ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ जुलाई २७ र २८ मा काठमाडौंमा हुदै
Feb Tue 2020 05:40:35
644 views
ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ यही जुलाई २७ र २८ अर्थात श्रावण ११ र १२ गते काठमाडौंमा हुने भएको छ । बिल्डिंग ग्लोबल एलाइन्स फर साइबर रिजिलेन्स भन्ने नाराका साथ इन्फर्मेशन सेक्यूरिटी रेस्पोन्ट टिम नेपाल (एनपीसर्ट) ले यो समिट गर्न लागेको हो ।
समिटमा सूचना प्रविधि व्यवसायीक व्यक्तिहरु, सुरक्षा विज्ञहरु, सरकारी क्षेत्रका सूचना प्रविधि निकायका प्रमुख तथा अधिकृतहरु र विश्वबिद्यालयका आइटी बिद्यार्थीहरुको साथमा सूचना प्रविधि कर्मीहरु गरी २०० भन्दा बढीको सहभागीता रहने एनपी सर्टले जनाएको छ । यो समिटको पूर्वसंध्यामा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट)ले एक दिने प्रि–समिट कार्यशाला आयोजना हुनेछ, जसलाई लावा, चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजिज् र इसी काउन्सिलले सहजीकरण गर्नेछन् ।
यो समिटको उद्धेश्य भनेको साइबर सेक्यूरिटीको क्षेत्रमाभएका फरक फरक ज्ञान र सिपका साथै विभिन्नअनुभवहरु एक आपसमा साट्नु हो । समिटले नयाँ पुस्तालाई ससक्त बनाउनेछ र विश्वभरबाट आउने विभिन्न सरोकारबालानिकायहरुलाई एकै थलोमा समेट्नेछ । यसले वर्तमान साइबर सेक्यूरिटी ट्रेण्डको अध्ययन र छलफलबाट साइबर सेक्यूरिटी थ्रेटहरुलाई रोक्न ससक्त आधार तयार पार्नेछ । यो समिट मानिसहरुलाई सूचना सूरक्षाको बारेमा जागरुक गर्नुका साथै नेपालमा ससक्त सुरक्षा दस्ता निर्माण गर्न मद्धत गर्दछ ।
यो समिटमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट विभिन्न कार्य प्रस्तुती, प्यानल डिस्कसन, र किनोट लेक्चर दिईनेछ । ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ लाई लगप्वाइन्ट, सिस्को र चेकप्वाइन्ट सफ्टवेयर टेक्नोलोजीजले प्रायोजन गरेका छन् । यो समिटलाई संचार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, नेपाल बैंकर संघ, कम्यूटर एसोसिएसन अफ नेपाल, इन्टरनेट सोसाईटी नेपाल च्याप्टर र अन्य विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् ।
समिटले सहभागीहरु बीच साइबर सुरक्षा सम्बन्धि विषयहरुमा छलफल र अनुभव आदानप्रदान गर्नेछ र सो क्षेत्रका व्यवसायीक र उद्योगीहरुका बिचमा सम्बन्ध बिस्तारको अवसर समेत मिल्ने विश्वास एनपी सर्टले लिएको छ ।
एनपीसर्ट इन्फर्मेशन सेक्यूरिटी विज्ञहरुको एउटा फोरम हो जसले राष्ट्रिय सूचनाको तत्काल आवश्यकता अनुसार सूरक्षा प्रदान गर्दछ । इन्फर्मेशन इन्फ्रास्ट्रक्चरमा हुने आक्रमणहरु दिनप्रतिदिन बढिरहेका छन्, यसलाई सम्बोधन गर्न गैर नाफामूलक संस्था एनपीसर्टको स्थापना गरिएको हो ।
ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ को पूर्ण जानकारी http://npcert.org लिंकबाट पाउन सकिने व्यवस्था मिलाइएको छ ।