एउटा हिन्दी सिनेमा छ– ‘सिंघम’ । जसमा अपराधले गाँजेको राजनीति, गुण्डागर्दीबिरुद्ध लड्दैं अप्ठ्यारो बाटोमा हिड्ने एउटा बहादुर पुलिस अफिसर बाजीराओ सिंघमको कथा छ । ठीक त्यही सिंघमसँग यतिबेला काठमाडौं महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख, एसएसपी सर्वेन्द्र खनाललाई तुलना गरिदैंछ ।
कारण स्पष्ट छ, उनले गरेका पछिल्ला महत्वपूर्ण कारवाहीहरु । कुमार घैटे इन्काउण्टरदेखि नेपाली फुटबल म्याच फिक्सिङको अन्तर्राष्ट्रिय जालोलाई पर्दाफाँस गर्नसम्म खेलेको भूमिकाले उनलाई त्यो विशेषण दिन थालिएको हो ।
आखिर एउटा प्रहरी अफिसरलाई फिल्मको बहादुर हिरोसँग तुलना गर्दा कस्तो लाग्छ होला ? ‘जनताले रिगार्ड गर्दा राम्रो लाग्छ,’ हालैको एक मध्यान्ह नेपालीपत्रसँगको कुराकानीमा सर्वेन्द्रले भने, ‘अहिले पनि देश÷विदेशबाट रातिसम्म कयौं फोनहरु आइरहेका हुन्छन् । जसलाई म रेस्पोन्स गर्ने प्रयास गर्छु ।’ उनलाई लाग्छ, सम्मान भावनाबाट उत्पन्न हुने कुरा हो । जो सकारात्मक छवि र कामले आर्जन गर्न सकिन्छ ।
तनहुँमा जन्मेका उनी ४० को दशकको अन्त्यतिर प्रहरी निरिक्षक (इन्स्पेक्टर)का रुपमा प्रहरी सेवामा प्रवेश गरेका हुन् । २४ वर्षको अवधिमा सर्वेन्द्र अहिले सकारात्मक काम र साहसिक कार्यका कारण ‘हिरो छवि’मा देखिदैंछन् । लामो प्रहरी जीवनमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)जस्तो उपल्लो प्रहरी अधिकारीको दर्जाको भूमिका निभाइरहँदा उनका राम्रा प्रयास र सकारात्मक कामहरुको चर्चा हुन थालेको हो ।
खासगरी, काठमाडौंभित्र उनले देखिने गरी चालेका प्रभावकारी कदमले उनको लोकप्रियताको ग्राफ उकालो लागेको हो । गत असारमा अपराध महाशाखामा आएलगतै ‘गुण्डालाई निस्तेज नबनाएसम्म चैनले बस्दिन’ भनेर चर्चामा आएका खनालले जिम्मेवारी सम्हालेको केहि दिनमै ‘सन्की’ भनेर चिनिने अपराधी रावणजीत तामाङमाथि गोली चलाए ।
त्यसपछि उनकै नेतृत्वमा गुण्डा नाइके कुमार घैटेको इन्काउण्टर भयो भने वर्षौदेखिको म्याच फिक्सिङको जालो पनि तोडियो । पेट्रोल पम्पमा रातारात छापा, हुण्डीमा ठगी गर्नेहरुमाथिको रेड र अवैध कन्सल्टेन्सी सञ्चालकहरुमाथि उनले गरेको कारवाहीले धेरैको ‘वाहीवाही’ पाए । नेपालीपत्रसँग आफ्नो बाल्यवास्थादेखि एसएसपीसँगको जीवनबारे लामो कुराकानी गरेका खनालले पटक–पटक प्रहरी, प्रहरीजस्तो हुनुपर्नेमा जोड दिए ।
‘एउटा प्रहरी, प्रहरीजस्तै हुने हो भने समाज धेरै राम्रो बनाउन सकिन्छ,’ उनले भने, ‘नागरिकहरुले चाहेको काम गर्ने वातावरण बन्छ । त्यसैमा सेवा नै धर्मको मूलमन्त्र जप्ने हामी प्रहरी अधिकारीहरुको सन्तुष्टी छ ।’
नागरिकले सुरक्षा र राम्रो वातावरण चाहने मत खनालको छ । ‘जनता पुलिस भएर काम गरिदेओस्, नडराओस् । अपराधीसँग लडिदेओस्, भिडोस् भन्ने चाहन्छ,’ उनले भने, ‘यति भयो भने प्रहरीलाई आफ्नै ठान्छन् ।’
