Breaking News

घरमै बनाउन सकिन्छ खाना पकाउने ग्यास यसरी

Feb Tue 2020 05:40:45

1020 views

घरमै बनाउन सकिन्छ खाना पकाउने ग्यास यसरी
सुरज महर्जन

सुरज महर्जन

काठमाडौं । भारतीय नाकाबन्दी र मधेश आन्दोलनका कारण अहिले   खाना पकाउने ग्यासको हाहाकार हुन थालेको छ । मानिसहरू घरमा चूलो बाल्न वैकल्पिक उपायको खोजीमा छन् । यस्तो अवस्थामा घरमै उत्पादन गर्न सकिने मिनी बायो ग्यास प्लाण्ट निकै उपयोगी विकल्प हुन सक्छ । यो प्लाण्टबाट सानो परिवारका लागि खाना पकाउन पर्याप्त ग्यास उत्पादन गर्न सक्छन् । यसका लागि धेरै खर्च पनि लाग्दैन । तरकारीको बोक्रा, खेर गएको खानालगायत कुहिने वस्तु सङ्कलन गरी ग्यास उत्पादन गरिन्छ । उत्पादित बायो ग्यासमा ‘मिथेन’ र केही मात्रामा कार्बनडाइअक्साइड हुन्छ । त्यसैले, यो ग्यास एलपीजी ग्यासको विकल्पका रूपमा मज्जाले प्रयोग गर्न सकिन्छ । यसो गर्दा घरमा उत्पादित फोहोरको सहज व्यवस्थापनसमेत हुन्छ । साथै, यसबाट उत्पादित अतिरिक्त फोहोर खेतीबालीमा मलको रूपमा प्रयोग गर्न सकिन्छ ।

मिनी बायो ग्यास प्लाण्ट बनाउने विधि मिनी बायो ग्यास प्लाण्ट निर्माणमा डायजेष्टर ट्याङ्क अर्थात् सानो ड्रम, भान्छाको फोहोर ड्रममा पठाउन इनलेट, ग्यास जम्मा हुने ट्याङ्क, रासायनिक प्रतिक्रियापछि उत्पादित लेदो फाल्न आउटलेट र ग्यास वितरण प्रणाली आवश्यक हुन्छ । यसका लागि धेरै रकम खर्चनुपर्दैन । घर तथा वरिपरि सजिलै पाइने कुहिने अग्र्यानिक वस्तुको प्रयोग गर्न सकिन्छ ।

आवश्यक सामग्री १)५० लिटर क्षमताको खाली पीभीसी ड्रम १ थान (डायजेष्टर ट्याङ्कका रूपमा प्रयोग गर्न) २)४० लिटर क्षमताको खाली पीभीसी ड्रम १ थान (ग्यास होल्डर  ट्याङ्कका रूपमा प्रयोग गर्न) ठूलो ट्याङ्कमा यो सहजै अटाउने तथा चलाउन सकिने हुनु आवश्यक छ । ३)३ दशमलव ६४ मीमी गोलाइको पीभीसी पाइप करीब ४० सेमी लामो (फिडिङ पाइपबाट फोहोर भित्र पठाउन) ४)३२ एमएम गोलाइको पीभीसी पाइप करीब ५० सेमी लामो (ग्यास होल्डर ट्याङ्कभित्र गाइड पाइपका रूपमा जडान गर्न) ५)२५ एमएम गोलाइको पीभीसी पाइप करीब ७५ सेमी लामो (डायजेष्टर ट्याङ्कभित्र गाइड पाइपका रूपमा जडान गर्न) ६)३२ एमएम गोलाइको पीभीसी पाइप करीब २५ सेमी लामो (ग्यास उत्पादनपछि निस्कने लेदो बाहिर पठाउनका लागि डायजेष्टर ट्याङ्कमा जडान गर्न) ७)पानी प्रतिरोधी एडहेसिभ (टाँसिने सामग्री) वा एमसिल ८)ग्यास आउटलेट प्रणाली (तल वर्णन गरिएको छ)

आवश्यक उपकरण ड्रम, पाइपलगायत काट्न ह्याक्स ब्लेड, प्वाल पार्नेलगायत कार्यका लागि धारिलो चक्कु

