हालसम्म विभिन्न ६ बैंक मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्तक्षर गरिसकेका छन् । नेपाल इन्भेस्टमेन्ट (एनआईबिएल) र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा जानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरि एकीकृत कारोबार गरिसकेको छ । जसले गर्दा यसअघि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच भएको डिमर्जका कारण केही निराशा देखिएपनि नबिल र एनबि बैंकको एकीकृत कारोबारले उत्साह छाएको छ ।
हिमालयन र सिभिल बैंक
हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई गाभ्ने भएको छ । गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए ।
सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । अर्थात् हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियोमा सिभिल बैंकलाई गाभ्ने भएको हो । प्राप्तिपश्चात् बन्ने बैंकको नाम हिमालयन हुनेछ भने हिमालयन बैंकको सञ्चालक समिति नै यथावत् रहने सम्झौता भएको हो । प्राप्ति पश्चात् बन्ने बैंकको सीईओमा हिमालयन बैंकको अशोक राणा र वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् ।
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू
ग्लोबल आइएमई बैंक र बीओकेबीच असार २ गते मर्जर सम्झौता भएको थियो । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका थिए । दुबै बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर हुने सहमति भएको थियो । मर्जरपछि बन्ने बैंकको नाममा ग्लोबल आइएमई बीओके बैंक रहनेछ । साथै ग्लोबल आइएमईका रत्नराज बज्राचार्य बैंकको सीईओ बन्नेछन् ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता शेयर पाउने छ ।
मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी महादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