यिनै सर्वेन्द्र हुन्, जसले १०९ सशस्त्र समूहले आजित पारेको तराईंलाई त्यो कठोर अवस्थाबाट मुक्त गराए । उनी जनकपुरमा एसएसपी भएपछि प्रहरीले थालेको कारवाहीमा सशस्त्र समूहका कयौं अपराधीहरुको इन्काण्टर भयो भने कयौं थुनामा परे । जसका कारण तराईमा सशस्त्रको संख्या नै ३/४ को संख्यामा झ¥यो ।
वीरगन्जमा शौचालयलाई भोजनालय बनाएर बसेका गुण्डाहरु तह लगाउनमात्र होइन्, तराईमा नियतिजस्तै बनेको अपहरण जालोलाई पनि उनले तोडिदिए । ‘ती सबैलाई नेटो कटाए । वीरगन्जमा कोही गुण्डा र तस्करले टाउको उठाउन सकेनन्,’ उनले भने, ‘हतियारसहित परिवार नै मार्ने तरखर गरिरहेको गुण्डालाई मैले घरभित्रैं जम्प गरेर इकाउण्टर गरी खतम पारिदिए ।’
बारामा सनसनी मच्चाएको ‘इजरायल’मा भन्ने गुण्डा होस्, वा तराईमा अर्को ठूलो अपराधिक गिरोह चलाइरहेको राजनमुक्तिलाई सर्वेन्द्र नै गोलघरको बाटो देखाए । ‘इजरालयलाई जेल हाल्दा माहोल नै काँपेको थियो,’ निर्भिक रुपमा ४९ वर्षीय यी प्रहरी अधिकारीले सुनाए, ‘सबै कुराले म सन्तोष छु । मलाई सेवा गर्न रमाइलो लाग्छ । यहाँ रहेर सेवा गर्दा सामाजिक संघसंस्था खोल्नु परेन ।’ कार्यक्षेत्रमा रहँदा सामाजिक क्षेत्रमा पनि उनी उतिकै सक्रिय रहे ।
तराईमा कार्यरत रहँदा दाइजो, बालविवाह र सरसफाइजस्ता सामाजिक कार्यहरुमा पनि उनको उतिकै सक्रियता रह्यो । ‘तराईमा दाइजोले अपराध जन्माएको छ । छोरी जन्मेदेखि अपराध गर्नुपर्ने किनभने छोरीलाई दाइजो दिन,’ उनी भन्छन्, ‘त्यो त अपराधको जरो हो । यसलाई साफ गरौं भनेर लागियो । ३० औं ठाउँमा म आफै पुगे ।’
काठमाडौंमा सर्वेन्द्रका ५ मुक्का
१. रावणजीतमाथि गोली प्रहार अपराध महाशाखामा आएलगतै एसएसपी सर्वेन्द्र खनालले गुण्डामाथि पहिलो धावा बोले, १८ असारको मध्यरातमा । सुन्धारास्थित बेबिलोनमा डिस्कोमा कारागारबाट भागेका गुण्डा नाइके रावणजीत तामाङमाथि प्रहरीले गोली दाग्यो ।
आखिर कसरी बन्यो योजना ? ‘गुण्डागर्दी सबैभन्दा बढी हुने ठाउँ हो–सुन्धारा । त्यहाँका बेबिलोनलगायतका डिस्कोहरुमा प्रायः यस्ता गतिविधीहरु हुने गर्छन । अपराधी गिरोहहरु छ भन्ने केही सूचना हामीसँग थियो,’ उनी भन्छन्, ‘रावणजीतका बारेमा हामीले पहिले नै धेरै अनुसन्धान गरिसकेका थियौं । उ कस्तो मान्छे हो भन्ने प्रहरीलाई राम्रोसँग थाहा थियो । उसले रातिको अवस्थामा टेर्दै नटेर्ने त्यहाँ । त्यो सुराक हामीसँग आइपुग्यो । त्यहीअनुसार हामी त्यहाँ पुगेका थियौं ।’
प्रहरीले रावणजीतलाई समात्ने प्रयास ग¥यो तर, उसले समूहसहित प्रहरीमाथि आक्रमण । ‘त्यसपछि असहज अवस्था सिर्जना भयो,’ खनालले भने, ‘उसको पनि १०÷११ जनाको समूह थियो । प्रहरीमाथि आइलाग्न थाल्यो । हामीले पनि गोली हान्यौं ।’
तामाङ लागु औषध ओसारपसार, गुण्डागर्दी तथा अपहरण काण्डमा सिन्धुपाल्चोक जिल्ला अदालतले १० वर्ष कैद तोकेको अपराधि हुन् ।
