Breaking News

फेसबुकको कुनै पनि पोस्टमा झुक्किएर ‘लाइक’ गर्दा यसरी स्क्यामको फन्दामा पर्नुहोला

Feb Tue 2020 05:40:48

240 views

फेसबुकको कुनै पनि पोस्टमा  झुक्किएर ‘लाइक’ गर्दा  यसरी स्क्यामको फन्दामा पर्नुहोला

मानिसहरूले अनलाइनमा बिताउने समयलाई फेसबुकले अविश्वसनीय तरिकाले परिवर्तन गरिदिएको छ। उदाहरणकै लागि हेर्ने हो भने, तपाईँले आफ्नो साथीहरूको जुनसुकै पोस्टमा पनि हचुवाको भरमा ‘लाइक’ गर्दै बसेको याद गर्नुभएकै होला। हुन त तपाईँले उनीहरूको पोस्ट ‘हेरेँ है?’ भन्ने मनसायले लाइक गर्नुहुन्छ। तर स्क्यामरहरूले तपाईँको यहि बानीको फाइदा उठाएर एक खतरनाक स्क्याम गरिरहेका हुन्छन्- “लाइकको खेती”

के हो लाइकको खेती?

फेसबुकमा सबैको ध्यानाकर्षण गर्ने खालको पोस्ट राखेर गलत तरिकाले लाइक र सेयर कमाउने विधिलाई नै ‘लाइकको खेती’ अथवा लाइक फार्मिङ्ग भनिन्छ। फेसबुकको काम गर्ने तरिका कस्तो छ भन्दा, जुन पोस्टमा जति धेरै लाइक, कमेन्ट र सेयर आउँछ, त्यहि पोस्ट सबैको वालमा देखिन्छ।

स्क्यामरहरूले यहि सुविधाको फाइदा उठाएर प्रयोगकर्ताहरूको व्यक्तिगत सूचना लुट्ने अथवा भाइरसयुक्त डाउनलोड गर्न लगाउने गर्छन्। अब सबैभन्दा ठुलो प्रश्न के छ भन्दा, यस्तो गरेको थाहा हुँदा हुँदै पनि फेसबुकले यस्ता पोस्टलाई किन केहि पनि गर्दैनन्? वास्तविक स्क्याम यहिँनेर छ।

स्क्यामले कसरी काम गर्छ?

स्क्यामरहरूले आफ्नो अपरेशनको प्रारम्भिक चरणको क्रममा कुनै पनि शङ्का-उपशङ्का नउठाउने खालको एउटा सामान्य बाटो पत्ता लगाएका छन्। उनीहरूले सुरुमा राख्ने पोस्ट त्यति हानिकारक अथवा खतरनाक हुँदैन। जोकोहिले राख्ने पोस्ट जस्तै सामान्य खालको पोस्ट हुन्छ। यतिबेलासम्म फेसबुकको स्क्याम जाँच गर्ने सफ्टवेयरले पनि त्यसमा कुनै हानिकारक तत्व फेला पार्न सक्दैन।

अनि जब त्यो पोस्टमा अलिअलि लाइक र सेयर बढ्दै जान्छ, तब स्क्यामरहरूले त्यसलाई इडिट गर्छन् अनि भाइरस राखिदिन्छन्। अब त्यसलाई विज्ञापन गर्ने हो कि, बेच्ने हो कि, प्रमोशन गर्ने हो, यी सबै थोक गरेर धेरैभन्दा धेरै प्रयोगकर्ताहरूबाट व्यक्तिगत सूचना जस्तै; क्रेडिट कार्डको जानकारी पाउने प्रयास गर्छन्।

तपाईँले पनि फेसबुकमा आफूले लाइक गरेका पोस्टहरूको इतिहास हेर्दै जानुभयो भने एकदमै विचित्र अनि हेर्दै खतरनाक खालको पोस्ट लाइक गर्नुभएको हुन सक्छ, जुन तपाईँले सातजुनीमा पनि लाइक गर्नुहुन्नथ्यो। बुझ्नुभयो नि? भन्न खोजेको, त्यस्तो खालको पोस्ट सुरुमा सामान्य हुन्छ, जसमा कुनै शङ्का गर्ने ठाउँ हुँदैन। तर पछि त्यहि पोस्ट अर्कै पोस्टमा परिवर्तन हुन्छ भने त्यस्तो पोस्टलाई ‘स्क्याम’ (Scam) भनिन्छ।

त्यसो भए, कस्तो खालका पोस्टहरू स्क्याम पोस्ट हुन् त?