निर्माण विधि

डायजेष्टर एकाइका रूपमा प्रयोगका लागि ५० लिटर क्षमताको पीभीसी ड्रमको माथिल्लो भाग चित्रमा देखाइएजसरी ह्याक्स ब्लेडको सहायताले काट्नुहोस् । सानो ड्रमलाई पनि ह्याक्स ब्लेडको सहायताले माथिल्लो भाग काट्नुहोस् । यो ड्रमलाई ठूलो ड्रमभित्र समायोजन गरी ग्यास होल्डरका रूपमा प्रयोग गरिन्छ ।

 ६४ एमएम, ३२ एमएम र २५ एमएम गोलाइका पीभीसी पाइप क्रमशः भान्छाका फोहोर सङ्कलन, ग्यास होल्डरमा गाइड पाइप र डायजेशन च्याम्बरमा गाइड पाइपका रूपमा जडान गर्नुहोस् । त्यसैगरी, ३२ एमएम गोलाइको पाइप भने लेदो बाहिर फाल्नका लागि जडान गरिन्छ । ग्यास डेलिभरी प्रणाली निर्माण विधि आवश्यक सामग्री

१.बल भल्भ १ थान (ग्यास प्रवाह नियन्त्रणका लागि) २.टी जोइण्ट १ थान (ग्यास होल्डर र बल भल्भ जडानका लागि) ३.टी जोइण्ट बन्द गर्न क्याप १ थान ४.कप्लिङ वा एडेप्टर १ थान (टी जोइण्टको माथिल्लो भाग ग्यास कलेक्टरमा जोड्न) ५.निप्पल १ थान (ग्यास कलेक्टरमा रहेको कप्लिङका लागि) ६.ग्यास पाइप (लचकदार) : २ मिटर ७.बार्ब १ थान (बल भल्भसँग जोड्नका लागि ग्यास पाइपमा जडान गर्न) ८.क्लिप १ थान (ग्यास पाइपलाई चुहिनबाट जोगाउन बार्बमा च्याप्नका लागि) ९.टेफ्लोन टेप १ रोल (सबै जडानहरूमा बेर्नका लागि)

नोट : यी सबै सामग्री आफ्नो नजिकको हार्डवेयर पसलबाट खरीद गर्न सकिन्छ ।

चित्रमा देखाइएझैं पाइपको आकारअनुसार चिह्न लगाएर ग्यास कलेक्शन ट्याङ्कको तल्लोपट्टि काट्नुहोस् । बाँयापट्टिको सानो प्वाल ग्यास डेलिभरी प्रणालीका लागि, बीचको प्वाल ३२ एमएमको गाइड पाइप र ६४ एमएमको प्वाल फोहोर सङ्कलनका लागि हो । यी प्वाल पार्न धारिलो चक्कु वा ह्याक्सो ब्लेडको प्रयोग गर्न सकिन्छ । प्वाल काटेपछि चित्रमा देखाइएझैं एमसिलको सहायताले सबै पाइप जडान गर्नुहोस् ।

अब  भने चित्रमा देखाइएझैं फिडिङ पाइप अर्थात् सबैभन्दा ठूलो पाइपलाई बिर्कोको सहायताले बन्द गर्नुहोस् । यो बिर्को आवश्यकताअनुसार फोहोर भर्नका लागि खोल्ने र बन्द गर्न सकिने हुन्छ । त्यसैगरी, अर्को सानो वा मध्य प्वालमा गाइड पाइप जडान गरिएको छ ।

 माथिल्लो चित्रमा डाइजेशन ट्याङ्कमा बीचको प्वालबाट गाइड पाइप र छेउमा लेदो बाहिर फाल्नका लागि आउटलेट पाइप देखाइएको छ ।

