राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷०८० को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितोमा ४ करोडको सीमा नीति खारेज गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकल कर्जा सीमा खारेज गरेर १२ करोडको सीमा तोकेका हुन् ।
‘सेयरधितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु.१२ करोड कायम गरिने व्यवस्था राष्ट्र बैंकले गरेको छ’ गभर्नर अधिकारीले भने ।
शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइनेछ ।
नेपाल राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार १५० प्रतिशतसम्म राख्नुपर्ने ब्यवस्थालाई यथावत राखिएको छ । शुक्रबार सार्वजनिक गरिएको चालु आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिमा २५ लाख रुपैयाँ भन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने ब्यवस्था यथावत राखिएको हो ।
‘सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १ सय प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ,’ राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख छ । शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको गभर्नर अधिकारीले बताए ।