स्क्याम पोस्टको एउटा राम्रो उदाहरण भनेको, यो ‘भावनात्मक’ अनि ‘भावुक’ खालको हुन्छ। जसले सजिलै लाइक र सेयर चोर्न सक्दछ। कुनै जनावरको उद्धार गरेको पोस्ट त पक्कै देख्नुभएकै होला, अथवा ‘यदि यो कुकुर क्युट लाग्यो भने लाइक गर्नुहोस्’ भन्ने खालको।

अर्को भनेको, “क्यान्सरसँग लड्दै गरेको एक बालिकाले लाइक मागिरहेकी हुन्छिन्, अनि जति धेरै लाइक पायो उति उसको क्यान्सरसँग लड्ने हौसला बढ्छ” भन्ने खालका अधिकांश पोस्टहरू पनि ‘लाइकको खेती’ गर्ने पोस्टहरू नै हुन्।

नेपालमा अधिकांश देखिने पोस्ट भनेको विहान-विहानै भगवानको फोटो देखाउँछन् अनि ‘लाइक गर्नुहोस्, तपाईँको दिन शुभ हुनेछ’ भन्छन्। यस्ता शङ्कास्पद पोस्टहरूबाट बच्नु जरुरी हुन्छ

सामान्यतयाः जुन पोस्ट जसले तपाईँको भावनासँग खेलेर लाइक गर्न बाध्य बनाउँछ, त्यस्ता पोस्टलाई लाइक नगर्दै ठीक हुन्छ। यदि तपाईँले त्यो पोस्टको मालिकलाई चिन्नुभएको छ वा तपाईँकै साथी हो भने चाहिँ छुट्टै कुरा हो। तर यस्ता पोस्टहरू स्क्याम हुनसक्ने सम्भावना बढि हुन्छ।

अन्य खालका स्क्याम पोस्टहरू कस्ता-कस्ता हुन्छन्?

फेसबुकमा यस्ता स्क्याम पोस्टहरू थुप्रै हुन्छन्, कतिपय स्क्यामरहरूले त यसलाई व्यापारकै रूपमा समेत सञ्चालन गर्न थालेका छन्।

सबैभन्दा चर्चित एउटा पोस्ट छ, जसले तपाईँले लाइक र सेयर गर्नुभयो भने केहि अनौठो र अमूल्य वस्तु जित्नुहुनेछ। अधिकांश बेला एप्पलले कुनै नयाँ आइफोन वा आइप्याड लञ्च गर्यो भने यस्ता स्क्यामहरू देख्न सकिन्छ।

फेरि कुनै-कुनै त केवल फेसबुक पोस्ट मात्रै नि हुँदैनन्। स्क्यामरले त्यसमा आफ्नै एउटा वेबसाइट समेत लिङ्क गरेको हुन सक्छ, जस्तै; जयशम्भो.कम, अथवा कुनै आधिकारिक कम्पनीको जस्तै वेबसाइट पनि हुन सक्छ। यस्तो पोस्टले तपाईँको फेसबुक पासवर्ड, ई-मेल पासवर्ड, बैङ्क अकाउण्डको पासवर्ड आदि लुट्न सक्छन्। त्यसलगायत, तपाईँको अथवा तपाईँको साथीको फेसबुक वालमा नराम्रा भिडियो (अश्लील भिडियो) पोस्ट गरिदिने सम्भावना पनि हुन्छ।

स्क्यामबाट कसरी बच्ने?

यस्ता ‘लाइकको खेती’ गर्ने स्क्याम पोस्टबाट बच्ने एउटै उपाय भनेको तपाईँले जे लाइक अथवा सेयर गर्नुहुन्छ, त्यसलाई राम्रोसँग केलाउनुहोस्, बुझ्नुहोस्। सबैकुरामा हचुवाको भरमा लाइक गर्ने नगर्नुहोस्। कसले सेयर गरेको पोस्ट हो अथवा कसले पोस्ट गरेको हो, त्यो हेर्नुहोस्। तपाईँले चिनेको पनि हुन सक्छ, कहिल्यै नबोलेको नभेटेको अञ्जान व्यक्ति पनि हुन सक्छ। यो कुरा पत्ता लगाउनु आवश्यक हुन्छ।

यदि यसले तपाईँलाई लाइक अथवा सेयर गरेबापत केहि दिन्छ भन्ने वाचा गरेको छ भने त्यो स्क्याम हुन सक्ने सम्भावना बढि हुन्छ।

अनि अर्को एउटा उपाय भनेको, तपाईँले फेसबुकको पासवर्ड हरेक हप्ता अथवा महिनामा परिवर्तन गरिराख्नु आवश्यक हुन्छ।

SOURCE: Nepaliheadlines

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?