Breaking News

नाकाबन्दी खोल्ने नाममा मधेसी मोर्चा र भारतको माग पुरा गरे कडा आन्दोलन गर्ने चेतावनी

Feb Tue 2020 05:40:49

497 views

नाकाबन्दी खोल्ने नाममा मधेसी मोर्चा र भारतको माग पुरा गरे कडा आन्दोलन गर्ने चेतावनी

भारतले नेपालमाथि लगाएको नाकाबन्दी हटाउने नाममा राष्ट्र विरोधी माग पुरा भए कडा आन्दोलन गर्ने घोषणा गरिएको छ ।

नेपालमा पाँच विकास क्षेत्रको पाँच प्रदेशको संघीयता हुनुपर्ने माग राख्दै अखण्ड नेपाल पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै नाकाबन्दी खोल्ने बहानामा राष्ट्रियतामा आँच आउनेगरी मधेसी मोर्चा र भारतको माग पुरा गरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएको हो ।

उसले भारतीय नाकाबन्दी मानवताबिरुद्धको अपराध भएको बताएको छ । ‘ छिमेकी मुलुक भारतले मनपरी ढंगले नाकाबन्दी गरेकोमा हामी त्यसको घोर निन्दा र बिरोध गर्दछौँ । औषधि, इन्धनलगायतका अत्यावश्यक सामग्रीहरु नेपाल प्रवेश गर्न लगाएको बन्देज मानवता बिरुद्धको कार्य हो’ विज्ञप्तीमा भनिएको छ ।

पार्टीले मधेसवादी दललाई सच्चिन आग्रह समेत गरेको छ । ‘आम नेपालीको भावनालाई लत्याउँदै जबर्जस्ती संघीयताका नाममा राष्ट्रिय अखण्डता खल्बलाउने अभिव्यक्ति दिने, आम जनतालाई भड्काउने र देशमा अस्थिर अवस्था सिर्जना गर्ने क्षेत्रीय राजनीति गर्ने राजनैतिक दलहरुलाई पनि हामी सच्चिन आग्रह गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।

उसले छिमेकी मुलुक चीनसँग व्यापारिक सम्बन्ध बढाउने कदमको स्वागत गरेको छ । ‘अहिलेको नाकाबन्दी खोल्नका लागि भारतसँग कुनै पनि किसिमको गोप्य सम्झौता नगरोस् भन्नेतर्फ हामी सरकारलाई खबरदारी गर्दछौँ । अन्यथा कडा आन्दोलन गर्न बाध्य हुनेछौं’ विज्ञप्तिमा भनिएको छ ।

७ प्रदेशको रुपमा संविधानमा उल्लेख भएको संघीयताको सिमाङ्कनलाई चलाएर कसैको लहड र स्वार्थ पूर्तिका लागि यो जिल्ला वा त्यो जिल्ला समेट्नुपर्ने भन्ने खालका मागहरु कुनै पनि हालतमा सम्बोधन गर्न नहुने अखण्ड पार्टीले जनाएको छ । ‘हाम्रो भद्र र शालिन आग्रहलाई बेवास्ता नगरियोस् भन्दै नेपाल सरकारसँग संविधान संशोधनका नाममा जबर्जस्तीका मुद्दालाई स्वीकार नगर्न पनि आग्रह गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्तिः

अखण्ड नेपाल पार्टी

केन्द्रीय कार्यालय, काठमाडौँ

प्रेस विज्ञप्ति

भारतीय नाकाबन्दी मानवता बिरुद्धको अपराध हो ।

छिमेकी मुलुक भारतले मनपरी ढंगले नाकाबन्दी गरेकोमा हामी त्यसको घोर निन्दा र बिरोध गर्दछौँ । औषधि, इन्धनलगायतका अत्यावश्यक सामग्रीहरु नेपाल प्रवेश गर्न लगाएको बन्देज मानवता बिरुद्धको कार्य हो ।

