Breaking News

जन सेवाका लागि चौबीसै घण्टा हाइ अलर्टमा : डिएसपी गंगा पन्त

Feb Tue 2020 05:40:23

505 views

जन सेवाका लागि चौबीसै घण्टा हाइ अलर्टमा  : डिएसपी गंगा पन्त
  • जमुना वर्षा शर्मा

पर्वत, भौगोलिक क्षेत्रफलको हिसावले सानो मानिए पनि सुरक्षा संवेदनशीलताका हिसावले चुनौतिपूर्ण मानिँदै आएको पर्वतको इतिहासमै पहिलो पटक महिला प्रहरी नायव उपरीक्षक गंगा पन्तले जिम्मेवारी सम्हाल्नु भएको छ ।

सुरक्षा जस्तो संवेदनशिल क्षेत्रमा महिलाको उपस्थितिलाई समाजले अझै पनि सहजै स्विकार गरेको पाइदैन । तर, पर्वत जिल्लाको शान्ति सुरक्षा कायम गर्न गंगा पन्तले देखाएको सक्रियताले पर्वतबासी सन्तुष्ट बनेका छन् ।

वि.सं. २०३१ सालमा तनहुँको मिर्लुङमा जन्मनु भएकी पन्तले २०५६ सालमा सेवामा प्रवेश गर्नु भएको हो । एक सन्तानकी आमा पन्त वी.ए., एल.एल.वी. सम्मको अध्ययन पूरा गर्नु भएको छ ।

हेडक्वाटरबाट सरुवा भएर १ महिना अघि पर्वत जिल्ला आउनु भएकी पन्तले समस्या र चुनौतिसँग लडेर देशको दिगो शान्ति सुरक्षाको लागि आफु हरदम प्रयासरत रहने महिला खबरडटकमसँगको कुराकानीमा बताउनुभयो ।

‘समाजमा विभिन्न किसिमका सामाजिक अपराधहरू घटिरहेका हुन्छन् तर, त्यसप्रति कमैको चासो जान्छ र घटनाले उग्र र वृहत रुप लिएपछि मात्रै चर्चा गर्ने परिपाटि छ । म साना–साना सामाजिक अपराध न्यूनिकरणबाट समाजमा शान्ति, सुरक्षाका लागि पहल गर्नेछु’ पन्तले भन्नुभयो ।

‘राजनीतिक दलको आडमा कुनै पनि व्यक्तिले कानून विपरित कार्य गर्छ भने त्यस्तो व्यक्ति कुनै पनि हालतमा कानुनबाट उम्कन सक्दैनन । आफ्नो काम माथि विश्वस्त छु, हुन आग्रह गर्दछु ।’ पन्तले भन्नुभयो–‘जिल्लाको शान्ति सु्रक्षा तथा सुशासन कायम गर्नुनै मेरो धर्म हो त्यसैले मेरो शरिरमा बर्दी रहुन्जेल कुनै पनि व्यक्ति कानुनमा ठूलो र सानो हुदैन ।’

जिल्लाको शान्ति सुरक्षा कायम गर्नको लागि राजनीतिक दल नागरिक समाज, अधिकारकर्मी एवं पत्रकार जगतलाई समेत सहयोग गर्न उहाँले आग्रह गर्नु भएको छ ।

पन्तले जिल्लामा आउनासाथ जिल्लाको अवस्थालाई बुझि घरेलु हिंसाबाट पीडितलाई प्रहरी कर्मचारीबाटै उजुरी लेखिदिने कार्य, चालकहरूलाई अनुशिक्षण, जिल्लाबाट राहदानी लिनेका लागि अनुशिक्षण, पीडित महिला तथा बालबालिका सहयोग सम्बन्धी कार्य संचालन कार्यविधि २०७० अपराध अनुसन्धान निर्देशिका २०७१ सम्बन्धमा अनुशिक्षण प्रदान गरेको समेत जानकारी दिनुभयो ।

‘चौविसै घण्टा हाइ अलर्टमा वस्नुपर्ने र जहाँ खटायो त्यहाँ तुरुन्ता तुरुन्तै कुद्नु पर्ने बाध्यताका बीच पनि एउटा महिलाले आफूलाई प्रहरी संगठनभित्र सफल र क्षमतावान् प्रहरीको रुपमा उभ्याउन सक्नु भएको छ । हामीले उहाँ प्रति गर्व गरेका छौ । संचारिका समुह पर्वतकी अध्यक्ष पत्रकार माया अधिकारीले भन्नुभयो ।’

त्यसैगरी स्थानिय व्यवसायि राजु पौडेले पनि पन्तको कार्यशैली उत्साहजनक रहेको बताउँदै भन्नुभयो ‘पर्वतमा पहिलोपल्ट महिला प्रहरी नायव उपरीक्षक भएर आउनु भएको छ यसले संगठननै नयाँ ढंगले जुर्मुराएको छ । स्थानीयहरूमा समेत धेरै सकारात्मक प्रभाव परिसकेको छ ।’ आफ्नो कुनै दल नभएको र आफू प्रहरी संगठनको मर्यादा र आचरणलाई शिरोधार्य गरेर कामकार्वाही अघि बढाउने पन्तको प्रतिवद्धता पछि पर्वतेलीहरूमा उत्साह थपेको पौडेलको भनाईछ ।

‘ प्रहरी नायब उपरीक्षक पन्तले पर्वत आएपछि दिएका अभिव्यक्ति र गरेका काम हेर्दा लाग्छ उहाँ एक साहसिक र निडर महिला त हुनुहुन्छ नै त्यसमा पनि चुनौतिसँग मुकाविला गर्न सक्ने सक्षम महिला पनि हुनुहुन्छ’ पौडेलले थप्नुभयो । त्यसो त पन्तको पर्वत आगमनले महिलामा समेत थप हौसला प्रदान गरेको बताउनु हुन्छ अधिकारकर्मी सरस्वति शर्मा ‘जिज्ञासु’ ‘समग्र पर्वतको शान्तिसुरक्षाका अलवा महिलाहरुले भोग्नु परेको सुरक्षा चुनौतिमा उहाँले विशेष ध्यान दिनु भएको छ । यसले बढ्दो महिला हिंसाका घटनामा समेत कमी आउने अपेक्षा हामिले गरेका छौ ।’ समस्यासँग जुधेरनै समाधान खोजिनु पर्छ भन्ने मान्यता राख्ने राष्ट्रसेवक प्रहरी नायब उपरीक्षक गंगा पन्त प्रहरी संगठनको उदाहरणीय पात्र हुनुहुनेछ भन्ने विश्वास समेत आफुहरूले गरेको शर्माले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?