एक लाख ५० हजारले अवलोकन गर्ने अपेक्षासहित अयोजित कमटेक मेलाको एक लाख ७० हजार ७ सय ७६ जनाले अवलोकन गरेका छन् । कम्युनिकेशन टेक्नोलोजीलाई बिशेष प्राथमिकता राखेर आयोजित मेलामा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स्, इलेक्ट्रोनिक्स सेक्यूरिटी तथा सेफ्टी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् लगायत गरी एक सय ओटा स्टल रहेका थिए ।
कमटेक प्रदर्शनीमार्फत नेपाली बजारमा थुप्रै नयाँ प्रविधिहरु भित्रिएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले कमटेकमार्फत नेपाली बजारमा आइपी टिभीहरु सार्वजनिक गरेका छन भने स्मार्टफोन, ल्यापटप, ट्याबलेट, एन्टिभाइरस र इन्टरनेट सेक्यूरिटी, प्रोजेक्टर, भिक्लाउड प्वाइन्ट, क्यामेरा, पीबीएक्स सिष्टम, वायरलेस हाइ पावर युएसवी, एडप्टर तथा राउटर, युपिएस, जीपीएस भेहिकल ट्रयाकिङ सिष्टम, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर लगायतका नयाँ नयाँ भर्सनहरु नेपाली बजारमा प्रवेश गरेका छन । यी उत्पादनहरु कमटेक मेलामा विशेष सहुलियतमा उपलब्ध गराएका थिए ।









