क्रिप्टोकरेन्सी लगायतका नेटवर्किङ व्यवसायले ग्राहकहरू ठग्ने गरेको भन्दै नेपाल राष्ट्र बैंकले सचेत गराएको छ । राष्ट्र बैंकले आज मङ्गलवार सूचना निकालेर धेरैजसो नेटवर्किङ व्यवसायले एउटा देशबाट कारोबार तथा सदस्य परिचालन गरी अर्को देशमा रहेका ग्राहकहरू ठग्ने गरेको पाइएको भन्दै सचेत रहन आग्रह गरेको हो ।
राष्ट्र बैंकले निकालेको सूचनामा यस्ता कारोबारमा विवाद भएमा लगानीकर्तासँग कानुनी उपचार नरहने भएकाले क्षतिपूर्तिसमेत नपाउने अवस्था आउन सक्ने उल्लेख छ । नेपालमा पनि जोसियल वान, क्राउड, सोलेम्याक्स ग्लोबल जस्ता संस्थाले आफूलाई मार्केटिङ कम्पनी दाबी गर्दै आइरहेका कुरा विभिन्न सञ्चारमाध्यममा आउने गरेका छन् ।
क्रिप्टोकरेन्सीमा भएको विकासबाट 'मल्टी लेभल मार्केटिङ' (एमएलएम) व्यवसायले पनि लाभ लिन थालेको पाइएको राष्ट्र बैंकले जनाएको छ । यस्ता व्यवसायले छोटो अवधिमा उच्च प्रतिफलको प्रलोभनमा पारी नयाँ ग्राहक बन्न प्रोत्साहन गर्ने, आफ्ना सदस्य ग्राहकमार्फत नयाँ व्यक्तिलाई क्रिप्टोकरेन्सी किन्न लगाउन प्रोत्साहन गर्ने र आफ्नो सञ्जालमार्फत बिक्री गरेबापत कमिसन दिने गरेको पाइएको छ ।
केही देशले व्यवसायीलाई भुक्तानीको रूपमा स्वीकार्न छुट दिएको भए पनि एल साल्भाडोर बाहेक कुनै पनि देशले क्रिप्टोकरेन्सीलाई लिगल टेन्डरको मान्यता नदिएकाले यो बाहेक अन्य देशमा यसलाई मुद्राको रूपमा भुक्तानीबापत स्वीकार्न कानुनी बाध्यता नरहेको राष्ट्र बैंकले प्रष्ट पारेको छ ।