अरुलाई गाली गर्दैमा समस्याको समाधान नहुने : मन्त्री रिजाल
सूचना तथा संचार प्रविधि मन्त्री डा. मिनेन्द्र रिजालले राष्ट्र अति कठिन मोडमा रहेको र यस्तो अवस्थामा विरोध भन्दा पनि सुझबुझका साथ अगाडि बढ्नुपर्ने विचार राखेका छन् । राजधानीमा आज सम्पन्न राष्ट्रिय अनलाइन पत्रकार संघको प्रारम्भिक साधारण सभा तथा ‘बढ्दो अनलाईन पत्रकारिता, यसको चुनौती र विश्वसनीयता’ नामक विचार गोष्ठीमा प्रमुख अतिथिको आशन ग्रहण गरेका मन्त्री डा. रिजालले मन्तव्यका क्रममा उक्त विचार राखेका हुन् । उनले वर्तमान परिस्थितिमा राजनीति र बुद्धिमतालाई प्रदर्शन गर्न सक्नुपर्ने, राजनीतिक पार्टीका कार्यकर्तालाई उचालेर अर्को राष्ट्रलाई गाली गर्दैमा समस्याको समाधान गर्न नसकिने बताएका थिए । ‘नेपालको इतिहासलाई हेर्दा भीमसेन थापा जस्ता वीर योद्धाले शाहस र धर्यधारण व्यक्त गर्दै नेपालको अस्मितालाई बचाई राख्न सम्झौता गरेको पाइन्छ तर उनलाई आज नेपालीहरुले गाली गर्दैनन्,’ मन्त्री डा. रिजालले भने, ‘भारतका जनताले नेपाल प्रति देखाउने सद्भाव ज्यादै उच्च रहेको छ । त्यहाँ पनि एकदुई जना सम्बन्ध विगार्ने मानिसहरु छन्, जसका कारण नेपाल र भारत बीचको सदियौ पूरानो मित्रतामा आँच आइरहेको छ ।’ उनले चीन र तिब्वत बीचको प्रशंगलाई प्रस्तुत गर्दै तिब्वतका विषयमा जसरी एक चीन नीति प्रस्तुत गरिदैं आएको छ, त्यसैगरी दक्षिण तर्फ बुद्धिमता प्रस्तुत गर्न सक्नुपर्ने बताए । यसैगरी अनलाईन पत्रकारहरुले सत्यतथ्य समाचारलाई प्राथमिकता दिनुपर्नेमा बदलाको भावनाबाट प्रेरित भएर समाचार सम्प्रेषण गर्दा वास्तविकताको पत्रकारिता हुन नसक्ने बताए ।