वाणिज्य बैंकहरुले ३० अर्ब बढी नाफा कमाएका छन् । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।
चालु आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले ३० अर्ब १३ करोड ३७ लाख रुपैयाँ नाफा गरेका हुन् । यो गत वर्षको सोही अवधिको तुलनामा भने ११.८७ प्रतिशतले बढी हो । गत वर्षको सो अवधिमा बैंकहरुले २६ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ नाफा गरेका थिए ।हालसम्म २० वटा वाणिज्य बैंकहरुले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् ।
प्रकाशित विवरण अनुसार सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । चालु आवको ६ महिनामा नबिलले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ५६.६७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ नाफा गरेको छ ।
दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकले भने सो अवधिमा ३६.२७ प्रतिशतले वृद्धि भई ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ४० करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा भने लगभग बराबरी देखिएको छ । सो अवधिमा ग्लोबल आइएमईले २ अर्ब ७८ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा ४.४२ प्रतिशतले मात्रै बढी हो । राष्ट्रिय वाणिज्य बैंकको नाफा भने ५२.८८ प्रतिशतले बढेर २ अर्ब ७१ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंक भने नोक्सानीमा देखिएको छ । गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४२ करोड २५ लाख रुपैयाँ नाफा गरेको बैंकले यस वर्षको सोही अवधिमा भने १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा देखिएको हो ।
चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा कम नाफा सिभिल बैंकले गरेको छ । बैंकले सो अवधिमा ६३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको हो ।
चालु आवको पुस मसान्तसम्ममा सबैभन्दा धेरै नाफा बढाउनेमा एभरेष्ट बैंक देखिएको छ । बैंकले सो अवधिमा १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ८९.२९ प्रतिशतले बढी हो ।
सो अवधिमा स्टाण्डर्ड चार्टर्ड बैंकको नाफा ६१.३६ प्रतिशतले वृद्धि भई १ अर्ब ७५ करोड ३६ लाख, नेपाल एसबिआई बैंकको ५०.३९ प्रतिशतले बढेर १ अर्ब १७ करोड ७१ लाख, लक्ष्मी बैंकले ३१.७७ प्रतिशतले बढाएर १ अर्ब ७ करोड ७१ लाख रुपैयाँ नाफा गरेको छ ।
सो अवधिमा हिमालयन बैंकको नाफा २८.४२ प्रतिशत, सानिमा बैंकको १९.२३ प्रतिशत, एनएमबि बैंकको ११.०८ प्रतिशत, माछापुच्छ«े बैंकको १.४३ प्रतिशतले नाफा बढेको छ । यी बैंकहरुले क्रमशः ९५ करोड ४७ लाख, १ अर्ब २८ करोड ५३ लाख, १ अर्ब ९० करोड ११ लाख र १ अर्ब २ करोड ५२ लाख रुपैयाँ नाफा गरेका छन् ।
सो अवधिमा आधा दर्जन बैंकहरुको नाफा भने घटेको छ । चालु आवको पुस मसान्तसम्ममा सबैभन्दा धेरै नाफा सिटिजन बैंकको घटको छ । बैंकको नाफा ३२.११ प्रतिशतले घटेर ८४ करोड १३ लाख रुपैयाँ कायम भएको छ । यस्तै सिद्धार्थ बैंकको नाफा २६.३८ प्रतिशतले गिरावट आई १ अर्ब १६ करोड ११ लाख, नेपाल बैंकको १७.३९ प्रतिशतले घटेर १ अर्ब १७ करोड ६ लाख, सनराइज बैंकको १२.२८ प्रतिशतले घटेर ६५ करोड ३९ लाख रुपैयाँ कायम भएको छ ।
त्यसैगरि सो अवधिमा प्रभु बैंकको नाफा ४.२९ प्रतिशतले घटेर १ अर्ब १९ करोड ९ लाख प्राइम कमर्सियल बैंकको १.५८ प्रतिशतले कमी आई १ अर्ब ६५ करोड २० लाख रुपैयाँ कायम भएको छ ।