२९ लाख ५१ हजार ९२९ कित्ता) र अपर हेवाखोला हाइड्रोपावर कम्पनी (२० लाख कित्ता) रहेको बोर्डले जानकारी दिएको छ ।