काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिकमा बैंकहरुले ३४ अर्ब २० करोड ८५ लाख रुपैयाँ बढी नाफा गरेका छन् । २७ वटै वाणिज्य बैंकहरुके चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरणका अनुसार बैंकहरुको नाफा गत आर्थिक वर्षको सोही त्रैमासिकको तुलनामा ३ अर्ब १२ करोड रुपैयाँले बढेको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासिकमा २७ वटै वाणिज्य बैंकहरुले कुल ३१ अर्ब ८ करोड रुपैयाँ नाफा गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा बैंकहरुको नाफा १० प्रतिशतले बढेको हो ।
यसअघि नबिल र एनआईसी एसिया बैंक नाफामा अगाडि भएको भएपनि चालु आवको दोस्रो त्रैमासिकको विवरण अनुसार भने ग्लोबल आईएमई बैंक नाफामा नम्बर वान बैंकको रुपमा देखिएको छ ।
ग्लोबल आईएमई बैंकले चालु आवको दोस्रो त्रैमासिकमा १५ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको सोही त्रैमासमा कुल २ अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको ग्लोबल आईएमई बैंककले चालु आवको दोस्रो त्रैमासिकमा २ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ । जुन सबै बैंकभन्दा बढी नाफा हो ।
यस्तै, नाफामा एनआईसी एसिया बैंक दोस्रो बनेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको एनआईसी एसिया बैंकले चालु आवको दोस्रो त्रैमासिकमा २ अर्ब ४० करोड रुपैयाँ नाफा गरेको छ । एनआईसी एसिया बैंकको नाफा गत आवको तुलनामा १६.४७ प्रतिशतले बढेको छ ।
नबिल बैंक नाफामा तेस्रो बनेको छ । यसअघि नाफामा नम्बर वान बन्ने नबिल बैंक यो पटक भने तेस्रो बनेको छ । नबिलले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १ करोड रुपैयाँ नाफा गरेकोमा चालु आवमा २ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही त्रैमासिकको तुलनामा ८.२० प्रतिशत बढी हो ।
यी तीन वटा वाणिज्य बैंकहरुबीच नाफामा प्रतिस्पर्धा देखिएको छ । तीन वटै बैंकहरुले दोस्रो त्रैमासिकमा २ अर्ब रुपैयाँ बढी नाफा गरेका छन् । यद्यपि, चालु आवको दोस्रो त्रैमासिकमा १६ वटा बैंकले १ अर्ब बढी नाफा गरेका छन् ।
१ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको राष्ट्रिय वाणिज्य बैंकदेखि १ अर्ब १ करोड रुपैयाँ नाफा गरेको माछापुच्छ«े बैंकबीच नाफामा प्रतिस्पर्धा देखिएको छ । १ अर्बदेखि साढे २ अर्ब रुपैयाँसम्म नाफा कमाउने बैकहरु १६ वटा छन् ।
यस्तै, ५० करोड रुपैयाँदेखि ९५ करोड रुपैयाँसम्म नाफा गर्ने बैंकहरु ११ वटा छन् । ती ११ वटा बैंकहरुबीच पनि नाफामा प्रतिस्पर्धा देखिएको छ । नाफामा सबैभन्दा कम सिभिल बैंक भएपनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने सिभिल बैंकले सबैभन्दा बढी नाफा गरेको छ । सिभिलले नाफा १४८ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २० करोड रुपैयाँ नाफा गरेको सिभिल बैंकले चालु आवको दोस्रो त्रैमासिकमा कुल ५० करोड रुपैयाँ नाफा गरेको छ ।
यस्तै, ६ वटा वाणिज्य बैंकको नाफा भने घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवको सोही अवधिमा ६ वटा वाणिज्य बैंकको नाफा घटेको हो ।