अनि देशमा रहेका सम्पूर्ण उद्योगधन्दा, कलकारखाना समाप्त पार्ने, देशको आर्थिक गतिबिधिलाई पूर्णरुपमा भारत निर्भर बनाउने र आफू र आफ्नो पार्टीका लागि फाइदा लिने सोच भएका बिगत सरकारका कदम र पार्टीहरुको त जति निन्दा गरेपनि कम नै हुन्छ । आम नागरिकले राष्ट्रको अस्मितालाई बन्धक राखेर राष्ट्रघाती सन्धि र सम्झौता गर्ने राजनैतिक दलहरुको लेखाजोखा राखेका छन् ।

अर्कोतर्फ, आम नेपालीको भावनालाई लत्याउँदै जबर्जस्ती संघीयताका नाममा राष्ट्रिय अखण्डता खल्बलाउने अभिव्यक्ति दिने, आम जनतालाई भड्काउने र देशमा अस्थिर अवस्था सिर्जना गर्ने क्षेत्रीय राजनीति गर्ने राजनैतिक दलहरुलाई पनि हामी सच्चिन आग्रह गर्दछौँ । भोलिको पुस्ताले घृणा नै गर्नुपर्ने गरी व्यवहार नगरी देशमा रहेको सामाजिक सद्भावको रक्षाका लागि संवेदनशील हुन पनि आग्रह गर्दछौँ । सत्य र असत्य छुट्याउन सक्ने नेपाली पुस्ताको उदय भइसकेको परिप्रेक्ष्यमा अझै पनि झुटको राजनीति गर्ने सोच राख्नु अत्यन्त दयनीय छ ।

अर्को छिमेकी मुलुक चीनसँग व्यापारिक सम्बन्ध बढाउने कदमको हामी स्वागत गर्दछौँ । अहिलेको नाकाबन्दी खोल्नका लागि भारतसँग कुनै पनि किसिमको गोप्य सम्झौता नगरोस् भन्नेतर्फ हामी सरकारलाई खबरदारी गर्दछौँ ।

तराईमा, पहाडमा वा हिमालमा कति प्रदेश हुने, संघीयताको स्वरुप कस्तो हुने भन्ने विषयमा आम नेपालीको भावना भन्दा बाहिर गएर सरकारले कुनै पनि किसिमको सम्झौता नगरोस् भन्ने माग गर्दछौँ । अखण्ड नेपाल पार्टीले अहिलेकै ५ बिकास क्षेत्रलाई ५ प्रदेशको रुपमा रुपान्तरण गरौँ भनेर पटकपटक माग राख्दै आएको हो । राष्ट्रिय अखण्डता र सामाजिक सद्भावको रक्षाका लागि यो एक उचित मार्ग हुन सक्दछ । ७ प्रदेशको रुपमा संविधानमा उल्लेख भएको संघीयताको सिमाङ्कनलाई चलाएर कसैको लहड र स्वार्थ पूर्तिका लागि यो जिल्ला वा त्यो जिल्ला समेट्नु पर्ने भन्ने खालका मागहरु कुनै पनि हालतमा सम्बोधन गरिनु हुँदैन ।

हामी पुनः दोहोर्याउँदछौँ – संघीयता बिकास र बिकेन्द्रीकरणका लागि हो । यसलाई राजनैतिक अधिकारका रुपमा परिभाषित गरिनु हुँदैन । यदि त्यसो गरिन्छ भने हामी राष्ट्रिय अखण्डताको रक्षाका लागि ५ विकास क्षेत्र बाहेक गएर निर्धारण गरिने कुनै पनि प्रकारको संघीयताको स्वरुपलाई स्वीकार गर्दैनौँ । हाम्रो भद्र र शालिन आग्रहलाई बेवास्ता नगरियोस् भन्दै नेपाल सरकारसँग संविधान संशोधनका नाममा जबर्जस्तीका मुद्दालाई स्वीकार नगर्न पनि आग्रह गर्दछौँ ।

यस विषम परिस्थितिमा हामी सम्पूर्ण नेपाली दाजुभाईदिदीवैनीमा धैर्यधारण गर्न र राष्ट्रले भोग्नु परेको यो संकटको सामना सबै मिलेर गरौँ भन्ने आग्रह पनि गर्दछु ।

जय अखण्ड नेपाल !
डा. प्रदीप ढकाल
सचिव/प्रवक्ता
अखण्ड नेपाल पार्टी
२०७२ कार्तिक २३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?