Breaking News

सात वर्षे बालकले साेधे- एस्कर्टिङ भनेको के हो ?

Feb Tue 2020 05:40:21

668 views

सात वर्षे बालकले साेधे- एस्कर्टिङ भनेको के हो ?

- दामोदर न्यौपाने, काठमाडौं

आन्दोलनकारीले ढुंगा प्रहार गरी फुटाएको बसमा यात्रा गर्दा कस्तो होला ? दार्जिलिङ एक्सप्रेसको ना४ख ९७५४ नम्बरको बसको अगाडिको सिसा फुटेर प्लास्टिकले बेरबार पारिएको छ । चालकले हेलमेट लगाएर गाडी चलाएका छन् । फेरि फुटाइदिने डरले सिसा फेरिएको छैन ।

काठमाडौंबाट इलामतिर गुडेको यो बसमा आमासँगै बसेका थिए ७ वर्षका विकेक राई । थानकोट नपुग्दै उनले बान्ता गर्न थाले । बान्ताले शिथिल भइसकेका उनी महोत्तरीको बर्दिबासमा पुगेपछि आत्तिए । किनभने त्यहाँबाट एस्कर्टिङ सुरु हुँदै छ भनेर बस रोकियो । एस्कर्टिङ भनेको के हो ? उनले उनकी आमासँग सोधे । आमाले चित्तबुझ्दो जवाफ दिइनन् । चुप लागेर बस भनिन् । हरेकजसो सिटमा बालबालिका थिए । हेटौंडामा एक जना चढ्ने छन् भनेर बायाँतिरको ८ नम्बर सिट रिजर्भ गरिएको थियो । काठमाडौंबाट इलामकै भाडा तिरेर रोकिएको त्यो सिट लक्ष्मी श्रेष्ठका लागि रहेछ । राति ८ बजेतिर हेटौंडाबाट लक्ष्मी सानो बालक बोकेर चढेकी थिइन् । उनको छोरो ८ महिनाको रहेछ । बाराको निजगढबाट अर्की महिला वर्षदिनको बालक बोकेर चढिन् । उनको सिट पछाडिको कुनामा रहेछ । रातको १० बजे बर्दिबास पुगेको गाडी १ बजे मात्रै हिँड्यो । ३ घण्टा कटाउन निकै मुस्किल भयो त्यहाँ । हामीसँग पनि दुई जना बालबालिका थिए, १० वर्षकी इना र २ वर्षको हार्दिक । गाडी ढल्केबर बजार टेक्नासाथ अन्धाधुन्ध ढुंगा बर्सिन थाले । ढुंगा हानेको बुझ्न सक्ने बालबालिका तर्सिए । ढुंगाले लाग्ने भन्दा पनि सिसाको टुक्राले काट्ने डर बढी भयो । कोही ठाउँमा चार–पाँच वटा गिटीले एकैपटक हिर्काए । विवेक बसेकै ठाउँको सिसामा पटङटङ आवाज सुनियो । ‘गोली चल्यो’ भन्दै विवेक कराए । ज्याकेटले छोपिएकी इना पनि कराउन थालिन् । आन्दोलनरत मधेसी समुदायप्रति आक्रोश पोख्न थालिन् । पसिनाले जीउ निथ्रुक्क भिजेछ । ढुंगा हानेको ठाउँमा पर्दा उठाएर बिस्तारै बाहिर हेरें । आन्दोलनकारी कतै देखिएनन् । कतै लुेकर हानेका थिए ढुंगा । ढुंगा हान्न पैसा दिएर बालबालिका प्रयोग भएको समाचार सार्वजनिक भएका थिए । तीन जना बालबालिका त पक्राउ नै परे । बालबालिका चढेको गाडीमा ढुंगा ताक्नेमा कतै तिनै बालबालिका पनि थिए होलान् । प्रहरीले एस्कर्टिङ गरेको भने पनि ढुंगा रोक्न सकेका थिएनन् । ढुंगा रोक्न नसके पनि साइरन बजाएर भने प्रहरीको भ्यान दौडिरह्यो । सुनसरीको इनरुवा पुग्दा झिसमिसे उज्यालो भयो । पशुपतिनगर जाने अर्काे बसका दुई जना यात्री हाम्रै गाडीमा चढे । त्यसमध्ये एक जना घाइते रहिछन् । उनी सिटमा सुतेको बेला झ्यालमा ढुंगाले लागेछ । जीउभरि भएका सिसाका टुक्रा टकटक्याउँदा हातै काटेछ । यस्तै कष्ट काटेर भए पनि यात्रा गर्न छाडेका छैनन् । किनभने यात्रा नगरी भएको छैन । ‘जनतालाई ढुंगा हानेर पनि आन्दोलन हुन्छ ? जनताको अधिकारका लागि आन्दोलन गरेको भन्ने अनि तिनै जनतालाई ढुंगा हान्ने ? यो त सरासर अपराध भयो,’ त्यही गाडीमा यात्रा गरिरहेका नेत्र खनाल आक्रोशित भए, ‘ठूला त जसरी पनि जोगिएलान् । बालाबालिकालाई चोट लाग्यो भने के हुन्छ ? आफ्नो अधिकार खोज्नेले अरूको अधिकार बुझ्नु पर्दैन ?’

  • ekantipur.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?