२. टार्गेट कुमार घैटे २०६३ सालमै काठमाडौंका सबै गुण्डालाई जेल हालेका थिए, सर्वेन्द्रले । दीपक मनाङे, चक्रेदेखि अधिकांश गुण्डा उनकै पालामा जेलको चिसो छिडीमा पुगे । फटाफट जेल हाल्न थालेपछि कतिपय गुण्डाहरु त त्यो बेला भागे । काठमाडौंमा त्यो बेला साना हतियार र गुण्डागर्दी चरम चुलीमा थियो । प्रहरीले ७० नालभन्दा बढी साना हतियारहरु गुण्डाहरु पनि गुण्डाबाट कब्जा ग¥यो ।
पहिलो संविधानसभा चुनावअघि हातहतियार तथा खरखजाना र अपहरणसम्बन्धी ऐन प्रहरीकै जोडमा ल्याइएको थियो । नभए, त्यो बेला चुनाव सम्पन्न गर्न सक्ने अवस्था थिएन । किनभने, हरेक गुण्डाका हातमा साना हतियार थिएँ ।
सर्वेन्द्रले ती सबैलाई ठेगान लगाए । कतिसम्म भने गुण्डाहरुले उपत्यकामा आ–आफ्ना इलाका भनेर भागबण्डा गरेका थिएँ । सर्वेन्द्र सक्रियता बढेपछि २०६३ सालमा काठमाडौं जिविसमा एउटा पनि ठेक्का परेन । किनभने गुण्डाहरुले चलखेल गर्न पाएनन् । ‘त्यतिबेला मैले जिविसको कार्यक्रममै भनेको थिएँ, कहि पनि गुण्डाले केही ग¥यो भने मलाई भन्नुस्,’ सर्वेन्द्रले सुनाए, ‘खबरै नगरी गुण्डाले धम्कायो भनेर मलाई भन्नुस्, ठेगान लगाउने काम मेरो भयो ।’ त्यतिखेर जिविसको ठेक्कामा गुण्डाराज चलेन । उनी थप्छन्, ‘त्यतिबेलादेखि नै म यिनीहरुलाई चिन्थे । के गर्छन यिनीहरु, गतिविधी र इतिहास सबै ।’
बाहिर बोल्न कोही नसक्ने तर भित्री रुपमा यति गाजिएको, गुण्डाराज आर्थिक अपराधसँग जोडिएको थियो । ठेक्कापट्टा, प्रोजेक्ट, ठूला–ठूला विकास निर्माण सबैमा गुण्डाहरुकै हालीमुहाली । ‘बाटो पिच गर्नुपर्दा उनीहरुलाई नै सोध्नुपर्ने, कुनै हाउजिङ बनाउनुप¥यो भने उनीहरुलाई नै सोध्नुपर्ने, हस्पिटल बनाउनुप¥यो भने उनीहरुकै स्वीकृती लिनुपर्ने । कुनै पनि कुरा उसको इलाकामा गर्दा उसलाई नै सोध्नुपर्ने, टोलको महाराजाजस्तो,’ खनालले भने ।
यस्तोमा को–को संलग्न छन् भनेर उनले अनुसन्धान गर्दै जाँदा यिनै गुण्डाहरुको नाम आयो । त्यो बेला कति जेल परे । कति भनसुनका आधारमा छुटे । जब गत असारमा सर्वेन्द्र अपराध महाशाखामा आए । त्यसपछि पुनः गुण्डाहरुमाथि कडाइ गर्न थालियो ।
‘हामीले यो सँग यसरी नै प्रस्तुत हुने भन्ने हुँदैंन । उ कसरी प्रस्तुत हुन्छ, त्यसरी नै प्रस्तुत हुने हो,’ उनले घैटे इन्काउण्टरको कथा खोल्न सुरु गरे, ‘हतियार बोकेर हिड्छ, हामीमाथि ११/११ पटक हतियार हानेको छ । दिनदहाडै गोली प्रहार गरेको छ । सबैभन्दा बढी यस्तो काम गर्ने त्यही घैटे भेटियो ।’ ३ भदौंमा सामाखुशीको कपुरधारामा डन नाइके कुमार घैटे प्रहरी इकाउन्टरमा मारिए ।
‘प्रहरीले पक्रन खोज्दा आक्रमण गरेपछिको इन्काउण्टर भयो,’ उनले भने, ‘त्यो बाहेक अरु गुण्डाहरु पनि हाम्रो निगरानीमा छन् । त्यो निगरानीका क्रममा उनीहरु कसरी प्रस्तुत हुन्छन्, प्रहरी पनि त्यसरी नै प्रस्तुत हुने हो ।’
