सामसुङले आगामी फेब्रुअरी 2016 मा आफ्नो नयाँ संस्करणको स्मार्टफोन, ग्यालेक्सी एस सेभेन बजारमा ल्याउने तयारी गरिरहेको छ ।
अहिलेसम्मको प्रचलन हेर्दा सामसुङले मार्च महिनामा हुने मोबाइल वल्र्ड कंग्रेसको आसपासमा आफ्ना नयाँ स्मार्टफोन लन्च गर्ने गरेको छ । तर ग्यालेक्सी एस सेभेन भने त्यसअघि नै सार्वजनिक हुनसक्ने बताइएको छ । हुनत यसअघि एस सेभेन आगामी जनवरीमै बजारमा आउने चर्चा पनि चलेको थियो ।
एक रिपोर्टलाई आधार मान्ने हो भने ग्यालेक्सी एस सेभेन निकै हाइटेक मोबाइल हुनेछ । यसमा एलटीइ मोडेम चिप रहनेछ । यसका साथै ग्यालेक्सी एस सेभेन दुइ भर्सनमा लन्च गरिनेछ । जसमध्ये पहिलो भर्सनमा Snapdragon 820 र दोश्रो भर्सनमा Exynos 8890 चिपसेट हुनेछ ।
समाचार अनुसार ग्यालेक्सी एस सेभेन विश्वको पहिलो यस्तो स्मार्टफोन हुनेछ जसमा Cat. 12 LTE Chip हुनेछ । जसका कारण स्मार्टफोन प्रयोगकर्ताले ६०० एमबीपीएस डाउनलिंक स्पीड तथा १०० एमबीपीएस अपलिंक स्पीड प्राप्त गर्न सक्नेछन् ।
ग्यालेक्सी एस सेभेनमा पछिल्लो एन्ड्रोइड अपरेटिंग सिस्टम मार्समेलो रहनेछ ।
एस सेभेनमा ५.७ इन्चको क्यू एच डी डिस्प्ले हुनेछ । जुन एच डी भन्दा ४ गुणा गुणस्तरीय हुनेछ । यसको पिक्सेल रिजोलुसन २५६० गुणा १४४० हुनेछ ।
यसका साथै ग्यालेक्सी एस सेभेनमा टाइप सी युएसबी पोर्ट हुनेछ । यसमा ४ गिगाबाइटको र्याम तथा ६४ जिबीको इन्टर्नल मेमोरी रहनेछ । अर्को रोचक कुरा के भने एस सेभेनमा सामसुङले मेमोरी कार्ड स्लटको पुनरागमन गराउनेछ ।
ग्यालेक्सी एस सेभेनमा २० मेगापिक्सेलको मुख्य क्यामराका साथै डुअल सेनसर सेटअपका साथमा ८ तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ ।
कनेक्टिभिटीको कुरा गर्ने हो भने एस सेभेनमा फोर जी एलटीइ, वाइफाइ ८२०, ब्लुटुथ ४.१ हुने बताइएको छ ।