Breaking News

लघुवित्तहरुको लाभांश १५ प्रतिशतमा झार्न राष्ट्र बैंकको निर्देशन

Apr Sun 2023 02:30:12

216 views

लघुवित्तहरुको लाभांश १५ प्रतिशतमा झार्न राष्ट्र बैंकको निर्देशन

राष्ट्र बैंकले गत फागुन १० गते लघुवित्त वित्तीय संस्थाले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई परिपत्र जारी गर्दै विभिन्न निर्देशन दियो । लघुवित्तको व्यवसायदेखि सेयरधनीहरुलाई वितरण गर्दै आएको नाफामा राष्ट्र बैंकले कडाइ गर्याे ।

परिपत्र जारी गरेको दोस्रो दिन (फागुन ११ गते) सेयर बजारमा भारी गिरावट आयो । नेप्सेमा सूचीकृत अधिकांश लघुवित्तको सेयर मूल्य घट्यो । सो दिन नेप्सेमा ४५ वटा लघुवित्तमा नकारात्मक सर्किट लाग्यो भने अरु लघुवित्तको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको थियो ।

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध सडक आन्दोलनदेखि सदनमा चर्काे आवाज उठिरहेको छ । लघुवित्तका सञ्चालकदेखि कर्मचारीहरुले लघुवित्त विरुद्धको गतिविधिलाई अराजक र गैरकानुनी भन्दै आएका छन् । राष्ट्र बैंकले पनि विभिन्न कार्यक्रमहरुमा लघुवित्तको बचाउमा बोल्दै आएको भएपनि व्यवहारमा भने उल्टो गरिरहेको जानकारहरु बताउँछन् । जसले गर्दा लघुवित्तका लगानीकर्तामा नकारात्मक असर परेको उनीहरुको भनाइ छ ।

फागुन १० गते जारी गरेको परिपत्रले लगानीकर्तामा पारेको असरमा राष्ट्र बैंकले ‘आगोमा घ्यू’ थप्ने काम गरिरहेको लघुवित्तका जानकारहरु बताउँछन् । पुँजी बजारमा अन्य समूहभन्दा लघुवित्त समूहका संस्थाहरुको सेयर मूल्य उच्च छ । लगानीकर्ताको आकर्षण पनि लघुवित्तमा रहेको सेयर मूल्यले देखाउँछ । तर, राष्ट्र बैंकले लघुवित्त माथि गरेको कडाइका कारण पछिल्लो समय सेयर मूल्यमा गिरावट आएको लगानीकर्ताहरु बताउँछन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्था एक वर्ष अघि पुँजी बजारको ‘हट केक’का रुपमा कारोबार भइरहेको थियो । लघुवित्त वित्तीय संस्थाहरुको समूहमा सबैभन्दा उच्च मूल्य हुँदा जीवन विकास लघुवित्तका लगानीकर्ताहरु पनि उत्साहित थिए ।

सेयर मूल्य उच्च भएकै बेला कूल ७३.६८४२ प्रतिशत बम्पर लाभांश घोषणा गरेर सेयरधनीहरुलाई थप हौसला प्रदान गर्याे । जसले सेयर मूल्य झनै माथि पुर्याउन सहजीकरण गर्याे ।

लघुवित्तले २०७८ को चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले ७० प्रतिशत बोनस सेयर र ३.६८४२ प्रतिशत नगद गरी कूल ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । जतिबेला लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ५ हजारकै आसपासमा पुगेको थियो ।


यस्तै, लघुवित्तले दोस्रो पटक गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर र ९.३६ प्रतिशत नगद गरी कूल ३७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्याे । दोस्रो बजारमा कारोबार आएको २ वर्षमै लगानीकर्तालाई उच्च लाभांश खुवाउने संस्थाको रुपमा चिनाउन सफल जीवन विकास लघुवित्तको लाभांशमा राष्ट्र बैंकले कडाइ गरेपछि सेयर मूल्यमा गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?