त्यसपछि घैटे काण्ड संसददेखि मानवअधिकार आयोगसम्म पुग्यो । प्रहरीमाथि मानवअधिकार हननको आरोप लाग्यो । तर, सर्वेन्द्रले यसलाई अस्वीकार गरे । ‘मानवअधिकार रक्षाका लागि म आफै तत्पर छु,’ उनले भने, ‘मानवीयभन्दा दानवीय काम गर्नेहरुको रक्षामा नेपाल प्रहरी लाग्न सक्दैंन । म सक्दिनँ ।’
३. फुटबल म्याच फिक्सिङ प्रकरण धरातल
राम्रो खेलेर पनि गोल गर्न नसक्ने रोगबाट ग्रसित थियो–नेपाली फुटबल । धेरैले नेपालका स्ट्राइकरहरुमाथि यसको दोषारोपण गर्ने गरेका थिए । तर, भित्री कथा अर्कै रहेछ ।
‘के भा’छ नेपालको फुटबलमा त साह्रै भयो, भन्ने हुन्थ्यो मलाई,’ अरुलाई जस्तै लाग्ने गरेको अनुभूति गरेका सर्वेन्द्रले भने, ‘सायद धेरैलाई हुन्थ्यो । म्याच फिक्सिङका समाचार सुनिरहन्थे । हाम्रोमा पनि केही छ कि भन्ने लाग्यो ।’
त्यसपछि उनले आफ्नो अप्रेशन अगाडि बढाए । केही सम्बद्ध ब्यक्तिहरु कहाँ पुगे, अनुसन्धानकै क्रममा । कहाँ–कहाँबाट के के ग¥या रै’छन भन्ने कुरा खोतल्दैं गएपछि नेपाली फुटबलको भयावह अवस्था पर्दाफास भयो ।
‘यो अवस्था अहिलेको होइन्, सन् २००८ देखिको हो । सधैं जिरो–जिरो खाने । अनुसन्धानमा पनि यसलाई जस्टीफाई गर्ने काम भयो । यसमा ठूलठूला मान्छे परेका हुन्,’ उनले भने ।
प्रहरी अपराधी पत्ता लगाएपनि अन्जन केसी भारतको क्यासिनो रहेकाले उनी नआउन्जेलसम्म प्रहरी पर्खियो । ‘एकै पटक पक्रउ नगर्दा कोही भाग्छन् भनेर हामीले यसो गरेका थियौं,’ प्रहरीले अनुसन्धापछि कुर्नुको कारण उनले सुनाए । अन्ततः असोज २७ मा कप्तान सागर थापासहित ५ जनालाई प्रहरीले पक्रयो ।
कतिपयले प्रश्न उठाउने गरेका छन्, फुटबलको मुख्य नेतृत्वको संलग्नताबारे । तर, खनाल समातिएका सबै फुटबलको मुख्य मान्छेहरु नै भएको बताउँछन् । ‘हामीले सागर भन्यौं, क्याप्टेन हो । अन्जन म्यानेजर र कोच हो । फुटबलको ठूलो भनेको कोच, म्यानेजर र क्याप्टेन नै हो,’ उनले भने, ‘त्यो भन्दा ठूलो कोही छैन । यसका की रोल प्लेयरहरु तिनीहरुलाई छाडेनौं । खेलाडीमात्र भनियो, उनीहरु खेलाडीमात्र होइनन् ।’
अहिले पनि केस अदालतमा छ । आरोपीहरु धरौटीमा रिहा भएका छन् । उनीहरु विरुद्ध राज्य विप्लवको ४.३ मा मुद्धा प्रहरीले दायर गरेपनि राय गर्ने ठाउँमा वकिलले ४.१ मा सारेर पठाइदिए । ‘त्यो त वकिलले हेर्ने कुरा हो,’ सर्वेन्द्र क्लज परिवर्तनको कारण सोध्दा भन्छन्, ‘ यसमा मैले कमेन्ट गर्न हुदैंन । क्लज परिवर्तन भएर गयो ।’
प्रहरीले उनीहरुले गरेको अपराधको सम्पूर्ण प्रमाणका भिडियो, अडियो, उनीहरुको सिग्नेचर, ट्रान्सजेक्सनहरु सबै राखेको बताए । तर, खेलाडीहरुले अदालतमा बाहिर हामी दोषी छैनौ भनेर बयान फेरे । ‘हामी अथेन्टीक बडी हो । हामीसँग सबै प्रमाण छन् । हामीसँग त अपराध स्वीकार गर्छन्,’ खनालले भने, ‘कही पनि गरेका छैनौ भनेर भनेका छैनन् । गल्ती भयो भनेर स्वीकार गरेका हुन् । म्याच फिक्सिङको पैसाले मैले विहे गरेको हुँ भन्ने कुरा सबैले पढेकै हुन् । सबै प्रमाण छ । त्यहाँ कसैले सिकायो बयान फेर भनेर ।’
