साउने पूर्णिमालाई जनैपूर्णिमा अथवा रक्षाबन्धनको रूपमा मनाइन्छ । हिन्दुहरू यस दिन पुरानो परिवर्तन गरी नयाँ जनै लगाउँछन् । हातमा रक्षा धागो बाँधिन्छ । भारततिर बहिनीहरूले भाइको रक्षा होस् भनी हातमा राखी बाँधिदिन्छन् । नेपालको सुदूर तथा मध्यपश्चिमी भागमा जनै लगाउने तथा रक्षा बाँध्ने काम त हुन्छ नै, त्यस बाहेक हिमालयको उच्च शिखरहरूमा बसोबास गर्ने विभिन्न देवीका थानमा जात्रा धुमधामसाथ मनाइन्छ ।
सुदूर पश्चिमको प्रसिद्ध चाड गौरापर्वमा पार्वतीको विवाह शिवसँंग भएपछि प्रचलित फागमा मस्टोले आफ्नी बहिनी गौरीलाई कर्मघर, कैलाशतिर जान अनुरोध गर्छन् । त्यसतर्फको विकट पहाड र हिमाल देखेर देवी भाइ मस्टालाई भन्छिन्, ‘मलाई पठाउन लागेको ठाउँमा हिउँ र जंगल छ । अनकन्टार पहाडमा बस्ने ठाउँ र खाने साधन पनि छैन । सुखसुविधामा बाँचिरहेकी म त्यो परिवेशमा कसरी आफूलाई ढाल्न सकौंला । दाज्यू, तपाईं आफू यस्तो रमाइलो ठाउँमा बसिरहनुभएको छ ।’
उनी आमालाई रुँदै भन्छिन्, ‘सुनको ढोका तथा चाँदीका पल्ला भएको नौतले दरबारबाट म त्यस्तो केही नहुने पहाडमा कसरी बस्न सकौंला । आफूसंँगै खेल्ने गरेका साथी—संगाती र दिदीबहिनीहरू सबै यतै छन् । जाने बाटो पनि अप्ठेरो र रुखवृक्ष समेत नहुने ठाउँमा म कसरी बसौंला ?’ उनलाई रोएको देखेर मस्टाले कबोल गरे, ‘बहिनी तिमीले त्यसको लागि चिन्ता नगर्नु । त्यो उचाइमा दाल, चामल, दूध, घिउ, मयुरको प्वाँख, नौरंगी वस्त्रसमेत पुर्याउनेछु ।’ दाजुले विश्वास दिलाएपछि उनी त्यसतर्फ जान तयार भइन् । त्यसकारण मस्टाले आफ्नो पालीमार्फत प्रसाद, भेटी र खानेकुरा लैजान्छन् । यसबाट मस्टाको वचन पनि पुरा हुने र व्यक्तिगत रूपमा दैवी आशिर्वाद प्राप्त हुने गर्छ । मस्टाको पालीका मानिसले नेपालको झण्डा आकारको ध्वजासमेत बोकेर लग्छन् र देवीको मन्दिरमा निगालोको लट्ठीमा राखेर ठड्याउँछन् ।
सुर्मादेवी थलीबाट शुद्धता र स्वच्छताको लागि सुर्मासरोवरतर्फ जाँदा दाजुको अनुमति लिन बान्नीमा मस्टालाई भेटेर गएकी थिइन् । मस्टाले उनलाई विदाइ गर्दै भनेका थिए, ‘म प्रत्येक जनैपूर्णिमामा कोसेलीको रूपमा अन्नी फाँको पुर्याउँला ।’ त्यही वचनअनुसार मस्टोका पाली (पूजक)हरू जनैपूर्णिमाको दिन सुर्मासरोवर जान्छन् ।
अछाममा रहेका वैजनाथले आफ्नी बहिनी मालिकालाई मालिका पर्वतमा बस्न पठाएका थिए । मालिकाको झोडामा बयान गरिएको प्रसङ्गमा मालिकाको दुई बहिनी कालिका र मालिकाको विवाह हिमालय पर्वतको कैलाशमा रहेका शिवसँंग गरिदिएको र दाजु वैजनाथले बहिनीहरूलाई जहाँ विवाह भएको छ, त्यतै हिमालयतिर जाऊ भनेकोमा बहिनीले दाजुलाई ‘आफू सुविधासम्पन्न ठाउँ वैजनाथको पञ्चपुरी पाटनमा बस्नुहुन्छ । हामी त्यस्तो उकालो—ओरालो (बिम्कोट) अनकन्टार