Breaking News

राष्ट्र बैंकको कसिलो मौद्रिक नीति , साउनको पहिलो साताभित्र

Jul Tue 2022 11:04:53

632 views

राष्ट्र बैंकको कसिलो मौद्रिक नीति , साउनको पहिलो साताभित्र

आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ल्याउने तयारीमा नेपाल राष्ट्र बैंक जुटेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिका लागि विभिन्न सर्वसाधरणदेखि विज्ञहरुसंगको छलफल तथा सुझावका कार्यक्रम तिव्र रुपमा गरिरहेकाे छ ।   साउनको पहिलो साताभित्र आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्र बैंकका सहायक प्रवत्ता तथा सूचना अधिकारी नारायणप्रसाद पोखरेलले जानकारी दिए । 

मुलुकको अर्थतन्त्र नकारात्मक दिशामा रहेका बेला नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउनु पर्ने विज्ञहरुले सुझाव दिइरहेका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीति निकै कडा ल्याउनु पर्ने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल बताउँछन् । मौद्रिक नीति अत्यन्त सन्तुलित ल्याउनु पर्ने कुरामा जोड दिँदै उनी भन्छन्, ‘कर्जा विस्तारलाई कन्ट्रोल गर्ने खालको र बजारलाई सन्तुलित गर्ने खालको मौद्रिक नीति ल्याउनुपर्छ । वित्तीय क्षेत्रलाई सन्तुलित बनाएर विश्वास बढाउने मौद्रिक नीति आउनुपर्छ । आगामी आवको मौद्रिक नीति निकै कडा ल्याउनु पर्छ ।’   

पूर्व गभर्नर डा. नेपालले भनेझै नेपाल राष्ट्र बैंक पनि कसिलो मौद्रिक नीति ल्याउने तयारीमा जुटेको राष्ट्र बैंकका सहायक प्रवत्ता तथा सूचना अधिकारी पोखरेल बताउँछन् । उनी भन्छन्, ‘मुलुकको अर्थतन्त्र दबाबमा रहेको छ । यस्तो अवस्थामा हामीलाई मौद्रिक नीति कसिलो ल्याउनु पर्ने दबाब रहेको छ । सोहि अनुसार नै हामीले मौद्रिक नीति ल्याउने तयारीमा जुटेका छौं ।’ 

मौद्रिक नीतिसम्बन्धीका विभिन्न छलफल कार्यक्रममा पनि गभर्नर महाप्रसाद अधिकारीले खुकुलो मौद्रिक नीति नल्याउने बताइरहेका छन् । अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेका कारण यसको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरू प्रयोग गरेर मौद्रिक नीति ल्याउने गभर्नर अधिकारीको भनाई छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?