Breaking News

हेपाटाइटिस सी ले कलेजोको सिरोसिस र क्यान्सर निम्त्याउँदै, कसरी हुन्छ हेपाटाइटिस सी ?

Feb Tue 2020 05:40:59

612 views

हेपाटाइटिस सी ले कलेजोको सिरोसिस र क्यान्सर निम्त्याउँदै, कसरी हुन्छ हेपाटाइटिस सी ?

हाम्रो मुलुकमा कलेजोको रोग हेपाटाइटिस सीले हजारौंलाई शान्त मृत्यु दिइरहेको छ । विशेषज्ञहरूका अनुसार, शुरुमा यो रोगको कुनै प्रभाव देखिँदैन, तर जब देखिन्छ त्यतिखेर मृत्यु अगाडि नै उभिइसकेको हुन्छ । अर्थात्, हेपाटाइसिस सी लागेपछि मृत्युवरण गर्नुबाहेक उपाय हुन्न, चिकित्साको कुनै विकल्प हुन्न ।

हाम्रो मुलुकमा करिब १ लाख २० हजार जनालाई हेपाटाइटिस सी भएको अनुमान गरिन्छ । तैपनि अधिकांश प्रभावितलाई आफूले यो रोगको भाइरस बोकिराखेको सत्यसम्म थाहा छैन ।

हेपाटाइटिस सी भाइरस (एचसीभी) ले तीव्र वा दीर्घ हेपाटाइटिस सी संक्रमण उत्पन्न गर्न सक्छ । यसले केही साता सामान्य बिरामी पार्नुदेखि लिएर जीवनपर्यन्त गम्भीर रोगीसमेत बनाउन सक्छ । रगतका माध्यमले स्वस्थ व्यक्तिमा सर्ने यो रोगको संक्रमण भएपछि तत्काल उपचार थाल्दा ९० प्रतिशत व्यक्तिलाई निको हुन सक्ने सम्भावना त हुन्छ, तर जागरुकताको अभावमा हाम्रो मुलुकमा यो रोगले छोएपछि मृत्युवरण गर्नुपर्ने स्थिति छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, हेपाटाइटिस सीसँग सम्बन्धित कलेजो रोगबाट विश्वभरिमा वर्षेनी ७ लाख व्यक्तिको मृत्यु हुन्छ । हालसम्म कुनै खोपको आविष्कार हुन नसकेको यो रोगबाट विश्वव्यापी रुपमा १३ करोडदेखि १५ करोड जनासम्म दीर्घ रोगी बनेका छन् । दिर्घ रुपमा यो संक्रमणले प्रभावित भएकामध्येबाट उल्लेख्य रूपमा कलेजोको सिरोसिस वा कलेजोको क्यान्सर विकसित हुन्छ ।

एन्टिभाइरल औषधिले करिब ९० प्रतिशत हेपाटाइटिस सी संक्रमणलाइ निको पार्न सक्छ । औषधिले संक्रमितहरूमा कलेजोको सिरोसिस र क्यान्सरबाट मृत्यु हुने जोखिमसमेत कम गर्ने डब्लुएचओले उल्लेख गरेको छ ।

‘हेपाटाइटिस सी भाइरसले तीव्र र दीर्घ दुइटै किसिमको संक्रमण उत्पन्न गर्छ’, वीर अस्पतालको लिभर युनिटका प्रमुख प्राडा अनिलकुमार मिश्र भन्छन्, ‘यसको तिव्र संक्रमण हुँदा सामान्यतया कुनै लक्षण वा ज्वरो आउँदैन ।’

करिब १५ देखी ४५ प्रतिशतसम्म एचसीभी संक्रमित व्यक्तिमा आफैँ विनाकुनै उपचारले छ महिनामा यो भाइरस समाप्त हुने उल्लेख गर्दै मिश्र भन्छन्, ‘वाकी रहेका ५५ देखी ८५ प्रतिसतसम्म व्यक्ति ले दिर्घकालिन एचसिभी संक्रमण विकसित गर्छन् । यस्ता दिर्घकालिन संक्रमण भएकामध्ये १५ देखी ३० प्रतिसतमा २० वर्षको अवधिमा कलेजोको सिरोसिस वा क्यान्सर विकसित हुने सम्भावना हुन्छ ।’

यो संक्रमण जतिखेर थाहा पाइयो, त्यति बेलै तुरुन्त उपचार शुरु गर्नु पर्छ ।

कसरी हुन्छ हेपाटाइटिस सी यो संक्रमण मुख्य रुपमा रगतजन्य पदार्थका माध्यमले संक्रमितबाट स्वस्थ व्यक्तिमा सर्छ । संक्रमित रगत वा रगतका विभिन्न अवयवहरू उपयोग गर्नाले पनि संक्रमण हुन्छ । औषधिलाइ सुईको माध्यमले हाल्ने उपकरण साझा गर्नाले समेत यो रोग सर्छ । यस्तै, निर्मलीकरण नगरिएको चिकित्साजन्य उपकरणको प्रयोग समेत यो संक्रमणको जोखिम बढाउछ । सक्रमित व्यक्तिसंग असुरक्षित यौन क्रिया गर्दासमेत यो संक्रमण हुन सक्छ । यति मात्र नभएर, संक्रमित आमाबाट समेत सन्तानमा यो रोग आउन सक्ने सम्भावना हुन्छ । तर यो स्तनपानबाट सर्दैन । खाना, पानी, सामान्य सम्पर्क (जस्तै : अँगालो, चुम्बन, खाना वा पेय पदार्थ साटासाट) बाट सर्दैन ।