ठाउँ र असजिलो बाटो भएको ठाउँमा कसरी जाउँला र बसौंला’ भनेर सोधिन् । वैजनाथले ‘पाटनको ध्वजा र भेटी वैजनाथको नयाँ अछेता त्यही पुर्याउँला’ भनी कबुल गरे । त्यसै भएर प्रत्येक वर्ष वैजनाथले आफ्नी बहिनीलाई अक्षताको लागि चाँदीको बट्टामा राखेको धानको बाला र साफेका सिर्याउला (धान उमालेर कुटेको चामल) सहितको पूजा सामग्री पठाउने गरेको मान्यता छ । साथै उनलाई डोटी जर्नेली अड्डामा रहेको गोरखनाथका पूजा सामग्रीसहितको गोरखालीहरूको पेटारोमा लिङ्गो, ध्वजा–नेजा, दिपायलको भुरुडिर जुम्लाबाट चन्दननाथ बाबाको पूजा सामग्री पठाइन्छ ।
उच्च शिखरमा पर्ने जात्राहरूमा मुख्य रूपमा सुर्मासरोवर, बडीमालिका र बुढीनन्दाको जात्रा र कर्णाली क्षेत्रको स्वामी कार्तिकज्यू, छायानाथमा पर्ने जात्रा हुन् । साथै दार्चुला, बझाङ, मुगु, बाजुरा, हुम्ला, कालिकोट, जुम्ला, डोटी, बैतडी, अछाम र डडेलधुरा लगायत अन्य ठाउँका विभिन्न उच्च शिखरहरूमा देवी र अन्य दैवीशक्ति रहेको स्थानमा लाग्ने जात्रामा विभिन्न ठाउँका हजारौं तीर्थालु उक्त दिन ती स्थानतर्फ जाने गरेका छन् । अन्य ऋतुहरूमा त्यहाँ हिउँ जमिरहने र यो मौसममा जाडो भए पनि हिउँ पग्लिएको हुन्छ । भक्तहरू तिनीहरूको पूजा गर्न जनैपूर्णिमाको अघिल्लो दिन वा त्यही दिन पारेर पूजा गरी फर्कन्छन् । तिब्बतमा पर्ने मानसरोवरका तीर्थयात्रीसमेत सम्भव भएसम्म यही दिन सरोवरमा स्नान गरेर आफूलाई पवित्र पार्छन् ।
मान्यताहरू जे भए पनि देवीलाई स्वच्छता र पवित्रताको दृष्टिकोणले यो क्षेत्र मन पर्छ । उच्च हिमाली भेगमा पाइने भोजपत्र रहेको ठाउँमा शुद्धता रहेको विश्वास गरिन्छ । भोजपत्रका सम्बन्धमा एउटा मान्यता के छ भने यो रुख देवीहरू बस्ने उच्च पहाडी भेगमा मात्रै उम्रन्छ । मालिकाको प्रचलित मांगलअनुसार देवीले विन्ध्याचलमा जन्म लिएर हिमालयलाई आफ्नो राज्य रोजिन् । उनी चार महिना हिमाल र नौ महिना माल (मैदान) तर्फ बस्ने गरेको विश्वास गरिन्छ । माल भनिने विन्ध्याचल पर्वतमा बसोबास गर्ने भएकोले उनलाई विन्ध्यवासिनी भनिएको हो । मस्टोले नै उनलाई यस क्षेत्रको सुख र समृद्धिको लागि पहाडतर्फ आई उच्च हिमाली भागमा विराजमान भइदिन अनुरोध गरेको र देवी मस्टाका साथमा पहाडतर्फ आएको स्थानीय मान्यता छ । पृथ्वीमा मस्टोलाई देवीको सम्पूर्ण पूजाको व्यवस्था मिलाउने मुख्य शक्तिको रूपमा मानिन्छ । जनैपूर्णिमाको दिन मस्टो देवता आफ्नो कबोलअनुसार देवीको पूजा गर्न भक्तहरूका साथ हिमाली भेगको उच्च शिखरमा गई पूजाको व्यवस्था मिलाउँछन् । ती उच्च स्थानहरूमा जनैपूर्णिमा बाहेक अन्य दिन गएमा देवीको अनुपस्थितिमा राक्षसहरूले क्षति पुर्याउँछन् भन्ने मान्यता रहिआएको छ ।
खड्का मस्टो : संस्कृति र परम्पराका लेखक हुन् ।