बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंक तथा वित्तीय संस्थाले आज प्रकाशित गरेको सूचनाअनुसार बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् । बैंकहरूले प्रकाशित गरेको ब्याजदर समयावधिको हिसावले कम र बढी छ ।
कतिपय बैंकहरूले कर्जाको ब्याजदर समेत घटाएर प्रकाशित गरिसकेका छन् भने कतिपयले बेसरेटको आधारमा फिक्स गर्ने सूचनामा उल्लेख गरेका छन् । नेपाल राष्ट्र बैंकले पुराना कर्जाको ब्याजदर गणनामा त्रैमासिक रुपमा आधारदरको गणनाको व्यवस्था गरेअनुसार यथावत छ भने नयाँ कर्जाको ब्याजदर भने केही सस्तिएको छ ।
बजारको मागलाई सम्बोधन गर्नका लगि ब्याज घटाएको बैंकर्स संघले जनाएको छ । ‘कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६ प्रतिशत हाराहारीमा आएको छ र बैंकहरूसँग २ खर्ब हाराहारी ऋण दिने क्षमता छ,’ संघले भन्यो ‘ब्याज महँगो भएका कारणले कर्जा प्रवाह त्यति हुन सकेको छैन अर्थात डिमाण्ड छैन । अर्थशास्त्रको सिद्धान्त अनुसार माग बढी भएको बेला ब्याजदर बढ्ने र कम भएको बेला घट्ने हो । सोही अनुरुप बजार निर्देशित भएको हो । आपूर्तिको सन्तुलन मिलाउन मूल्यमा ब्याजदर घटाएका हौं ।’
अब माघ महिनामा कुन बैंकका निक्षेप राख्दा बढी ब्याज पाइन्छ र कुन बैंकबाट कर्जा लिँदा सस्तो दरका पाइन्छ यहाँ उल्लेख गरिएको छ । कुमारी बैंकले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार ३ महिना वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत कायम गरिएको छ । रेमिट खाताको ब्याजदर १२ प्रतिशत कायम गरिएको छ भने ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको छ । संस्थागत मुद्दति खातामा बिडिङ रेटअनुसार ०.५ प्रतिशतले बढाएर दिइने सूचनामा उल्लेख छ ।
कुमारी बैंकको मंसिरको बेसरेट ११.१९ प्रतिशत रहेको छ । लोनको ब्याजदर बेस रेटको २ देखि ६ प्रतिशत प्रिमियम जोडेर आउने अंक बराबर गरिएको छ । कुमारी बैंकले लामो अवधिको कर्जाको ब्याजदर भने घटाएको छ । १ देखि ५ वर्ष अवधिको कर्जाको ब्याजदर १३ प्रतिशत, ५ देखि १० वर्षको १३.५० प्रतिशत, १० वर्षभन्दा बढी अवधिको कर्जाको ब्याजदर १३.७५ प्रतिशत कायम गरेको बैंकले उल्लेख गरेको छ ।
ग्लोबल आइएमई बैंकले पनि निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेको छ । बचत खाताको ब्याजदर ६.४२ देखि ८.४२ प्रतिशतसम्म कायम गरिएको छ भने मुद्दति निक्षेप तथा कल अकाउण्टको ब्याजदर र ३.२१ प्रतिशतसम्म तोकेको छ । ।
यो बैंकको असोजको बेस रेट १०.१९ प्रतिशत रहेको छ । अधिकांश लोनको ब्याजदर बेसरेटमा २.५० देखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कायम गरिने सूचनामा उल्लेख छ । निश्चित अवधिका लागि स्थिर ब्याजदरतर्फ बैंकले विभिन्न लोन प्रडक्टमा ११.९९ देखि १४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले पनि माघका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, संस्थागतको ९ प्रतिशत र रेमिटयान्स खाताको १२ प्रतिशत कायम गरेको छ ।
रिकरिङ फिक्स्ड डिपोजिटतर्फ १२ महिनासम्मको ब्याजदर ११ प्रतिशत तथा ३३ महिना अवधिको ब्याजदर १० प्रतिशत कायम गरिएको छ । बचत खाताको ब्याजदर ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म कायम गरिएको छ ।
कल अकाउण्ट्सको ब्याजदर ३.२१ प्रतिशतसम्म कायम गरिएको बैंकले जनाएको छ । इन्भेष्टमेनट बैंकले कर्र्जाको ब्याजदरमा भने कुनै परिवर्तन गरिएको छैन ।
हिमालयन बैंकले पनि ब्याजदर घटाएर प्रकाशित गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको ११ र संस्थागतको ९ प्रतिशत कायम गरिएको छ । बैंकको दोस्रोे त्रैमासको बेसरेट घटेर १०.४३ प्रतिशत कायम भएको छ । लोनका विभिन्न प्रडक्टको ब्याजदर बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर कायम गरिने बैंकले जनाएको छ ।
फिक्स्ड प्रकृतिको लोनको ब्याजदर १४.६५ देखि १५.७५ प्रतिशतसम्म कायम गरिएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको मंसिरको बेस रेट ९.३० प्रतिशत रहेको छ । बैंकले लोनका विभिन्न प्रडक्टहरुको ब्याजदर आधारदरमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर निर्धारण गरेका कारण लोन लिँदा यो बैंकमा सस्तो ब्याजदर पर्ने देखिन्छ ।
यो बैंकले ५ वर्षसम्मको लोनको फिक्स्ड रेट ११.५० प्रतिशत, ७ वर्षसम्मका लागि १२ प्रतिशत, १० वर्षसम्मका लागि १२.५० प्रतिशत तथा १० वर्षभन्दा माथिका लागि १३ प्रतिशत कायम गरेको छ ।
अन्य वाणिज्य बैंकहरुले पनि निक्षेपको ब्याजदर पूर्व सहमतिअनुसार नै घटाएर प्रकाशित गरेका छन् ।