Breaking News

राष्ट्र बैंकको बिग मर्जर नीतिले बैंकको संख्या घट्यो, वाणिज्य बैंकहरुको संख्या १८ मा भन्दा कम हुदै

Jan Sat 2023 04:56:09

533 views

राष्ट्र बैंकको बिग मर्जर नीतिले बैंकको संख्या घट्यो, वाणिज्य बैंकहरुको संख्या १८ मा भन्दा कम हुदै

नेपाल राष्ट्र बैंकको पहलपछि वाणिज्य बैंकहरुको संख्या १८ वटामा झर्ने देखिएको छ। २७ बाट २१ मा झरेको वाणिज्य बैंकहरुको संख्या लक्ष्मी र सनराइज बैंक गाभिएपछि २० मा आउँदैछ।

यसबाहेक पनि राष्ट्र बैंकले अन्य चार संस्थालाई मर्जरको ताकेता गरिरहेको छ। यसले गर्दा संख्या १८ मा झर्ने देखिएको हो।

पछिल्लो समय नबिल र नेपाल बंगलादेश (एनबि) बैंक गाभिएपछि संख्या २६ मा झरेको थियो। त्यसपछि कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक गाभिएर २५ मा झरेको छ।

यसै साता तीन जोर बैंकहरु गाभिएर २२ मा झर्दैछन्। सोमबार ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू (बिओके) गाभिएर २४ मा आउँदैछ। भोलिपल्टै अर्थात मंगलबार प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक गाभिएर संख्या २३ मा आउने छ। बुधबार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल गाभिदा संख्या २२ मा हुँदैछ।

हिमालयन बैंक र सिभिल बैंकले पनि मर्जरका लागि वार्षिक साधारणसभा डाकेको छ। यी संस्था गाभिएपछि संख्या २१ मा आउने छ। सोमबार लक्ष्मी र सनराइज बैंकबीच मर्जरको सम्झौता हुँदैछ। उनीहरु मर्जर लगत्तै संख्या २० मा झर्ने छ।

नेपालमा कुनै बेला वाणिज्य बैंकहरुको संख्या ३२ सम्म पुगेको थियो। नयाँ लाइसेन्स बाँडिएको तथा ‘ख’ र ‘ग’ वर्गका संस्थाहरुलाई स्तरोन्नति गर्न दिइएका कारण संख्या बढेको थियो।

नेपाल राष्ट्र बैंकले चार वर्षदेखि ‘बिग मर्जर’ योजना अगाडि सारेको हो। अघिल्ला गभर्नर डा. चिरञ्जीवी नेपालले चुक्ता पुँजी वृद्धि योजना संख्या घटाउनका लागि लिएका थिए। तर राजनीतिक दबाबले हकप्रद दिने व्यवस्था गर्न उनी बाध्य भए। यसले गर्दा संख्या घटेन।

उनले कार्यकालको अन्तिम मौद्रिक नीतिमा ‘बिग मर्जर’ लाई प्राथमिकतामा राखेर केही सहुलियतहरु घोषणा गरेका थिए। उनको नीतिलाई अहिलेका गभर्नर महाप्रसाद अधिकारीले पहिलो मौद्रिक नीतिबाटै प्राथमिकतामा राखेका थिए।

तर, कोभिड संक्रमण र लकडाउनका कारण यो योजना अगाडि बढ्न सकेन। दोस्रो र तेस्रो मौद्रिक नीतिपछि उनले मर्जरलाई प्रोत्साहित गर्ने भन्दै ‘वान टु वान’ कुराकानी गरेपछि बैंकहरु दबाबमा परेका हुन्।

अर्कोतिर प्रमुख कार्यकारी अधिकृतहरुको कार्यकालका कारण पनि मर्जरले प्राथमिकता पाएको हो। अहिले मर्जरमा गएका बैंकहरुका प्रमुख कार्यकारीहरुको दुई कार्यकाल पुरा हुन लागेको छ। मर्जरमा नजाने हो भने कार्यकाल थप्न मिल्दैन। तर मर्जरका कारण अर्को एक कार्यकाल थप्ने सहुलियत छ। यही कारण पनि मर्जरमा बैंकहरु तातिएका हुन्।

राष्ट्र बैंकले अहिले सानिमा बैंक र माछापुच्छ्रे बैंकलाई मर्जरका लागि ताकेता गरिरहेको छ। यदि यी संस्थाबीच मर्जर भएमा संख्या १९ मा झर्ने छ। राष्ट्र बैंकले सिद्धार्थ, प्राइम, सिटिजन्स, एभरेष्ट बैंकलाई पनि मर्जरमा जान प्रोत्साहित गरिरहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?