४. पेट्रोल पम्पमा छापा सर्वेन्द्र महानिरिक्षिक सचिवालयमा हुँदा हेडक्वार्टरको पेट्रोल पम्प छानविन समितिमा थिए । त्यहाँ बस्दा पेट्रोल पम्पका विषयमा धेरै अध्ययन पनि गरे उनले । उनले सुनाए, ‘कसरी गोलमाल गर्छन भन्ने अलिअलि त्यति नै बेला आइडिया भयो ।’
तर, त्यतिबेला उनले केही गर्न सकेनन् । किनभने, कतिपय अधिकार क्षेत्रका कुराहरु पनि थिए । त्यसपछि उनी अपराध महाशाखामै रहेका बेला मुलुकमा भारतको अघोषित नाकाबन्दी सुरु भयो । पेट्रोलियम पदार्थको हाहाकार मच्चिएपछि कालोबजारीमाथि पनि ठूलो प्रश्न उठ्न थाल्यो ।
यही मौकामा सर्वेन्द्रको टोलीले ठगी गर्ने पेट्रोल पम्पमाथि पनि अनुसन्धान थाल्यो । ‘जनताले दुःख पाइरहेका बेला सबैको ध्यान पेट्रोल पम्पमाथि जानु स्वभाविक हो,’ उनले भने, ‘अपराध महाशाखा र अहिलेको अवस्थाले पनि मलाई यो काम गर्न सहज भयो ।’
त्यसपछि रातारात बुटवलसम्मबाट मान्छेहरु ल्याएर अपराध महाशाखाको टोलीले ६ मंसिरमा ठगी गर्ने पेट्रोल पम्पमाथि छापा हान्यो । ‘जहाँ–जहाँ उनीहरुले यस्तो ठगी गर्ने मेसिन फिट गरेका थिएँ, हामीले तिनै ठाउँहरु पत्ता लगाएर पेट्रोल पम्प खोल्यौं,’ उनले भने ।
फरक–फरक समयमा गर्दा अरु भाग्ने भएकाले प्रहरीले त्यहीअनुसारको योजना डिजाइन गरेर एकैसाथ १६ वटा पेट्रोल पम्पमाथि रेड हानेको थियो । ठगी गर्ने पेट्रोल पम्पले चिप्स जोडेर रिमोट मार्फत १०० लिटरमा ३ देखि ४ लिटर ठग्ने गरेको भेटियो ।
५. कन्सल्टेन्सी र हुण्डीमा छापा
२ भदौंमा काठमाडौंमा शैक्षिक परामर्श दिने कन्सलटेन्सीका नाममा ‘मानव तस्करी’ गरेको आरोपमा प्रहरीले छापा मा¥यो । सर्वेन्द्र नेतृत्वको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले राजधानीका गैरकानुनी कन्सलटेन्सीहरुमा छापा हानेपछि धेरै ठगहरु कुलेलाम ठोके । सुरुमा उनको टोलीले २३ वटामा कन्सल्टेन्सी छापा हान्यो । त्यसपछि क्रममा अरुमा पनि छापा हानेपछि अवैध कन्सल्टेन्सी सञ्चालकहरुको भागभाग मच्चियो ।
यसरी पहिलोपल्ट कन्सल्टेन्सीमा छापा हानिएको थियो । छापा मार्नुअघि १ सय ३० कन्सल्टेन्सी मात्र दर्ता थिए, अहिले ११ सय कन्सल्टेन्सी दर्ता हुन पुगेका छन् । अवैध रुपमा सञ्चालन गरिएका झण्डैं २ सय भने सधैंका लागि बन्द भए । अरु सबै वैधानिक प्रक्रियामा आए । ‘यसले हरेकका केटाकेटीको भविष्य सुरक्षित गरिदियो,’ खनाल भन्छन्, ‘अन्योल हट्यो ।’
यसैगरी अपराध महाशाखाले १३ असोजमा हुण्डीमाथि गरेको कारवाही पनि उतिकै चर्चामा रह्यो । राज्यलाई कर तिर्ने डरले अवैध पैसाको चलखेल गर्नेहरुको जालो बनेको हुण्डीमा उनकै नेतृत्वमा रेड हानियो ।
‘ट्याक्स इभोएय गर्ने, राज्यलाई ठग्ने, अवैधानिक काम गर्ने अनि यिनलाई मान्नुपर्ने,’ उनी जंगिए, ‘एसी खोलेर ल्याउन पर्ने करोडौं र अर्बौको कारोबार हुण्डीमार्फत अवैधानिक तरिकाले राज्यलाई छलेर गर्ने । यिनलाई किन कारवाही नगर्ने ? यी गलत तत्व विरुद्ध प्रहरी भिड्छ ।’
को हुन सर्वेन्द्र ?
