Breaking News

सामाजिक सुरक्षा कोषबाट बिना धितो पनि सस्तो ब्याजमा ऋण पाउने यस्तो छ प्रक्रिया

Jul Sun 2022 01:53:57

536 views

सामाजिक सुरक्षा कोषबाट बिना धितो पनि सस्तो ब्याजमा ऋण पाउने यस्तो छ प्रक्रिया

सामाजिक सुरक्षा कोषले सस्तो ब्याजदरमा बिनोधितो पनि कर्जा दिने भएको छ । कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत भएसँगै योगदानकर्ताले अब बिना धितो पनि कर्जा दिने भएको हो । कोषका प्रवक्ता विवेक पन्थीले कोषले ऋण दिन भदौदेखि सुरु गर्ने बताए ।

पन्थीका अनुसार सेवाका लागि योग्य भएका योगदानकर्तालाई अनलाइन विधिबाट सेवा प्रवाह प्रारम्भ गरिनेछ । उक्त निर्देशिकामा ‘योगदानकर्ता घर सापटी’अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, घर मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था छ । निर्देशिका अनुसार कोषमा कम्तीमा तीन वर्ष अर्थात ३६ महिना योगदान गरेका योगदानकर्ताले कोषबाट सापटी लिन पाउनेछन् ।

यस्तै, कोषमा रकम जम्मा गरेका, उमेर र सेवा अवधिका आधारमा अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी प्रदान गर्न सकिने व्यवस्था कोषमा गरिएको छ । घर सापटी स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी रकम स्वीकृत हुनेछ । त्यसका लागि तीन प्रकारका विधिमध्ये जुन विधिमा रकम कम हुन्छ, त्यसअनुसार सापटी प्रदान गर्न सकिने व्यवस्था निर्देशिकामा छ ।

निर्देशिकाले ती तीन विधामध्ये पहिलो विधिअनुसार धितोका आधारमा ७५ लाख रुपैयाँ, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलबका आधारमा सापटी दिन सकिने व्यवस्था गरेको छ । कोषले योगदानकर्ताको शैक्षिक तथा सामाजिक कार्य सापटीमा ९.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै, धितो राखेरसँगै धितो बिना पनि कोषले योगदानकर्तालाई ऋण दिने जनाएको छ । योगदानकर्ताले जम्मा गरेको रकमको ८० प्रतिशत रकम कोषले ऋणका रुपमा दिनेछ । जसको ब्याजदर ९.१ तोकेको छ । योगदानकर्ताको रकमको ऋणमा भने कोषले ८ प्रतिशत मात्रै ब्याज लिने जनाएको छ ।

निर्देशिकाका अनुसार घर निर्माण गर्ने प्रयोजनका लागि घर सापटी प्रदान गर्दा कम्तीमा दुई किस्ता र अधिकतम चार किस्ता कायम गरिनेछ । पहिलो किस्ता भुक्तानी गर्दा स्वीकृत सापटीको बढीमा पच्चीस प्रतिशत र बाँकी किस्ता भुक्तानी गर्दा मूल्याङ्कनकर्ताले सिफारिस गरेको प्रगति विवरणको आधारमा कायम गरिने निर्देशिकामा उल्लेख छ । 

यस्तो छ प्रक्रिया

कोषबाट सापटी लिन चाहने योगदानकर्ताले सापटी माग फारामको विवरण भरी आफू कार्यरत कार्यालयको सिफारिसका साथ कार्यालयको छाप लगाई कोषको कार्यालयमा पेश गर्नुपर्ने ।

आवश्यक कागजात पेश गरी सापटी माग फारामका साथ यी कागजात पेश गर्नु पर्नेछ ।

१. निवेदकको नागरिकता र कोषले प्रदान गरेको परिचय पत्रको प्रतिलिपि, २. धितो राखिने जग्गाको जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि (नयाँ नापी भएको भए श्रेस्ता अद्यावधिक भएको हुनुपर्ने) ।

३. घर जग्गा प्राप्तिको स्वामित्व सम्बन्धी लिखत (राजीनामा, अंशवण्डा,वकसपत्र, छोडपत्र, दर्ताफारी आदि) को प्रतिलिपि, तर नामसारीको हकमा जग्गाधनी पूर्जामा नामसारी भएको व्यहोरा जनाइएको हुनुपर्ने ।

४. धितो राखिने जग्गाको नापी नक्साको सम्बन्धित निकायबाट प्रमाणित ब्लू प्रिन्ट र चार किल्ला खुलेको ट्रेस पेपरको सक्कल प्रति ।

५. धितो राखिने जग्गाको जग्गाधनी र निवेदक फरक व्यक्ति भएमा जग्गाधनीको नागरिकताको प्रतिलिपि ।

६. चालू आर्थिक वर्षको मालपोत बुझाएको रसिदको प्रतिलिपि ।

७. धितो राखिने जग्गाको जग्गा धनी र निवेदक फरक व्यक्ति भएमा निजहरू नाता खुल्ने प्रतिलिपी ।

८. घर खरिद गर्दा खरिदकर्ता र बिक्रिकर्ताबीच हुने सम्झौता ।

९. सम्बन्धित स्थानीय तहबाट प्रमाणित चारकिल्ला खुलेको सक्कल पत्र ।

१०. सम्बन्धित कार्यालयबाट प्रमाणित योगदानकर्ताको अवकाश हुने मिति तथा तलवमान खुलेको सक्कल पत्र ।

११. घर र जग्गा दुबै धितो राख्नु परेमा घर निर्माण सम्पन्न प्रमाणपत्र, तर जग्गाको मूल्याङ्कनले मात्रै सापटी रकमलाई खाम्ने भएमा जग्गाको मूल्याङ्कनबाट मात्र पनि सापटी गर्न सकिनेछ ।

१२. धितो राखिने घरको सम्पत्ति बिमाका कागजातकहरू ।

१३. कोषले आवश्यक ठानेका अन्य थप कागजातहरू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?