त्यसैगरी, सबैभन्दा सानो प्वालमा बल भल्भ जडान गरी नचुहिने किसिमले एमसिलको सहायताले राम्ररी टाल्नुपर्छ । यति गरेपछि मिनी बायो ग्यास प्लाण्टको निर्माण पूरा हुन्छ । तर, तत्काल यो प्रणालीमा ग्यास पाइप भने नजोड्नुहोस् । किनभने, यसले चाप उत्पन्न गर्ने सम्भावना रहन्छ, जसले गर्दा जोड्नीमा रहेको एमसिल राम्ररी नजोडिन सक्छ । करीब २ दिनसम्म राम्ररी सुकाएपछि प्रणालीमा भान्छाका फोहोरलगायत कुहिने वस्तु सङ्कलन गर्न सकिन्छ । यो समयावधिभन्दा अघि प्रणालीमा सामग्री राख्दा प्वाल चुहिने सम्भावनासमेत हुन्छ ।

ग्यास उत्पादन विधि

प्रणालीमा सबैभन्दा पहिले पानी र गोबर मिसाएर राख्नुहोस् । यसले ग्यास निर्माणको प्रक्रिया शुरू हुन्छ । यसपछि विस्तारै खेर गएका खाना, कुहिने अग्र्यानिक वस्तु र भान्छाका फोहोरलगायत पानीसँग मिसाएर प्रणालीमा राख्दै जान सकिन्छ । ग्यास उत्पादन हुँदै जाँदा उत्पादनकै अनुपातमा ग्यास होल्डर माथि उठ्न थाल्छ । ग्यासको चाप बढाउन ग्यास होल्डरको माथिल्लो सतहमा वजन थप्न सकिन्छ । उदाहरणका लागि चित्रमा इँटाको प्रयोग गरिएको छ । प्रणालीमा कुहिने पदार्थ थप्दै जाँदा कुहिएको लेदो आउटलेट पाइपबाट बाहिरिन्छ । यसलाई सङ्कलन गरी माटोमा मिसाएर अग्र्यानिक मलका रूपमा प्रयोग गर्न सकिन्छ ।

शुरुआतमा उत्पादन हुने ग्यासमा अक्सिजन, मिथेन, कार्बनडाईअक्साइडलगायत ग्यास हुन्छ । यो ग्यास भने बल्दैन । उक्त ग्यास तीन÷चारपटक बल भल्भ खोल्दै बन्द गर्दै फाल्नुपर्छ । यसपछि ग्यास होल्डरमा ७० देखि ८० प्रतिशत मिथेन र बाँकी कार्बनडाइअक्साइड बाँकी रहन्छ । यसलाई बायो ग्यास बाल्न प्रयोग हुने चूलोका माध्यमबाट आगो बाल्न प्रयोग गर्न सकिन्छ ।

निर्माण खर्च यसको निर्माणका लागि घरमै रहेका साधनबाहेक केही सामग्री खरीद गरे पुग्छ । यो प्रणाली निर्माणका लागि बढीमा ३ हजार रुपैयाँ खर्च लाग्छ । चूलोको मूल्य भने यसमा जोडिएको छैन । यो विधि अपनाएर नमूना चूलोको निर्माण गर्न सकिन्छ । तर, दैनिक प्रयोजनका लागि यसको उपयोग गर्ने हो भने १ हजार लिटर क्षमताको डाइजेशन ट्याङ्कको प्रयोग गर्नुपर्ने हुन्छ ।

सावधानी ग्यास प्रज्वलनशील वस्तु भएकाले यस्तो प्लाण्टको निर्माणका लागि अनुभवी प्राविधिकको सहयोग लिनुपर्ने हुन्छ । उत्पादित ग्यास प्रयोग गर्नुअघि प्रणालीका बारेमा दक्ष प्राविधिकको सल्लाह लिनुहोस् अन्यथा जोखीमसमेत निम्तने सम्भावना हुुन्छ ।

यसरी ग्यास उत्पादनका लागि फलफूलका बोक्रा, चियापत्ती, दुग्धपदार्थलगायत प्रणालीमा सङ्कलन गर्न सकिन्छ । तर, अण्डाका बोक्रा, प्याजको बोक्रा, हड्डी प्रणालीमा मिसाउनु हुँदैन । किनकी, यसले प्रणालीको कार्यक्षमतामा ह्रास ल्याउँछ ।

नोट : यो सामान्य जानकारी हो । थप जिज्ञासाका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल कृषि अनुसन्धान विभाग, सीएमएसलगायत संस्थामा सम्पर्क गर्न सकिन्छ ।

स्रोत : इन्ष्ट्रक्टेबल.कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?