२०२३ सालमा तनहुँमा जन्मेका हुन्, सर्वेन्द्र । बुवा केदारनाथ खनाल सरकारी जागिरे भएकाले उनको शिक्षादीक्षा काठमाडौंमा अगाडि बढ्यो । उनको पुख्र्यौली घर काठमाडौं भएपनि पछि परिवार तनहुँ पुगेको थियो ।
‘बाल्यकालमा पढ्नमा रमाइलो लाग्थ्यो,’ उनी भन्छन्, ‘यसबाहेक फुटबल खेल्न पनि मन पराउँथे ।’ शान्ति विद्या निकेतनबाट उनले विं.सं. २०३८ मा एसएलसी उतीर्ण गरे । त्यतिबेलासम्म पनि उनले भविष्यको बारेमा कुनै योजना बनाएका थिएनन् । ‘यही बन्छु भन्ने थिएन्,’ उनी सम्झन्छन् ‘अस्कलबाट आइएस्सी गरेर शंकरदेव क्याम्पसबाट बीकम गरे । आईएस्सी गर्दा इन्जिनियरिङ गर्ने सोच थियो । तर, छात्रबृत्ति नपाएपछि बीकम पढें । बीकम पढेपछि पुलिसमा भर्ना खुल्यो । अनि फर्म भरे ।’
कसरी पुलिस जाने सोच बन्यो ? कलेज पढ्दा पनि उनी राम्रो कुरालाई समर्थन गर्थे नराम्रोलाई अस्वीकार । त्यही विचारले उनलाई पुलिसतर्फ आकर्षित गरेको थियो । ‘टोलहरुमा पनि पुलिसहरु फुर्तिफार्ती गर्थे,’ उनी पुलिसमा आउनुको कारण खोल्छन्, ‘त्यसैले साथीहरुसँगै पुलिसको इन्स्पेक्टरमा दरखास्त दिए ।’ पुलिसमा बदमासहरुलाई ठेगान लगाउने हो भन्ने जोश थियो उनमा ।
२०४६ सालमा पुलिसमा इन्स्पेक्टरका रुपमा प्रहरी सेवामा प्रवेश गरे । अरुलाईजस्तै उनलाई पनि तालिमका क्रममा धेरै गाह्रो भएको थियो । ‘मान्छे पनि भेट्न नपाउने, फोन गर्न नपाउने,’ उनले सुनाए, ‘तीन महिनापछि मात्र मान्छे । मेरो ब्याचका ३६ जना इन्स्पेक्टर भए ।’ रमेश खरेल, विक्रम थापा उनकै ब्याचका इन्स्पेक्टर हुन् ।
इन्स्पेक्टरको रुपमा प्रहरी प्रशिक्षण केन्द्रमै काम सुरु गरे । त्यहाँ प्रशिक्षण गरेपछि जो राम्रो हुन्छ, त्यसैलाई त्यहि राखिन्थ्यो । त्यसैले उनी त्यहि प्रशिक्षकको रुपमा रहे । आठ महिना प्रशिक्षणको भएर काम गरे । उनी प्रशिक्षण केन्द्रमै रहदा मिर्जा दिलासादबेग चुनाव लडेको ठाउँमा उनी केन्द्रबाट जाने एक्ला प्रहरी थिए । कपिलबस्तुमा भएको चुनावमा उनी निलो यूनिफर्ममा पुगेपछि त्यहाँ को आयो भनेर ठूलो हलचल नै मच्चियो । किनभने त्यतिबेला काठमाडौं बाहिरको प्रहरीको युनिफर्म खागी रंगको थियो ।
‘चुनवामा पुलिसहरुलाई तर्साउनले मिर्जाको तरिका थियो । उसले बुथहरु लुटपाट गर्न खोज्थ्यो । मै हुँ भन्ने मिर्जाको धाक थियो । स्टाइल नै अमृश पुरी थियो त्यस्को,’ प्रहरी अधिकृतको फिल्डको पहिलो ड्युटीबारे उनले सुनाए, ‘बुथको वरीपरी बस्न नपाइने भएपनि उ भित्र बस्थ्यो । मिर्जाको अगाडी कोहि पनि बोल्न सक्दैन थिए । तर, मैलै तानेर उसलाई बाहिर निकाले । त्यसपछि बबाल हुन्छ भन्ने शंका भयो । तर, मैले छोडिन । उसलाई जहाँ उठ्छस्, त्यहि ठीक गर्छु भने ।’
त्यसपछि उनले अलिकति लड्ने, डाकाहरुसँग भिडन्त गर्ने ठाउँ चाहियो भनेर अनुरोध गरे ।अनि बारामा पोष्टिङ भयो । ४८ सालतिर तराईमा डाँका ठूलो समस्या थियो । धेरै हदसम्म समाप्त पनि पारे । राजमार्गमा डकैती अनि तस्करी पनि धेरै व्याप्त थियो ।