जोखिममा को ? कुनै पनि प्रकारले अन्य व्यक्तिको रगतको सम्पर्कमा आएकाहरू यो रोगको जोखिममा हुन्छन् । सुइको माध्यमले ड्रग लिने व्यक्तिहरू यसको जोखिममा सबैभन्दा बढी छन् । हाम्रो मुलुकमा इन्जेक्सनको माध्यमले ड्रग लिने करिव ९० प्रतिसत व्यक्तिमा हेपाटाइटिस सी भेटिएको छ । दुई/अढाई दशक अघि शल्यक्रिया गराएकाहरूमा समेत यो संक्रमण हुन सक्ने सम्भावना देखिएको छ । सडक छेउ भएका एउटै ब्लेडले कपाल वा दाह्रीजुँगा काट्ने शैलुनबाट समेत यो सक्रमण भएका प्रसस्त उदाहरण रहेको डा. मिश्र बताउछन् ।

लक्षण यो रोगको भाइरस शरिरमा प्रवेस गरेको दुई सातादेखि छ महिनाभित्र रोगको लक्षण देखा पर्छ । प्रारम्भिक संक्रमण हुदाताका करिव ८० प्रतिसत व्यक्तिमा कुनै बाहिरी लक्षण देखिदैन । तर तीव्रतापूर्वक लक्षण देखिनेहरूलाई खानाको रुची कम, पेट दुखाइ, ज्वरो, वान्ता, पिसाब पहेलो, थकाइ, वाकवाकी, जोर्नी पीडा, जण्डीस आदि हुने गरेको छ ।

यो संक्रमणबारे कसरी थाहा पाउने ? सामान्यतया हेपाटाइटिस सीको संक्रमणको कुनै लक्षण देखिँदैन । त्यसैले यसको लागि रगतको परिक्षण गराउनु नै सबैभन्दा राम्रो हुन्छ । लिभर फंग्सन टेष्टमा इन्जाइम बढेको देखिए हेपाटाइटिस सीको समेत शंका गरेर परिक्षण गराउनु पर्ने डा. मिश्र सुझाउँछन् ।

उपचार हालै यसको नया एन्टिभाइरल औषधि आएको छ । डव्लुएचओका, अनुसार यसलाइ डाइरेक्ट एन्टिभाइरल एजेन्ट (डीएए) भनिन्छ । यो औषधि धेरै बढी प्रभावकारी, सुरक्षित र यस अघिका उपचार प्रकृयाहरूभन्दा राम्रो मानिएको छ । धेरैजसो संक्रमितहरूमा १२ साताको औषधि, उपचार पछि यो संक्रमण निको हुन्छ । मिश्रका अनुसार सामान्यतया १२ साता सम्म निरन्तर चक्की सेवन गरे पछि यो संक्रमण निको हुन्छ । तर विशेष परिस्थितिमा भने २४ सातासम्म औषधि खानु पर्ने हुन्छ । १२ साताका लागि उपयोग गर्दा यो औषधिमा करिव डेढ लाख खर्च हुन्छ ।

मदिराले ज्यान लिन्छ अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित एउटा अध्ययनका अनुसार, मदिरा सेवनले कलेजो खराब हुने र हेपाटाइटिस सी भाइरसले हुने मृत्युको खतरा बढाउँछ ।

हेपाटाइटिस सीले पिडित धेरै जसो व्यक्ति या त पहिले वा वर्तमान समयमा बढी मदिरा सेवन गर्ने हुन्छन् । हेपाटाइटिस सीका बिरामीलाइ मद्यापानले अति हानि गर्छ ।

मदिराले हेपाटाइटिस सीबाट पिडित व्यक्तिको अंगमा रेसायुक्त तन्तु बन्ने रोग फाइब्रोसिस र कलेजोको सामान्य काममा बाधा उत्पन्न गर्ने रोग सिरोसिसलाइ तिव्र गतिले बढाउछ ।

हेपाटाइटिस सी भएकामा क्यान्सरको खतरा दोब्बर

एउटा अध्ययन अनुसार, हेपाटाइटिस सी भाइरसबाट संक्रमित व्यक्तिहरूमा मृगौला, कलेजो, प्रोस्टेट जस्ता फरक–फरक क्यान्सर हुने खतरामा समेत बढ्छ । सामान्य व्यक्तिको दाँजोमा हेपाटाइटिस सी संक्रमितमा क्यान्सरको सम्भावना दोब्बरभन्दा बढी हुन्छ । यो अध्ययन गत वर्ष अस्ट्रियामा भएको अन्तर्राष्ट्रिय कलेजो सम्मेलनमा प्रस्तुत गरिएको थियो ।

http://bit.ly/2a0nX9s

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?