नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर सहमति भाँडिएको छ । मर्जरसम्बन्धी विशेष प्रस्ताव हिमालयन बैंकको साधारणसभाबाट अस्वीकृत भएको हो ।
बैंकका हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जबराले बैंकका ठूला लगानीकर्ता विपक्षमा उभिएकाले विशेष प्रस्ताव पारित हुन आवश्यक ७५ प्रतिशत बहुमत नपुगेको बताए ।
गत वैशाख ३० गते हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर सहमति भए पनि बैंकका ठूला लगानीकर्ता कर्मचारी सञ्चयकोष र अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ पछिल्लो समय मर्जरको विपक्षमा थिए । हिमालयन बैंकका एक सञ्चालकका अनुसार मर्जर प्रस्तावमा मत विभाजन हुँदा अध्यक्ष श्रेष्ठ मर्जरको विपक्षमा उभिएका थिए ।
मर्जर सम्झौतापछि तीन महिनाभित्र एकीकृत कारोबार शुरु गर्न राष्ट्र बैंकबाट अनुमति पाएका यी दुवै बैंकले तोकिएको समयमा मर्जर प्रक्रिया पूरा गर्न सकेका थिएनन् । त्यसपछि पुनः तीन महिनाका लागि राष्ट्र बैंकले समय थप गरेको थियो ।
हिमालयन बैंकको साधारणभाबाट मर्जर प्रस्ताव नै विफल भएपछि भने अब मर्जरको सम्भावना टरेको छ । बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुन नसकेको कुरा लिखित रुपमा आएमा कारबाही अगाडि बढाउने बताएको छ ।
ती बैंकलाई कारबाही स्वरुप नियामकीय सुविधाहरुमा रोक लगाउने, लाभांश वितरणको स्वीकृति नदिने, शाखा खोल्न नदिने लगायतका कारबाही हुन सक्ने राष्ट्र बैंकको भनाइ छ ।