तराईमा काम गर्दा उनी सधै निडर अधिकृतको रुपमा चिनिए । पुराना दिन सम्झदैं उनले भने, ‘ काम गर्ने क्रममा डर चै कहिल्यै लागेन । सामजसँग राम्रो सम्बन्ध राख्थे । तर बदमासीसँग त्यहि अनुसार मुकाबिला गर्थे ।’ पर्सामा पनि उनले आफ्नो कार्यक्षमता झन् निखार ल्याउने मौका पाए । पर्सामा रहँदा नगरदामा भएको घटना उनको दिमाखमा ताजै छ । नगरदामा घटनास्थलमै आठ जनालाई गोली हानेर मार्नेलाई उनले घटनास्थलमै ढालेका थिएँ ।
तराईमा डाँका खलास परेछि उनी २०४९ सालमा दरबारमार्गमा इन्चार्ज भएर सरुवा भए । अहिले र त्यतिबेलाको फरक प्रकृतिका गुण्डा हुन्थे । त्यतिबेला टोल–टोलको गुण्डा हुन्थे । खुकुरी बोकेर हिड्थे । कहि खुकुरी हान्यो भन्ने खबर आएमा ठूलो घटना भएको भन्ने हुन्थ्यो । अझ दबारमार्गमा गुण्डाहरु बढी नै हुन्थे । दरबारमार्गमा रहँदा उनले तत्कालिन युवराज दिपेन्द्र सामू नै गुण्डा समातेको घटना उनले बिर्सेका छैनन् । त्यतिबेला दरबारमार्गमा नाङ्लो बेकरी भर्खर खुलेको थियो । तत्कालिन युवराज दिपेन्द्र र उनका एडीसी दबारमार्गको नाङ्गो बेकरीमा पिजा लिन आएका थिए । त्यतिबेला सर्वेन्द्रले पाँच जनालाई खुकुरीसहित नियन्त्रणमा लिएको थिए । त्यो समूह त्यतिबेलाको पहुँचवाला थियो । तत्कालिन सहायक मन्त्रीका छोरा, पुलिसको एआईजीका भतिजा, राजपरिवारका नातेदार लगायतका थिए ।
‘मैलै पक्राउ गरेर राखेको अवस्थमा संयोगवश दिपेन्द्रले उनीहरुलाई देखे । उनीहरुले दिपेन्द्र सरकारलाई हामीलाई समात्यो भनेर बिन्ती गरे । दिपेन्द्रले मलाई के भयो भनेर सोधे,’ सर्वेन्द्र त्यो क्षण सम्झन्छन्, ‘ सरकार यिनीहरु खुकुरी हान्दै हिड्ने गुण्डाहरु हुन्, नियन्त्रण गर्ने क्रममा यी पनि पक्राउ परेका छन्, यिनीहरुलाई लगेर तह लगाउनु पर्नेछ, भने । त्यसपछि दिपेन्द्र केही बोलेनन् ।’
उनले इन्स्पेक्टरको रुपमा ९ वर्ष काम गरेपछि ५६ सालमा डीएसपी भए । डीएसपीको रुपमा स्याङ्जा, रामेछापको इन्चार्ज भएर काम गरे । माओवादीको र सरकारको वार्तामा सुरक्षाको प्रमुख जिम्मेवारी पनि लिए उनले । गोकर्ण रिसोर्टमा भएको वार्तामा कृष्णबहादुर महरा, दिनानाथ शर्मा र देश गुरुङलगायत नेताहरुलाई सुरक्षा व्यवस्था सर्वेन्द्रले नै मिलाएका थिए । डीएसपी रहेकै बेला देशमा जनयुद्ध थियो । जनयुद्धबारे खुल्न नचाहेका सर्वेन्द्रले भने, ‘ धेरै कठिन थियो । प्रमुख थ्रेट मै थिए । दोहोरो भिडन्त पनि भयो । सबै कुरा भन्न नचाहेको होइन्, अहिले त्यो घटनाहरु कोट्याउदा राम्रो हुन्छ जस्तो लाग्दैन ।’
जनआन्दोलन डायरी २०६२/०६३ को जनआन्दोलनको समयमा पनि काठमाडौं प्रहरी परिसरको प्रमुख थिए, उनी । ठूलो मास सडकमा उत्रन्थ्यो त्यतिबेला । उनले भने, ‘गिरिजाबाबुलाई समात्ने ठाउँमा मै थिए । ४/५ पटक प्रधानमन्त्री भएको ब्यक्तिलाई समात्न पनि गाह्रो । बाटोमा अवरोध आएपछि जसलाई पनि समाउनै पर्ने । रिस्टीकटेड जोनतिर जान लागेपछि हामीले रोकेर हामीले उहाँलाई पनि पक्रियौं ।’
सर्वेन्द्रसँग आन्दोलन भएको स्थानमा काम गर्न निकै गाह्रो हुने अनुभव छ । चिनेका नेतालाई पनि हटाउनुपर्ने, समात्नुपर्ने । उनले भने, ‘शेरबहादुर देउवालगायतका धेरैलाई पक्राउ पनि गरियो । जेल पनि हालियो । गर्नैपर्ने हुन्थ्यो ।’
