Breaking News

अमेरिकाको एकपछि अर्को गर्दै सिल्भरगेट, सिलिकन भ्यालीपछि सिग्नेचर बैंक पनि बन्द भयो

Mar Tue 2023 12:13:41

357 views

अमेरिकाको एकपछि अर्को गर्दै  सिल्भरगेट, सिलिकन भ्यालीपछि सिग्नेचर बैंक पनि बन्द भयो

अमेरिकामा सिलिकन भ्याली बैंक बन्द गरेको दुई दिनपछि त्यहाँका राज्य नियामकहरूले न्यूयोर्क स्थित सिग्नेचर बैंक पनि बन्द गराएका छन्। अमेरिकी नियामकहरूले आइतबार सम्भावित बैंकिङ सङ्कट रोक्नका लागि भन्दै न्यूयोर्कस्थित सिग्नेचर बैंक बन्द गराएका हुन्। ट्रेजरी, फेडरल रिजर्भ, र एफडीआईसीले आइतबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै बैंक बन्द भएको घोषणा गरेका हुन्। अमेरिकी इतिहासमा तेस्रो बैक बन्द भएको घटनाका रुपमा सिग्नेचर बैंक बन्द भए पनि यूएस ट्रेजरी डिपार्टमेन्ट र अन्य बैंक नियामकहरूले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सिग्नेचर बैङ्कका सबै निक्षेपकर्ताहरूको रकम सुरक्षित रहेको जनाएका छन्। 

अमेरिकाको सङ्घीय सरकारले टेक स्टार्टअप-केन्द्रित ऋणदातामा देखिएको समस्याका कारण पर्न सक्ने व्यापक नकारात्मक असरलाई रोक्न यस्तो घोषणा गर्नु परेको जनाइएको छ। 

सिग्नेचर बैंक न्यूयोर्क, कनेक्टिकट, क्यालिफोर्निया र नर्थ क्यारोलिना भरमा ३८ वटा निजी ग्राहक कार्यालयहरू भएको न्यूयोर्कमा आधारित वाणिज्य बैंक हो। यो बैंक सन् २००१ मा खोलिएको थियो।

यो सँगै अमेरिकामा पछिल्लो एक सातामा तीन वटा बैंक बन्द भएका छन्। शुक्रबार सिलिकन भ्याली बैंक बन्द हुनु अगाडि मार्च ९ मा सिल्भरगेट बैंक बन्द भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?