आन्दोलन सकियो सकिएपछि उनी फेरि बारा गए । फेरि अपहरण र गुण्डागर्दी, मार्ने, लुट्ने एकदमै मौलाएको थियो । पहिला पनि इन्स्पेक्टर काम गरेकाले बारालाई राम्रोसँग चिनेकाले सर्वेन्द्रलाई अपराधीहरुलाई तह लगाउन सजिलो भयो । उनीहरुको सम्पर्क, अवस्था, पोलिटिक्कली सपोर्ट, बस्ने ठाउँ, नेक्सस सबैै कुरा उनलाई थाहा हुन्थ्यो । सर्वेन्द्रले सूचना जनताबाटै पाउने बताउँदै भने, ‘ जनतालाई विश्वासमा लिन सकियो भने सबै सूचनाहरु पाउन सहज हुन्छ । त्यसपछि अपराधीलाई ठेगान लगाउन एकदमै सहज हुन्छ । पुलिस हुँ भन्ने अपराधीसँग मिल्ने, तस्करसँग मिल्ने, घुस खाने, डराउने गर्न थाल्नुभयो भने जनताले विश्वास गर्दैन ।’
उनी प्रहरीमा रहँदैं हाइटीको पुलिसको कमाण्डर भए । १८ वटा देशहरुमध्ये नेपालको स्थिति विग्रेको थियो । तर, त्यहाँ ६ महिना रहँदा नेपाललाई फष्ट बनाएर फर्किए । उनी यहीबीच न्यूयोर्क गए । युएन मुख्यालयमा रहँदैं २०६८ मा उनको एसएसपीमा प्रमोशन भयो ।
सम्झने घटना: धनुषाको ‘इमर्जेन्सी टेकओभर’ धनुषामा एक जना सईले एक जोडीलाई राति राखेर केटा र केटी छुट्याएर केटीलाई बलात्कार ग¥यो भन्ने कुराबाट माहोल उत्तेजित बन्यो । तत्कालीन राज्यमन्त्री सञ्जय साहलगायतले भीडलाई प्रहरी विरुद्ध उत्तेजित गराए । भीडलाई प्रहरी देख्न नहुने र देख्ने वितिकै जाइलाग्ने अवस्था भयो । धनुषामा सिडियो र डिएपी भागेर प्रशासन नै नभएको अवस्था थियो ।
त्यसैदिन पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भएको थियो । सँगै रहेका गृहमन्त्री भीम रावलले सर्वेन्द्रलाई धनुषा जान आग्रह गरे । उनले सुनाए, ‘मन्त्रीज्यूलाई म सामान्य पार्छु भनेर विश्वस्त बनाए ।’
उनी ४ बजे धनुषामा इमर्जेन्सी ल्याण्ड गरे । सिडिओलाई म अपराधी हुँ भन्नुपर्ने त्यस्तो अवस्थामा उनी त्यहाँ पुगेका थिएँ । सबै पार्टीहरु प्रशासनविरुद्ध आन्दोलित थिए । ६/७ जना पत्रकारमाथि पनि आक्रमण भएको थियो । उनी ल्याण्ड गरेलगतै पेट्रोल बम हानियो । तर, त्यसलाई साम्य बनाए । सिडियो परिवर्तन भए । डिएसपी रुपकुमार न्यौपानेलाई कारबाही गरियो । इतिहासमै पहिलो पटक डिएसपीबाट घटुवा गरेर इन्स्पेक्टर बनाइयो । किनभने उनी अण्डरग्राउण्डसँग मिलेका थिए ।
१०९ सशस्त्र समूहको पत्तासाफ तराईमा त्यतिबेला १०९ वटा सशस्त्र समूहहरु थिए । त्यसलाई ४/५ समूहमा झारियो । ‘३/४ जनालाई त एउटा धार्मिक कार्यक्रमै ढालिदियौं । धेरैलाई पक्राउ गरे । ३१ वटा जति चोरीका गाडी नियन्त्रणमा लिइयो,’ सर्वेन्द्र भन्छन्, ‘अण्डरग्राउण्डका कसैले पनि पुलिसलाई नटेर्ने अवस्था थियो । मिलनचोकमा सशस्त्र समूहका राजनमुक्तिका भाईको सालिक १४ महिनासम्म रहेको थियो । १०/१२ मिटर तलसम्म खनेर फालिदिए ।’
राजनमुक्ति, जसको नेतृत्वमा दोस्रो संविधानसभा भाड्ने खेल भइरहेको थियो । उनलाई पटनाबाट समातेर ल्याइयो । अमिताभ भन्ने गोइतको मुख्य मान्छे पनि पक्राउ परे । त्यो माहोल सकिएपछि बल्ल समाज सही ट्रयाकमा आयो ।
‘त्यसपछि भाइचारा, सद्भाव राम्रो बनाइयो । नारायणीमा पनि त्यस्तै भयो । सुनिल जैसवाल ‘अग्नी’ भन्ने एउटा अपराधी उतै बस्ने÷उतै खाने यता अपराध गर्ने त्यसलाई खतम पारियो । त्यसपछि तराईमा सशस्त्र समूह उठन सकेको छैन, ’ उनले कुराको बिट मार्दै भने ।
- जनक तिमिल्सिना/सीताराम कोइराला/Nepalipatra.com